भर्खरै :

स्वास्थ्य र स्वाद

‘ठूलाबडाको ठूलै नाम’ भनेझैँ होटेलमा पकाएको बासी भातलाई १० चोटि तताइसकेको तेलमा भुटेर दिँदा पनि हामी ‘फ्राइड राइस’ भन्दै मज्जाले पैसा तिरेर खान्छौँ । जबकि, घरमा साँझ पकाएर राखेको भात बिहान खाँदा जुठो हुन्छ भनेर कुकुरलाई दिने गरिन्छ ।
रहरलाग्दा र मीठोमसिनो खानेकुरा देख्दा हाम्रो जिब्रो रसाउँछ । यही जिब्रो हो, हामीलाई धोका दिने । जब जिब्रोका लागि खानेकुरा खोज्न थाल्छौँ, स्वास्थ्यलाई पूरै उपेक्षा गर्छौं । परिणाम, त्यसले स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । जीर्ण र रोगी बनाउँछ । सानो जिब्रोको स्वादले भविष्यमा कति समस्या निम्त्याउँछ भन्ने हामी त्यति हेक्का राख्दैनौँ । होटेलका चम्किला प्लेटमा सजाइएका अस्वस्थकर खानेकुराले स्वास्थ्यमा के के हानि पु¥याउँछ भन्ने हामी वास्ता राख्दैनौँ ।
हाम्रो भोजनप्रतिको अज्ञानता, भएका खानेकुराको सदुपयोग गर्ने कला अभाव र प्याकेटका खानेकुरामात्र ‘उत्तम हुने’ मानसिकताले नै हामीलाई अस्वस्थ बनाउँदै लगेको छ । अस्वस्थकर खानपानकै कारण हामीलाई रोग लाग्छ भन्नेसमेत विचार नगर्दा हाम्रो लाखौँ रूपैयाँ स्वास्थ्योपचारमै खर्च हुने गर्छ ।
अछाम, मुगुजस्ता जिल्ला पुग्दा स्थानीयरूपमा पाइने खानेकुरा भेटिएन । अछाममा कोदोको रोटी बनाउन होटेलकी साहुनीलाई अर्डर दिँदा उनले एक पटक माथिदेखि तलसम्म हेरिन् ।
‘काठमाडौँबाट आएका मान्छेले पनि कोदो खान्छन् र ?’ उनले आश्चर्य प्रकट गरिन् ।
‘जौ नै पाइने ठाउँमा जौको पिठोको रोटी बनाइदेउ न,’ मैले भनेँ ।
फापरमा पाइने ‘रूटिन’ नामक तत्वले शरीरमा भिटामीन ‘सी’को कामलाई बढाउन मद्दत गर्छ । अर्थात्, शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ र बुढ्यौलीको प्रक्रियालाई कम गराउँछ ।
‘जौ त खाली पूजा गर्दा, व्रत बस्दामात्र खाने चलन छ,’ उनले भनिन् ।
कोदो, फापर, जौ, मकै आदि स्वस्थबर्धक अन्न हुन् भनेर मैले आफ्ना छरछिमेकलाई भनेँ । सायद कमैले वास्ता गरे होलान् ।
“अब कहीँ नपाएर हाम्रो खेतमा फल्ने मकै, कोदो, फापर पनि त्यस्तो गुणले भरिएका होलान् र ?” कसैकसैको प्रतिक्रिया हुन्थ्यो । जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ ।
जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फरजस्ता सुक्ष्म पोषण तत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।
जौले शरीरको आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, जौको अघुलनशील रेशादार पदार्थले शरीरमा दबम कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ ।
जौ म्याग्नेसियम पाइने उत्तम स्रोत हो । म्याग्नेसियमले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ ,मधुमेहका बिरामीलाई पनि सहायता पु¥याउँछ, सूक्ष्म पोषण भएको कारणले जौ एउटा उत्तमभोजन हो ।
फापर नेपालका विभिन्न ठाउँमा उमार्ने गरिन्छ र यसको खेती गर्न धेरै मेहनत पनि पर्दैन । तर, फापर उब्जिने ठाउँमा पनि यसको कम प्रयोग हुन थालेको छ ।
फापरले शरीरमा रहेको बोसो र उच्च रक्तचाप घटाउन मद्दत गर्छ । चीनमा आठ हजार ५५ जनालाई एक दिनमा एक सय ग्राम फापर दिएर केही समयपछि उनीहरूको रगत जाँच गर्दा यो तथ्य पत्ता लागेको थियो ।
गाउँघरतिर फापर सहजै उपलब्ध हुने भएकोले मानिसहरू महँगो चामल किनेर सस्तो फापर गाईवस्तुलाई खुवाउने गर्छन् । गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्चस्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरू पाइने फापरलाई हेपेर हामीले पोषणसम्बन्धी समस्याहरू आफै निम्त्याइरहेका छौँ ।
यसरी घरमा रहेका, परापूर्वकालदेखि चलिआएका सस्ता खानेकुरा छाडेर महँगो खाना किन्दा बजेटमा पनि नराम्रो असर पार्छ । कुपोषणबाट उत्पन्न समस्या समाधान गर्न पैसा खर्च गर्नुपर्ने त छँदै छ, मानसिक तनाव पनि झेल्नुपर्ने हुन्छ । हामी स्वादको कुरा गर्छौं । तर, स्वाद केका लागि ?
स्रोतः लेखकको फेसबुक पेज

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *