भर्खरै :

आधुनिक कृषि सहकारीको १२ औँ साधारणसभा

भक्तपुर, २० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ बाराहीस्थानमा अवस्थित आधुनिक कृषि सहकारी संस्था लि. को १२ औँ साधारणसभाको उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले कृषि अनुदानका कार्यक्रमहरूमा पारदर्शिता र जवाफदेहिता हुनुपर्ने बताउनुभयो ।
कृषि क्षेत्रको विकासले देशको समृद्धिमा टेवा पु¥याउने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले किसानहरूको उत्पादन संरक्षण गर्न चिस्यान केन्द्र सञ्चालन गर्न आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो ।
नेपालमा रसायनिक मल कारखाना स्थापना र सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले किसानहरूले सिँचाइको उपलब्धतासमेत प्राप्त गर्न नसक्दा ठूलो क्षति व्यहोरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले कृषकहरूलाई कृषि चुन, उन्नत जातको बीउ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको उहाँले अवगत गराउनुभयो ।
कार्यक्रमका सभापति एवम् सङ्घका अध्यक्ष दयाराम मचामसीले नेपालमा कृषि उपजको आयातको परिणाम डरलाग्दो स्थितिमा रहेको बताउँदै आधुनिक कृषि सहकारी सङ्घले कृषकहरूलाई चाहिने मल, बीउ बिजन तथा तालिम दिँदै किसानहरूको उत्पादनहरूलाई बजारीकरणमा जोड दिँदै आएको बताउनुभयो ।
जिल्ला कृषि सहकारी सङ्घका कुलबहादुर न्हेम्हाफुकी भक्तपुरमा कृषि म्युजियमको खाँचो रहेको बताउँदै तरकारी बजार स्थापनाले किसानहरूको उत्पादन संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क सूर्यविनायकका शाखा प्रमुख दिनेश गेलाल, सङ्घका सञ्चालक हरिराम त्वानाबासु र उपाध्यक्ष सनिस लागेजुले कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा गर्नुपर्ने कार्यहरूबारे आआफ्नो धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सङ्घमा उत्कृष्ट र पाँच वर्ष कार्यरत कर्मचारीहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमपश्चात् नगर प्रमुख प्रजापतिले आधुनिक कृषि सहकारीले सञ्चालन गरेको कृषिउपज तरकारी बजारको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *