भर्खरै :

जनताको सेवा गर्ने उद्देश्यले नै पत्रपत्रिका चलाइनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २३ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) व्यावसायिक पत्रकारिताको नाममा नाफा खाने उद्देश्यले पत्रिका सञ्चालन हुनु गलत भएको विचार राख्नुभएको छ ।
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रोहितले दुइटै पत्रिकाले नाफा कमाउने उद्देश्य नराखी प्रगतिशील विचारका प्रचार जिम्मेवारी पूरा गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रिकामार्फत जति सकिन्छ बढी जनताको सेवा गर्ने उद्देश्य राख्नु आवश्यक छ ।”
अध्यक्ष रोहितले ‘श्रमिक’ र ‘मजदुर’ जस्ता पत्रिका पढेर कम्युनिस्ट हुने धेरै भएको अनुभव राख्दै पत्रिका वर्गीकरणमा शासक पार्टीहरूले राजनीतिक भेदभाव राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमिक र मजदुरमा लेखिएको बुझ्नेले यति राम्रो पत्रिका छैन भन्छन् ।”
अध्यक्ष रोहितले जनताको राजनीतिक चेतनास्तर वृद्धिमा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाले गरेको योगदान खेर नजाने भन्दै पत्रिका प्रकाशित भएपछि अन्तरक्रिया गर्ने हो भने यसको उद्देश्य पूरा हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अन्तरक्रिया गरिएन भने पत्रिकालाई सस्तो कागजको रूपमा लिइनेछ ।”
‘श्रमिक’ र ‘मजदुर’ को भाषा तथा शुद्धाशुद्धीमा अझै सुधार हुनुपर्ने सुझाव राख्दै उहाँले वितरकहरूलाई संवाददातामा विकास गर्न सकिने विचार राख्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले सानो आकारको श्यामश्वेतमा प्रकाशित ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकले देश र जनताको लागि ठूलो सेवा गरिरहेको बताउनुभयो ।
एमसीसीबारे विस्तृतरूपमा जानकारी दिने काम ‘श्रमिक’ र ‘मजदुर’ले गरिरहेको स्पष्ट पार्दै उहाँले एमसीसी राष्ट्रघाती सम्झौता भएको र एमसीसीमार्फत साम्राज्यवादीहरू नेपाललाई युद्धभूमि बनाउन चाहन्छन् भन्नुभयो ।
पार्टीको सिद्धान्त र विचारलाई
जनतासामु पु¥याउने काम ‘श्रमिक’ र ‘मजदुर’ले गरिरहेका छन्, सचिव सुवालले भन्नुभयो ।
‘श्रमिक’ साप्ताहिकका प्रकाशक सरोजराज गोसाईंले प्रकाशन मण्डल र प्रेसमा काम गर्ने कर्मीहरूको अथक परिश्रमले ‘मजदुर’ २३ वर्ष र ‘श्रमिक’ २८ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको छ भन्नुभयो ।
‘मजदुर’ दैनिकका प्रकाशक एवम् कार्यकारी सम्पादक उद्धव सुजखुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, प्रकाश थुसालगायतले पत्रिकाका विविध पक्षबारे बोल्नुभएको थियो ।
‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *