भर्खरै :

मोदी फासीवादको अर्को कुरूप प्रदर्शन

भारतका किसानहरूले त्यहाँको केन्द्र सरकारले ल्याएका कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत १० महिनादेखि आन्दोलन गरिराखेका छन् । किसान नेताहरूले अनेक बहस र छलफलहरूमा ती कानुनहरू किसानविरोधी छन् भनी प्रमाणित पनि गरिरहेका छन् । तर, नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले किसानहरूको मागको सुनुवाइ गरिरहेको छैन । ठूला व्यापारी घरानालाई पोस्ने र भारतको कृषि क्षेत्र व्यापारी घरानाको पोल्टामा जाने ती कानुन फिर्ता लिन वा संशोधन गर्न एकातिर भाजपा सरकार तयार भएको छैन भने ती कानुनविरुद्धको शान्तिपूर्ण आन्दोलन त्यतिकै किसानहरूले स्वीकारेका छैनन् । त्यसैले भारतका विभिन्न राज्यबाट दिल्ली प्रवेश गर्ने पाँचवटा नाकाहरूमा किसानहरूको १० महिनादेखिको अटुट धर्ना कायमै छ भने भारतका विभिन्न राज्य वा प्रदेशहरूमा किसानहरूको सत्याग्रह र विरोध प्रदर्शन चालु नै छ ।
यस्तैमा अक्टोबर ३ को दिन उत्तर प्रदेश राज्यको मध्यउत्तर क्षेत्रका विभिन्न जिल्लामा त्यस क्षेत्रबाट लोकसभा सांसद तथा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्राको भ्रमणको कार्यक्रम रहेछ । किसानको माग सम्बोधन नगरेको भन्दै त्यस क्षेत्रका किसानहरूले कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम बनाएछन् । लखिमपुर खीरी जिल्लाको तिकोनिया क्षेत्रमा केन्द्रीय गृहराज्यमन्त्री मिश्रा जाने कार्यक्रम भने थिएन तर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको यात्रा हुने तय भएको थियो । त्यहाँका किसानहरूले हातहातमा कालो झन्डा बोकेर एउटा ग्रामीण सडकमा प्रदर्शन गरिरहेका थिए । त्यस्तैमा एक एसयूभी जीप तीव्रगतिमा हुँइकिएर आउँछ र त्यसले चारजना किसानहरूलाई किचेर अगाडि बढ्छ । त्यस जीपको पछाडि पछाडि ३–४ वटा कारहरूको एउटा लस्कर नै थियो । मृत्यु हुनेमा तीनजना आन्दोलनकारी किसान र एक टेलिभिजन पत्रकार रमन कश्यप पनि थिए । उक्त जीप र कारमध्ये एक केन्द्रीय गृहराज्यमन्त्री मिश्राका थिए र त्यसलाई मिश्राका छोरा आशीष मिश्राले चलाइरहेको आरोप किसानहरूको छ ।
त्यसरी किसानहरूमाथि हमला हुनुभन्दा एक दुई दिनअगाडि मन्त्री मिश्राले आन्दोलन रोक्न अन्यथा परिणाम भोग्न किसानहरूलाई सार्वजनिक मञ्चबाटै धम्की दिएका थिए । नभन्दै किसानहरूको अत्यन्त शान्तिपूर्ण प्रदर्शनमाथि जीप कुदाएर किसानहरूको हत्या गरियो । त्यतिमात्र नभएर भाजपा समर्थित कथित गोदी मिडियाहरूले किसानहरूले उपमुख्यमन्त्री मौर्यका सहयोगीहरू सवार रहेका कारहरूमाथि हमला गरेको र तीनजना भाजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको भ्रामक समाचार जोडतोडले प्रचार गरे । पछि उक्त घटनाको मोबाइलले खिचेको २८ सेकेन्डको एउटा भिजुअल सार्वजनिक भयो र गोदी मिडियाको प्रचार झूट भएको उदाङ्गो भयो । प्रत्यक्षदर्शी सयौँ किसानहरूका अनुसार त्यसरी किसानहरूमाथि हमला भएपछि अगाडि बढ्न नसकेपछि जीप र कारमा आएका हमलाकारीहरू गाडी छोडेर खेतैखेत भागेका थिए र तिनीहरूमध्ये तीनजनालाई किसानहरूले पक्रेर पुलिसको जिम्मा लगाएका थिए । राज्यमन्त्री मिश्राका छोरा र अन्य कसुरदारहरूको विरोधमा भारतीय दण्ड संहिताको धारा ३०२ (हत्या) सम्बन्धी जाहेरी दर्ता त भइसकेको छ तर ४–५ दिनसम्म कसैलाई गिरफ्तार गरिएन । अहिले मन्त्रीका छोरा गाडीमा हुँदै नभएको भनेर बचाउने कोसिस सरकारको तर्फबाट भइरहेको छ । गृहराज्यमन्त्री जस्तो जिम्मेवार पदमा रहेका मिश्राको अभिव्यक्ति पदीय जिम्मेवारीविरुद्ध रहेको र उनकै गाडी प्रयोग गरी उनका छोराले किसानहरूको हत्या गरेकोले मन्त्री मिश्राको राजीनामा वा बर्खास्तीको माग भारतका विपक्षी दलहरूलगायत संवेदनशील समुदायले गरिरहेका छन् तर प्रधानमन्त्री मोदीले त्यसलाई पनि टेरपुच्छर लगाएका छैनन् । भाजपा नेता–कार्यकर्ताहरूले भारतभर नै गैरन्यायिक हत्याकाण्डहरू मच्चाइरहेका छन् । फरक विचार राख्ने, फरक धर्म र संस्कार अपनाउनेहरूमाथि बर्बरता थोपरिरहेका छन् । मोदी सरकार र भाजपा नेता कार्यकर्ताहरूको अभिव्यक्ति र कर्तुतले भारत पाइला पाइला गरी फासीवादतिर अघि बढिरहेको देखाउँछ । लखिमपुर खीरी हत्याकाण्ड भारतमा मोदी फासीवादको अर्को कुरूप प्रदर्शन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *