भर्खरै :

सलेरीको यात्रा

भदौ महिनाको मसान्तको दिन बिहानको लालीसँगै जगाती नाका हुँदै सलेरीको (सोलुखुम्बु जिल्ला) यात्रा आठ जना दाँैतरीहरूको बाइकबाट सुरू हुन्छ । बाइकको रफ्तारले बिहानको चिसो हावा छिचोल्दै हामी एक घण्टामै ५० किमि टाढा भकुण्डे बँेसी पुग्यौँ ।
रोशी खोलाको स्वागत स्वीकार्दै केही समयपछि नेपालथोकमा पुग्यौँ । नेपालथोकमा एकक्षण विश्राम गरी बिहान ९ बजे खुर्काेट पुग्यौँ र चिया नास्ता ग¥यौँ ।
जापान सरकारको सहयोगमा बनेको बाटोमा खाल्डाखुल्डी र पहिरो दखिँदैन । जब सिन्धुली–बर्दिवासको बाटो छिचोलिएर घुर्मीतिर पुग्यौँ तब सुरू भयो पहिरोको काउन्ट डाउन । पचासौँ ठाउँमा डोजरले जसोतसो माटो ढुङ्गा छेउतिर पन्छाइराखिएको थियो । पहिरो झर्ला झर्लाजस्तो छ, पहिरो देख्दा आङ नै सिरिङ्ग हुने । सुनकोसी नदी र अग्ला भिर तथा पहाडसँगै खाल्डाखुल्डी र माटोको ढिस्को र ढुङ्गा सावधानीपूर्वक छलेर गयौँ । खाल्डाखुल्डी अपडाउन गर्दै जाँदा आफ्नो अगाडि राखेको ज्याकेट चालै नपाइकन बाइकको चक्कामा बेरिएछ । समयमै चाल पाएर दुर्घटना हुनबाट बचियो । बेरिएको जाकेट निकाल्न हम्मेहम्मे भयो । स्थानीय तामाङ युवकको सहायताले खुकुरीले काटेर निकालियो । धन्न बच्यौँ ! बाइक स्पिडमा भएको भए ठूलै दुर्घटना हुनसक्थ्यो ।
तत्पश्चात् बिहान ११ बजे घुर्मीमा पुग्यौँ । घुर्मीको बसपार्कमा खाना खाइबरी गर्दा एक घण्टा जति समय बित्यो । करीब १२ः१० तिर हामी हुइकियौँ । घुर्मीबाट सुनकोसी नदीको बेलिबिज्र क्रस गरेर हामी ओखलढुङ्गा पुग्यौँ । केही समय फोटो खिच्न खर्चियो । त्यहाँबाट हलेसी जाने बाटोलाई छोडेर ओखलढुङ्गा बजार पुग्दा दिउँसो २ बज्यो । पहाडको उकालो चढ्दै जाँदा लखरतरान भएको हामी ओखलढुङ्गा बजारमा विश्राम ग¥यौँ । बाटो भुलेर झन्डै रूम्जाटार एयरपोर्टतिर लागेको ¤ बाटो फरक भएको आभास भएपछि सोधपुछ गरी फक्यौैँ । प्रकृतिको धनी नेपालको उकाली, ओराली र देउराली गरी बढ्यौँ । छिनछिनको मौसम परिवर्तनले मन आनन्दित हुन्छ । सलेरी बजारको हरियाली वन, रङ्गीचङ्गी जस्तापाताका घरहरू, घना–जङ्गलले मन मस्तिष्क आन्नदित भए पनि त्यहाँका दाजुभाइहरूको जीवनशैली सहज थिएन । भूगोलले नेपाललाई वरदान दिएकै हो तर, माल पाएर के चाल पाए पो भन्थे हाम्रा अग्रजहरू । सरकार जुन जोगी आए पनि कानै चिरेको अवस्थाको छ ।
भक्तपुरबाट २६० किमि यात्रापछि कालो बादल मडारिएको मौसमबीच ४ः३० बजेतिर सलेरी पुग्यौँ । सलेरी बजारमा चिया लिँदै आराम ग¥यौँ । सलेरीको जोरबौद्धमा दृश्यहरू नियाल्दै साथीहरूले फोटो खिचेका थिए । हाम्रो गन्तव्यस्थल सलेरी नै थियो । तापनि, करिब १ किलोमिटर माथि फाप्लु स्थान एयरपोर्टको प्राङ्गणसम्म गयौँ । बासको लागि एयरपोर्ट नजिकैको श्रेष्ठ होटल एन्ड लजमा पुग्यौँ । कहिले सिमसिम र कहिले झरीको कारणले वातावरण चिसो थियो । बेलुका ९ बजेको खाना खाइवरी दिनभरिको यात्राको थकान बिर्सने प्रयास ग¥यौँ ।
असोज १ गते बिहानको ५ बजे उत्तरतिरका हिमश्रृङ्खलाहरू मकालु महालङ्गुर, कञ्चनजङ्घा पिक र सगरमाथाजस्ता संसारकै अग्ला हिमालहरूको दृश्य हेर्ने रहर लाग्यो । बादलको घुम्टोले दृश्य हेर्ने इच्छा अधुरो रह्यो । त्यसबीच फाप्लु हुँदै नाम्चे जानेबारे छलफल भयो । तीन दिन हिँडेर जानुपर्ने र आफ्नो कार्य व्यस्तताले गर्दा उक्त कार्यक्रम स्थगित भयोे । फर्कने क्रममा पुनः सलेरी बजारमा हामीले केही समय खर्च ग¥यौँ । सलेरीबाट फर्केर ओखलढुङ्गामा बिहान ९ बजे पुग्ने हाम्रो योजना थियो । तर, त्यसको बीचमा सोलुखुम्बु जलविद्युत् परियोजनाको बाटोमा हिलो र पहिरोमा फस्न पुग्यौँ । एउटा बाइक लिक उत्रन नसक्दा लडेर एक जना साथी घाइते भए । हामीले प्राथमिक उपचार ग¥यौँ । योजनाअनुसार बिहान ९ बजेतिर ओखलढुङ्गा पुग्यौँ ।
बिहानको चियानास्ता ओखलढुङ्गाको नयाँ बजारमा भयो । तत्पश्चात् पुरानो ओखलढुङ्गा बजार पुगेर कवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान घुम्यौँ । युगकविको ‘मेरो प्यारो ओखलढुङ्गाको’ रचना याद ग¥याँै । जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ भनेझँै उहाँले वर्णन गरेका कुराहरूको याद भयो । उहाँको प्रतिमासँगै फोटो खिच्दा खुसी भयौँ । ओखलढुङ्गाबाट ४० किमि टाढा घुर्मीमा मध्यान्ह १२ः०० बजेतिर पुग्यौँ । अघिल्लो दिनकै ठाउँमा खाना खायौँ । दिउँसो १ बजे हामी त्यहाबाट अगाडि बढ्यौैँ । मोटर बाइकको गति र खाल्डाखुल्डीको उफ्राइसँगै पौठेजोडी खेल्दै दिउँसो ३ः५० मा पहाडी घेरा तोडेर तराईको प्रवेशबिन्दु कटारीमा पुग्यौँ । त्यहाँबाट साढे १ घण्टाको यात्रापछि गाईघाट पुगेर चिसो अनुभव ग¥यौँ । गाईघाटबाट ६ः५० मा रामनगरमा पुग्यौँ । सात बजे सप्तरीको चटरामा बास बस्यौँ । दिनभरिको यात्राबारे भलाकुसारी गर्दा खानाको मेसो भयो । साथीहरूको घुराइले मलाई निन्द्रा लागेन । राति १ बजेपछि भने निद्रा लागेको पत्तै भएन । बिहान ५ बजे नै उठेर बराह क्षेत्रमा प्रभातफेरी ग¥यौँ । बीच बाटोमा पहिरोको कारण जान मुस्किल थियो । बाधा–अड्चन छिचोल्डै अगाडि बढ्यौँ । बिहानको सात बजे सप्तकोसीको त्रिवेणीमा नुहाइधुवाइ गरी आठ बजे बराह मन्दिरको दर्शन ग¥यौँ । मन्दिर परिसरमा चियापान गरी पुनः चटरा पुलनिर फक्र्याैँ । सप्तकोसीमा पानीजहाज चढ्ने हाम्रो योजना भएकोले सोहीअनुरूप पानीजहाज चढ्यौँ र १४ः४२ सेकेन्डमा तेह्रथुम जिल्लाको अरूण र तमोर नदीको सङ्गमस्थलमा रोकियो । २०–२५ मिनेट बे्रकिङ्गपछि पुनः चटरा फर्कियौँ । बिहान १०ः५० बाट चटराबाट छुट्टिई मध्याह्न १२ः०० बजे कोसी ब्यारेज हेर्न गयौँ । कोसी ब्यारेजनिर खाना खायौँ । कोसी नदीको पुलमा बसेर फोटो खिच्यौँ । ब्यारेजका ५६ वटा सटरमध्ये ९ वटामात्र खोलिएको थियो । पानीको गहिराइ र बहावसँगै डल्फिनको उफ्राइ हाम्रो लागि रमिता भयो । दिउँसो १ बजेतिर कोसी ब्यारेजबाट सिन्धुलीतर्फ उक्लियौँ ।
सिन्धुली मोडमा एकछिन आराम गर्नुका साथै चिया–नास्ता गर्यौं । फर्कने क्रममा सिन्धुली पुग्दा घनघोर पानी प¥यो । खहरे खोलाबाट बगाएर ल्याएका ढुङ्गाहरू बाटोमा थुप्रिएको थियो । छिनभरमा बाटो अवरुद्ध भयो । स्कूल भ्यान त्यहीँ ठाउँमा नराम्ररी फसियो , हामी जसोतसो उक्लियौँ । त्यहाँबाट सिन्धुलीगढी आइपुग्दा रातको ८ बज्यो । रातिको खाना पनि उही भयो । भोलिपल्ट ६ बजे बिहान खुर्कोटलाई बिदा गरेर फर्कियौँ । बिहान ९ बजे नमोबुद्ध आसपासमा पुग्यौँ । हामीसँग समय बाँकी भएकोले घर फर्कनुभन्दा तीनधारे बाहुबली झरना जाने कार्यक्रम तय भयो । नमोबुद्ध हुँदै दाप्चा पुग्दा करीब ११ बज्यो । दाप्चा बजारको पसलमा खाजा अर्डर गरी हामी बाहुबली झरनातर्फ लाग्यौँ । दाप्चा– बाहुबली झरनाको बाटोको बिजोग भएकोले हामीलाई तीन दिनको यात्राभन्दा तीन घण्टाको यात्रा कष्टकर अनुभव भयो । झरना पुगी नुहाएपछि दिनभरको थकान र भोक मेटियो । बाहुबली झरनालाई बिदा गरी दिउँसो २ बजेतिर फक्र्यौँ र खाजा अर्डर गरिएको पसलमा खाजा खायौँ । पसले साहुले हामीलाई दाप्चाको अवस्था र मठमन्दिरबारे जानकारी दिए । बुढा भीमसेन, काली देवी मन्दिर आदिबारे विस्तृतमा बुझ्न पायौँ । उहाँसँगको बिदावारी रमाइलो र अविस्मरणीय भयो । यो पङ्क्तिकारसँगै यात्रा गरेका दौँतरीहरू श्यामकृष्ण, हरिकृष्ण, गोपाल, रामप्रसाद, लक्ष्मीप्रसाद, रामकृष्ण र राजेशलाई धेरै धेरै साधुवाद !

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *