भर्खरै :

हिचकक, आत्मधिक्कार र नेपाल

समाज र राजनीतिले प्रत्येकको जीवन छुन्छ । कोही यसबाट भाग्न सक्दैन । कला–साहित्यको हकमा पनि यो कुरा लागू हुन्छ । प्रत्येक साहित्य राजनीतिक हुन्छ । फिल्म साहित्यको प्रभावशाली विधा हो । मनोविश्लेषणात्मक, हरर, थ्रिलर जस्तोसुकै फिल्म भए पनि ती मानवीय सोच, चेतना र कल्पनाका उपज हुन् । कल्पना भौतिक यथार्थकै छायाँ र विस्तार हो । यसर्थ फिल्ममा समाजको छाप परेकै हुन्छ । समाज र राजनीतिबाट अछुतो फिल्म बनाउन असम्भव छ । खालि मनोरञ्जनको लागि फिल्म बनाउने कुरा श्वैरकल्पना मात्र हो । अलफ्रेड हिचकक आफूलाई मनोरञ्जनका लागि फिल्म बनाउने निर्देशक मान्छन् । तर उनका फिल्महरूमा समाज जसरी बोल्छ, त्यस्तो स्वर औसत फिल्महरूमा सुनिन्न । यहाँ हिचककका दुइटा फिल्मलाई मियो बनाई पुँजीवादी समाजका केही पक्षबारे चर्चा गरिनेछ ।
‘द रङ म्यान’ (गलत व्यक्ति) एउटा कलाकारको कथा हो । फिल्मको सुरुआतमा एउटा भव्य क्लबको दृश्य देखाइन्छ । सुन्दर लुगामा ठाँटिएका धनी महिला र पुरुष रक्सी, चुरोट र परिकारले घेरिएका छन् । उनीहरू गफगाफ र नाचगानमा रमाइरहेका छन् । क्लबको एक कुनामा सङ्गीतकार म्यानी देखिन्छ । म्यानी क्लबको कामदार हो । ऊ परिश्रमी, इमानदार र परिवारलाई माया गर्ने व्यक्ति हो । उसकी पत्नी रोजलाई दाँतको समस्या हुन्छ । दाँतको उपचार गर्न उनीहरूसँग पैसा हुन्न । यसै पनि परिवार चलाउन पैसाको समस्या परिरहन्छ । म्यानी उपचार खर्चको जोहो गर्न बिमा कम्पनीमा जान्छ । कार्यालयमा केही समयअघि चोरी भएको हुन्छ । म्यानीको आकृति चोरसँग मिल्ने हुनाले कर्मचारीहरूले प्रहरीलाई खबर गर्छन् । म्यानीलाई प्रहरीले समात्छ । घटनाक्रम कसरी चल्छ भने प्रत्येक प्रमाणहरूले म्यानीलाई दोषी देखाउँछन् । म्यानी जेल पर्छ । रोजलगायत म्यानीकी आमा र आफन्त चिन्तित हुन्छन् । उनीहरूले केही गर्न सक्दैनन् । ऊ धरौटीमा रिहा हुन्छ । यता रोज मानसिक आघातले थलिन्छे । आफ्नो दाँतको समस्याले लोग्ने फँसेको भनेर उसले आफूलाई धिक्कार्न थाल्छे । आफैलाई दोष दिएर वा आत्मधिक्कारले ऊ विक्षिप्त हुन्छे । अन्ततः उसलाई मानसिक अस्पतालमा भर्ना गरिन्छ । पछि चमत्कार हुन्छ, बिमा कम्पनीमा चोरी गर्ने व्यक्ति समातिन्छ । उसको आकृति म्यानीसँग मिल्दोजुल्दो हुन्छ । फिल्मको अन्त्यतिर रोजलाई निको भएको र म्यानीको परिवार बचेको देखाइएको छ ।
हिचककका प्रायः फिल्ममा पुँजीपति वा धनाढ्यहरूको जीवनलाई धेरै झकिझकाउ देखाइएको हुन्छ । यसको उल्टो ज्यालादारी मजदुरको जीवन निरस देखाइन्छ । ‘द रङ म्यान’ को पहिलो दृश्यमा देखिने सङ्गीतकारहरूका भावशून्य अनुहार, बिमा कर्मचारीहरूको उदास र कामले कक्रिएको अनुहार यसका उदाहरण हुन् । म्यानी आफ्नो जहान र आफन्तलाई माया गर्छ । तर बिरामी बुबालाई भेट्न जान ऊसित समय छैन । आफू काम गर्ने क्लबमा रोजलाई कहिल्यै लगेको हुन्न किनभने त्यो क्लब अति महंगो हुन्छ । क्लब उसको परिवारको लागि होइन । त्यहाँ उसको कला वा श्रम उसको होइन, बरु उसलाई ज्याला दिने मालिकको हो । पुँजीवादी समाजमा श्रमजीवी वर्गले अड्कोपड्को घर चलाउनुपर्ने हुन्छ । त्यसैले म्यानीले आफ्नो पेशाबाहिर पनि पैसा आउने बाटो खोज्छ । पत्नीको दाँतको समस्या ठूलो पहाड बनेर ऊसामु प्रकट हुन्छ । यस्तै अल्झोमा उसलाई प्रहरीहरूले मुसो नचाएझैँ नचाउँछन् । पुँजीवादमा एउटा निरीह मजदुर मात्र कानुनसामु यसरी नाच्न सक्छ । सामान्य मजदुर हुनु नै उसको अपराध हो । एउटा सामान्य कामदार सधैँ समातिन सक्छ, जालमा पर्न सक्छ । सबै प्रमाणहरू आफूविरुद्ध देखिँदा म्यानी भन्छ, ‘सबथोक मविरुद्ध छन् ।’ पुँजीको रजाइँमा यो स्वाभाविक हो । म्यानीको आकृति चोरजस्तो देखाएर हिचकक भन्छन् – समाजमा जोसुकै यस्तो समस्यामा पर्न सक्छ । उनको कुरा श्रमजीवीहरूबीच मात्र लागू हुन सक्छ । नेपाली समाजमै पनि धनी महिलाहरूलाई बोक्सी भनेर कुटपिट गरेको घटना सुनिन्न । मारमा सधैँ गरिबहरू पर्छन् । त्यसैले म्यानीको समस्या उसको मात्र समस्या होइन । आफ्नो रगत–पसिनामा बाँच्ने सबै श्रमजीवीको समस्या हो । म्यानीको समस्या वर्गीय समस्या हो, कामदार वर्गको समस्या हो ।
‘द रङ म्यान’ सत्य घटनामा आधारित फिल्म हो । फिल्मले पुँजीवादको अर्को घातक पक्ष उजागर गर्छ । फिल्ममा रोजले म्यानी जेलमा पर्नुमा आफूलाई दोष दिन्छे । ऊ विक्षिप्त हुन्छे, मानसिक रोगी बन्छे । पुँजीवादले पीडितलाई आत्मधिक्कारको शिकार बनाउँछ । अर्थात् गरिबीको दोष गरिबलाई नै देऊ ! ( नेपाली समाजमा यसलाई ‘आफ्नै कर्म खोटो’ भनेर पचाउने चलन छ । विभिन्न परिबन्दमा परेर पढ्न छोड्ने र विदेश जाने नेपाली युवाहरूले आफैलाई दोष दिन्छन् र नपढेर आफूले दुःख पाएको भनी जीवनभर सुस्केरा छोड्छन् । जब कि नेपाली शिक्षाको उद्देश्य सबैलाई पढाउने होइन, देशको विकास गर्ने त हुँदै होइन । नेपाली शिक्षाको उद्देश्य विदेशमा बिक्ने जनशक्ति बनाउने हो । जनशक्ति मीठो शब्द हो । खासमा पैसावाल देश वा बहुराष्ट्रिय कम्पनीको कारिन्दा भन्दा हुन्छ । जो त्यस्तो कारिन्दामा ढल्न सक्दैनन्, तिनीहरू तिनै कम्पनीका शारीरिक मजदुर बन्न खाडी जान्छन् । त्यस्तै, शिक्षित बेरोजगारहरूले आफैलाई दोष दिन्छन् । जब कि पुँजीवादले कहिल्यै पनि सम्पूर्ण नागरिकलाई रोजगारी दिन सक्दैन । सबैलाई रोजगारी दिँदा मालिकले कामदारहरूलाई छानीछानी सस्तोमा काम गराउन वा शोषण गर्न सक्दैन । त्यसैले अशिक्षा, बेरोजगारी वा गरिबी पुँजीवादको छायाँ हो । अमेरिकामै पनि नपढेका मान्छेहरू प्रशस्तै पाइन्छन् । न्यायपूर्ण समाज हुन्थ्यो भने दाँत दुख्दा चिन्तै नलिनुपर्ने हो । समाजवादी देशहरूमा यस्तो स्वास्थ्य समस्या समस्या नै होइन । तिनको निःशुल्क उपचार हुन्छ । तर पुँजीवादमा यही सानो समस्याले रोजलाई मानसिक रोगी बनाइदिन्छ । त्यसै सिलसिलामा म्यानीलाई चोरको आरोप लाग्छ । म्यानी झुक्किएर बाँच्छ । अचानक वास्तविक चोर भेटिएकोले मात्र उसले छुटकारा पाउँछ । नत्र धेरै म्यानीहरू हिटलरको ग्यास च्याम्बरजस्तो पुँजीवादमा निसासिएर बाँचिरहेका हुन्छन् । धेरै रोजहरू आत्मधिक्कारले भित्रभित्रै मरिरहेका हुन्छन् । वैदेशिक रोजगारीले नेपालका धेरै घरपरिवार विखण्डित पारेको छ । यहाँ आत्मधिक्कारले धेरै म्यानी र रोजहरू पिल्सिरहेका छन् । ‘द रङ म्यान’ वास्तवमा पुँजीवादी समाजको क्रुरताबारेको फिल्म हो । यो एउटा हरर फिल्म हो । पुँजीवाद क्रुर र यातनाकारी छ ।
‘भर्टिगो’ हिचककको चर्चित फिल्म हो । अविवाहित स्कटी अवकाशप्राप्त गुप्तचर हो । उसलाई उचाइसँग डराउने रोग छ । उचाइमा पुग्यो कि उसलाई भर्टिगो हुन्छ वा फनफनी रिँगाउँछ । उसको रोगबारे थाहा पाएको उद्योगपति एलस्टरले उसलाई आफ्नी पत्नी म्याडलिनको सुराकी गर्न भन्छ । उसले स्कटीलाई म्याडलिनबारे बताउँछ । म्याडलिनमा जिजुआमा उत्रेको हुनाले २६ वर्षको उमेरमा आत्महत्या गर्न सक्ने बताउँछ । स्कटीले म्याडलिनलाई पछ्याउँदै जान्छ, उसलाई प्रेम गर्छ । यस्तैमा म्याडलिनले उचाइमा चढेर आत्महत्या गर्छे । आफ्नो भर्टिगोले गर्दा प्रेमिकालाई बचाउन नसकेको भनेर स्कटीले आफैलाई दोष दिन्छ । ऊ विक्षिप्त हुन्छ, सन्तापमा डुब्छ । यस्तैमा एक दिन उसले म्याडलिनलाई भेट्छ । तर म्याडलिनले आफूलाई जुडी भन्छे । खासमा एलस्टरकी पत्नीको नाम म्याडलिन हुन्छ र जुडीलाई उसले म्याडलिन बन्न पैसा दिएको हुन्छ । एलस्टर ससुरालीबाट पाएको सारा सम्पत्तिको एकलौटी मालिक बन्न चाहन्छ । त्यसैले उस्तै अनुहार भएकी जुडीलाई प्रयोग गरेर उसले पत्नी मार्ने तानाबाना बुनेको हुन्छ । म्याडलिनलाई आत्महत्या गरेको देखाउन साक्षी चाहिएको हुनाले मात्र उसले स्कटीलाई काममा लगाएको हुन्छ । जुडी उचाइमा चढ्छे, तर म्याडलिन मारिन्छे । उचाइ देखेर भागेको स्कटीलाई को मरेको थियो भन्ने पत्तै हुन्न । तर जुडीले स्कटीलाई साँच्चिकै प्रेम गरेकी हुन्छे । एलस्टर सम्पत्ति लिएर युरोप भाग्छ । जुडी प्रेमी पाउन फर्केर आउँछे । शङ्का बढ्दै गएपछि स्कटीले जुडीलाई पुराना ठाउँहरूमा घुमाउँछ । अन्तमा उसले जुडीलाई उही उचाइमा लग्छ । हक्कानिएर जुडी अर्थात स्कटीकी म्याडलिनले आत्महत्या गर्छे । छोटोमा ससुरालीको सम्पत्ति हत्याउन एक उद्योगपतिले आफ्नी पत्नीको हत्या गर्छ र त्यसको लागि उसले स्कटी र जुडीलाई प्रयोग गर्छ । उनीहरूले एकअर्कालाई प्रेम गर्छन्, जुन वियोगमा टुंगिन्छ ।
‘भर्टिगो’ ले पुँजीवादी समाजको यथार्थ पस्किन्छ । एलस्टर पत्नीलाई मार्न चाहन्छ, तर ससुराली धन आफै राख्न चाहन्छ । अर्थात् पुँजीवादमा धनका निम्ति जे पनि गरिन्छ । धन हुने शक्तिशालीहरूले जसलाई पनि मार्न सक्छन् । दरबार हत्याकाण्डमा त्यही भएको हो । निर्मला पन्तको बलात्कार, हत्या र हत्याराको उन्मुक्ति अर्को उदाहरण हो । अपराधी पाल्ने र अपराध गर्ने दुवैथरी नेपाली संसदमा बसेका छन् । कानुन मिच्नेले नै जनताको भाग्य लेख्छन् । कसैलाई नमारी पुँजीवाद बाँच्न सक्दैन । जस्तो धेरै विद्यार्थीको यौवन नमारी पुँजीवादले कसैलाई छात्रवृत्ति वा नोकरी दिन सक्दैन । यो युवाशक्ति खेर फाल्नुबराबर हो, प्रतिभाको हत्या हो । कामदारहरूलाई नसताई, नलुटी वा नमारी पुँजीपति बाँच्न सक्दैन । उपनिवेशहरू नचुसी साम्राज्यवाद मोटाउन सक्दैन । धन हुनेले नहुनेलाई जस्तोसुकै काम कजाउन सक्छ । पैसा दिएर एलस्टरले स्कटी र जुडीमाथि अत्याचार गरेको छ । अन्जानमै स्कटी उसको जालमा फस्छ । आत्मधिक्कारको शिकार हुन्छ । आफूले गर्दा प्रेमिका मरेकोमा पिरोलिन्छ । वास्तविक अपराधी एलस्टर उम्किन्छ । निर्दोष कारिन्दा स्कटीले दुःखमनाउ गर्छ । पुँजीपतिहरू मोज गर्छन्, मिहिनेती जनता पुर्पुरो समाएर बस्छन् । जुडी आफ्नो प्रेमी पाउन चाहन्छे । तर वर्गीय परिबन्दले पाउन सक्दिन । पुँजीवादले मान्छेलाई डर देखाउँछ, तर्साउँछ । छटपटीमा मान्छेले जे पनि गर्न सक्छ । समस्याले पुरिएपछि जुडीले समाधान पाउँदिन, सन्त्रासमा उसले आत्महत्या गर्छे । यहाँ आत्महत्या वर्गीय जालोविरुद्ध उसको निम्छरो विद्रोह हो । जस्तो, केही वर्षअघि भारतमा रोहित भेमुलाले गरेका थिए । पुँजीवाद भयानक छ । ‘भर्टिगो’ पुँजीवादले निम्त्याएको वियोग कथा हो ।
हिचककका फिल्महरूमा समीक्षकहरूले कला पक्षको तारिफ गर्छन् । खासगरी तिनमा मनोविश्लेषणको गुत्थी खोज्न धेरै विद्वानले दिमाग खियाएका छन् । तिनमा देखिने पुँजीवादी समाजको निर्ममताबारे त्यति बोलिन्न । माथिका दुई फिल्ममा आत्मधिक्कारलाई केन्द्रमा राखिएको छ । नेपाली समाजमा आत्मधिक्कार खीलझैँ गढेको छ । हिन्दु धर्मले कथित तल्लो जातिका बालबालिकामा आत्मधिक्कारको भावना भर्छ । कुन गर्भमा जन्मिने भन्ने कुरा कसैले रोज्न सक्दैन । तैपनि उनीहरू आजन्म समाजले हेर्ने नजरबाट आफूलाई जोगाउँदै र पिरोलिँदै बाँच्छन् । खाँदै नखाएको विष लाग्छ । निर्मला पन्तको बलात्कारमा कतिले उनैलाई दोष दिएको पनि सुनियो । प्रेमीले बोलाएर गरिने बलात्कारमा छोरीमान्छेलाई ‘गतिछाडा’ भनिन्छ । प्रेम गर्नु नै तिनको अपराध बन्छ ।
आजभोलि गरिबीलाई त्यस्तै पाप ठानिन्छ । माल्थसले गरिबीको कारण परिवार ठूलो हुनु हो भने । कलिलो उमेरदेखि नै विद्यार्थीलाई यही सिद्धान्त घोकाइन्छ । अनि गरिबले आफ्नै परिवारलाई धिक्कार्छन् । माल्थस घोकेर हुर्केका कतिपय शिक्षितहरूले नेपाल बेलायती उपनिवेश नबनेर गरिब बनेको पनि भन्छन् । यो आत्मधिक्कारको चरमचुली हो । नेपालको अविकासपछाडि भ्रष्टाचारलाई दोष दिइन्छ । निश्चय नै भ्रष्टाचार एउटा कारण हो । तर नेपाली शासकहरूलाई डलर र भारु पेलेर भ्रष्टाचारी र अल्छी बनाइरहने र असमान सन्धिसम्झौताले जेलेर नेपाल र नेपालीलाई बन्दी बनाउने साम्राज्यवादी र विस्तारवादीहरू नेपालको पछौटेपन र गरिबीका मुख्य दोषी हुन् । नेपाली दलाल शासकहरू बिकेका छन् भन्दैमा नेपाली जनता खाँदै नखाएको विषले धर्मरिनुपर्छ भन्ने छैन । आत्मधिक्कारको भावना हटाऔँ र नेपाली समाजका मनमौजी एलस्टरहरूलाई जेलमा हालौँ । सम्मुन्नत समाजको जग हालौँ, ताकि भोलिभोलि नेपालमा रोजहरू दाँतको उपचार गर्न नसकेर विक्षिप्त हुन नपरोस् !

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *