भर्खरै :

कहाँ गयो हाम्रो आक्रोश ?– ३

(विदेशी सहयोगले गिजोलेको नेपाल र नेपालीको दशा झन्झन् बिग्रँदो छ । शासक वर्ग धनी हुँदै जाँदा गरिब झन्झन् गरिब बन्न पुगेका छन् । विदेशी आर्थिक सहयोगमा आधारित नेपाली विकासले यसमा कस्तो भूमिका खेलेको छ ? नेपालमा वर्गसङ्घर्षको स्वरूपबारे नन्दराज श्रेष्ठको ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ मा गहिरो वर्णन छ । एमसीसीको ‘अनुदान’ को करकापबीच विदेशी सहयोगबारे सग्लो दृष्टिकोण बनाउन पुस्तक सान्दर्भिक देखिन्छ । यहाँ सोही पुस्तकको एक अंशको भावानुवाद प्रस्तुत गरिन्छ । – अनुवादक)
धेरै परामर्शदाता फिल्डमा जान्नन् । लक्षित जनताको आवाज सुन्दैनन् । कुर्सीमा बसेर भकाभक प्रारम्भिक प्रस्ताव, सम्भाव्यता र मूल्याङ्कन रिपोर्टहरू लेख्छन् । यस्ता रिपोर्टहरू पढ्ने कसैलाई फुर्सद हुन्न । परामर्शदाताहरू आफूलाई ठूलो मान्छन् र सहयोगीहरूलाई फिल्डमा पठाउँछन् । सहयोगीहरूले जम्मा गरेका तथ्याङ्कहरू अधिकाङ्श फर्जी हुन्छन् । अक्सर चिया पिउँदै र रुखमुनि बसेर प्रश्नावली भरिन्छन् । फिल्डमा खट्नेहरू इमानदार भए भने पनि तिनलाई परियोजनाको प्रकृति थाहा हुन्न । त्यसैले तथ्याङ्क सङ्कलन गर्न उनीहरूको ढङ्ग पुग्दैन । परामर्शदातालाई यसले फरक पर्दैन । उनीहरूका रिपोर्टहरू पूर्वनिर्धारित वा बनिबनाऊ हुन्छन् । देशको सेवा गर्ने भन्दा पनि काम सक्ने हतारो हुन्छ । आफ्नो थैली भर्नुमा उनीहरूको मूल चासो हुन्छ । तैपनि यिनीहरू आफूलाई विज्ञ भन्छन् र देश विकासमा योगदान गरेको धाक लगाउँछन् । विकास उद्योगले जति नै गफ हाँके पनि नेपालमा असमानता, बेरोजगारी र गरिबी घटेको छैन । अहिले विकास उद्योगमा पीस कोर र इसाई मिसनरीको ठाउँ हजारौँ आइ÷एनजीओहरूले लिएका छन् । यिनीहरूले जनसहभागिताको नाउँ भजाउँछन् । यस्ता एनजीओले जनतालाई भन्दा पनि एनजीओ मालिकलाई पैसा खुवाउने गर्छन् । विश्व बैंक, यूएसएड र आइएनजीओहरूले उद्यमशीलतामा टेवा दिने भनेको यही हो !
तेस्रो कुरा, विकासको वर्तमान ढाँचाले पुरानो गोरो छाला नै अब्बल भन्ने धारणालाई मलजल गर्छ । विकास गोराले मात्र ल्याउन सक्छन्, हामीसँग केही छैन, हामी आफै केही गर्न सक्दैनौँ भन्ने धारणा बलियो बनाउँछ । उपनिवेशवादी युगमा ‘कुकुर’ भनिने रैथानेहरूलाई आज ‘गरिब’ वा ‘अविकसित’ भनिन्छ । हाम्रो आत्मनिर्भर जीवनशैलीको आधार ध्वस्त पारेर पश्चिमाहरूले पहिले हामीलाई परनिर्भर बनाए । त्यसपछि तल्लो दर्जाको, असहाय र गरिबीको मारमा परेका भनी हामीबीच ‘सभ्य तुल्याउने’ अभियान चलाइरहेका छन् । उनीहरू यी गरिब देशहरूबाट हात झिक्न सक्दैनन् किनभने यी देशबाटै उनीहरूले सस्तो ज्यामी र प्राकृतिक स्रोतसाधन जुटाउँछन् ।
नेपाली जनजीवन प्रकृतिसँग उनिएको थियो । तर तुच्छ थिएन । हामीले प्रकृतिलाई दास बनाएनौँ । प्रकृतिसँगको हाम्रो सहअस्तित्वलाई हाम्रो पछौटेपन वा प्राविधिक कमजोरी ठानियो । विकासलाई प्रकृति र मानिसबीचको दूरीको आधारमा मापन गरिन्छ । यो दूरी जति बढ्यो, त्यति विकास भएको ठानिन्छ । अर्थात्, प्रकृतिविरोधी क्रुरतालाई विकास भनिन्छ । आज बेढङ्गी पारामा विकास मापक दूरी बढेको छ । जस्तो पहिले दाउराघाँस गर्न र पानी लिन टाढा जानुपर्दैनथ्यो आज यो दूरी बढेको छ ¤ मानिसहरू रोजगारीको खोजीमा विदेशमा भौतारिनुपरेको छ ¤ वास्तविक जनमुखी प्रगति भएको छैन । आज हामीबीचको आत्मनिर्भरता र परस्पर सहयोगभाव हराउँदै गएको छ, परनिर्भरता बढ्दो छ । पहिले कतै पुल भत्केमा गाउँलेहरू मिलेर बनाउँथे, आज दाता खोज्ने चलन बढ्दै छ । जताजतै यही आसे प्रवृत्ति फैलिँदो छ । विकासको पासोमा परेर सरकार जिम्मेवारीबाट पन्छिँदै छ । सारमा हामीमा सहयोगी र आत्मनिर्भरताको भावना हराउँदै छ, रैथाने ज्ञान र विवेक नासिँदै छ । आजभोलि विदेशी सहयोगबिना सिन्को भाँचिन्न । देश पक्षघातको स्थितिमा छ । सबथोक अस्तव्यस्त छ ।
देशका हुनेखाने शासकहरूले नयाँ ‘सभ्य तुल्याउने’ विकासलाई आत्मसात गरेका छन् । तिनले त्यसैलाई राष्ट्रि«य एजेन्डा बनाएका छन् । यही मेलोमा उनीहरूले पश्चिमा विभिन्न एजेन्टहरूसँग साँठगाँठ गर्छन् । अध्येता न्यान्डी भन्छन् – ‘उपनिवेशवादी युग सकिएपछि रैथाने हुनेखानेहरूले राज्यको बागडोर हातमा लिए । तिनले ‘सभ्य तुल्याउने’ अभियानलाई आफ्नो बनाए र गरिबहरू उपर निगाह गर्ने सोच पाले । यसले गर्दा राज्य र समाजबीच खाडल बन्यो ।’ विकासले हुनेखाने शासकहरूलाई राष्ट्रिय नीति निर्माण नियन्त्रण गर्ने अधिकार दिलाएको छ । यी शासकहरू पश्चिमी जीवनशैली र संस्कृतिमा डुबेका हुन्छन् । त्यसैले यिनले पश्चिमी शैलीको विकास र अर्थ व्यवस्थाको अन्ध नक्कल गर्न खोज्छन् । यति गरे गरिबी हट्ने भन्ठान्ने उनीहरू आफूलाई गरिबको मसिहा देखाउन खोज्छन् । विकास पूजाले हाम्रो जीवन तहसनहस पारेको छ । विकासले गरिबी हटाउँछ भनिन्छ, गरिबी बढेकोमा गरिबमाथि नै धारे हात लगाइन्छ । गरिबी निवारणको नाममा चल्ने विकास उद्योगले धनीमानीहरू मात्र मोटाइरहेका छन् । नेपाली शासक, प्रशासक र बौद्धिकहरू यस अर्थमा नाङ्गा राजाजस्ता छन् । खासमा आफूलाई नाङ्गो नदेखेझैँ गर्ने यिनै अभिनेताहरूले देशलाई लुछिरहेका छन् ।
चौथो कुरा, विकासको मार पर्नुअघि गरिब र गरिबी यति निरीह थिएनन् । सामन्ती नेपाल शोषणकारी र स्वार्थी भए पनि त्यहाँ मालिकहरूमा केही हदसम्म गरिबहरूप्रति जिम्मेवारीभाव थियो । संरक्षक–आश्रित सम्बन्धले गरिबलाई केही आर्थिक संरक्षण दिएको थियो । हिजोको गरिबीमा अलिकति सुरक्षा थियो । आज गरिब एकदम असहाय र असुरक्षित छ । विकासका सिद्धान्तहरूले परम्परागत आनीबानी र उत्पादन सम्बन्धले व्यक्तिको नाफा र पुँजी घटाइदिने ‘शिक्षा’ दिन्छन् । नाफा र पुँजीबिना पश्चिमी भौतिक सम्पन्नता वा सफलता हासिल हुन्न भनी सिकाइन्छ । यी सिद्धान्तहरू नमान्ने व्यक्तिलाई बुद्धीहीन ठानिन्छ । हामी र हाम्रो जीवनशैलीलाई होच्याउन नयाँनयाँ शब्दको आविष्कार गरिन्छ ।
यसको अर्थ पुरानोजति राम्रो भन्ने होइन । पुराना कुरा पुरानै रूपमा ब्युँताउन सकिन्न । रैथानेवादको कट्टरता ठीक होइन । हाम्रो सामन्ती र धार्मिक विरासत निरंकुश थियो । तर हाम्रो रैथाने अर्थ प्रणाली र मूल्यमान्यता आत्मनिर्भर र दिगो थियो । त्यसले मानिस र प्रकृतिलाई हानि गर्थेन । आज विकासको नाउँमा गरिबहरूको स्वाभिमान र मानवता धरापमा परेको छ । गरिबी चुलिँदो छ । आधुनिक स्वास्थ्य उपचारले मान्छेको आयु लम्बाइदिएको छ । जनसङ्ख्या बढ्दै छ । तर तिनको भरणपोषण टाढाको सपना बन्दै छ । छोटो आयुलाई अल्पविकासको चिनारी मानिन्थ्यो । अहिले त्यस्तो छैन । तैपनि आयु लम्बिनु गरिबको लागि चमत्कार हुन सकेन । यसले दरिद्रता र अमानवीय जीवनचर्या लम्बाइदियो । विकास र आधुनिकताले लम्ब्याएको जीवन सुखी छ भन्न सकिन्न । गरिबको लागि लामो जीवन बोझ र पीडादायी बन्न पुगेको छ ।
तैपनि विकासमाथिको अन्धभक्ति चुलिँदो छ । विकास भनेको कम गरिबी हो भनेर हामीले चित्त बुझाएझैँ देखिन्छ । बेलायतको औद्योगिक क्रान्ति र पुँजीवादी सभ्यताले जन्माएको चरम गरिबीबारे अङ्ग्रेजीमा धेरै साहित्य लेखिएको छ । उपनिवेशको लुटपाट औद्योगिक आवश्यकता वा लोभको फल थियो । साथमा त्यो बेलायतको गहिरो घरेलु गरिबी, बेरोजगारी र सामाजिक समस्याहरूको पनि उपज थियो । त्यसैले एक साम्राज्यवादी लेखकले लेखे, ‘हाम्रो साम्राज्य हाम्रै पेटको उपज हो । तिमी गृहयुद्ध पन्छाउन चाहन्छाँै भने साम्राज्यवादी बन्नैपर्छ ।’
हामीले हाम्रै रैथाने ज्ञान र प्रविधिको जगमा स्थानीय स्रोतसाधनको उपयोग गरी विकास गर्ने प्रयास गरेनौँ । बरु पश्चिमाहरूलाई मसिहा मानेर उनीहरूतिर नजिकिन खोज्यौँ । पश्चिमाहरूसँग नजिकिने बहाना ठानेर पीस कोर नीतिलाई स्वागत ग¥यौँ । पीस कोर स्वयंसेवकहरूले उच्च कूटनीतिक अधिकारी र कथित विकास सल्लाहकारभन्दा भुइँमा बसेर काम गर्थे । यस्तो देखेर कतिपय नेपालीले उनीहरूसँगै अमेरिका जाने सपना बुन्थे । विकासी हुने होडमा नन्दराजको बुद्धि उपनिवेशतुल्य भइसकेको थियो । अमेरिकीहरूसँग टुटेफुटेको अङ्ग्रेजीमा कुराकानी गर्न पाउँदा मख्ख पर्थे । अङ्ग्रेजी सिक्दा, अमेरिकी संस्कार र संस्कृतिको नक्कल गर्दा आफ्नो आस्था र सोच साम्राज्यवादी धुनमा नाचेको उनले चालै पाएनन् । उनी अमेरिकीहरूलाई बेलायतीहरूभन्दा अघि बढेको ठान्थे ।
नन्दराजले व्यवसाय र उद्योगको तालिम लिए । यसमा डकर्मी, रेखाचित्र कोर्ने र वायरिङको तालिम दिइन्थ्यो । दश कक्षामा प्रथम श्रेणी आयो भने विदेशी छात्रवृत्ति आउँछ र बेलायत वा अमेरिका पढ्न जान पाइन्छ भनिन्थ्यो । प्रथम श्रेणी ल्याएर पनि उनले विदेशी छात्रवृत्ति पाएनन् । उनलाई विकास नाउँको आधुनिक देवताले धोका दिएझैँ लाग्यो । त्यसपछि उनले बिहान क्याम्पस गएर दिउँसो विद्यालयमा पढाउन थाले । १९६८ मा उनले एकजना पीस कोरमा काम गर्ने साथीको चिठी पाए । उनले मिनेसोटाको एउटा क्याम्पसमा छात्रवृत्ति पाएका थिए । विकासले उनलाई १९७२ मा अमेरिका पु¥यायो । त्यसबेला उनी अमेरिकालाई सुनैसुन र सुखको देश ठान्थे ।
जीवनको एक फन्को मारेपछि उनी आफ्नो उपनिवेशतुल्य बुद्धिबारे घोत्लिन थाले । अन्तमा उनी पश्चिमा विकास सिद्धान्तका आलोचक बने । नेपालजस्ता देशहरूलाई विकासले आत्मघाती बाटोमा पु¥याएको निष्कर्षमा पुगे । विकासको शैली र लक्ष्य सामाजिक, आर्थिक र सांस्कृतिक विध्वंश मच्चाउनु हो भन्ने ठहरमा पुगे ।
योजना निर्माण, विदेशी सहयोग र नेपाली एलिटहरू
दोस्रो विश्वयुद्धपछि एसियामा स्वतन्त्रताको लहर चल्यो । जहानियाँ राणा शासन बेलायती साम्राज्यवादको आशीर्वादले चलेको थियो । भारत स्वतन्त्र भएपछि ०७ सालमा राणा शासन समाप्त भयो । राणाहरूले देशको अर्थतन्त्र तन्नम पारेका थिए । त्यसलाई उकास्नुपर्ने थियो । नयाँ शासकहरूका आकाङ्क्षा बढे । तिनले पश्चिमा शैलीको विकास गर्नुपर्ने देखे । तिनले विकासलाई लक्ष्य मात्र बनाएनन्, तिनको वर्गीय हितको लागि विकास अपरिहार्य थियो ।
नेपालका नयाँ शासकहरूको स्वार्थ राणाहरूको भन्दा फरक थिएन । त्यसैले राणाहरू र नयाँ शासकहरूबीचको लडाइँ वर्गीय लडाइँ नभएर सत्ताको खोसाखोस मात्र थियो । उही वर्गको एउटा हाँगो निरङ्कुशताको पक्षमा थियो, अर्को हाँगो प्रजातान्त्रिक व्यवस्थाको पक्षमा थियो । नेपालको सामाजिक इतिहास एउटै शासक वर्गका विभिन्न गुटबीचको शत्रुताको इतिहास हो । पहिले त्यो शत्रुता दरबारी षडयन्त्रमा पोखिन्थ्यो । ०७ सालमा राणा शासनलाई अलि ठूलो जनमत सहितको गुटले ढलायो । यति नै बेला एसियामा ‘आधुनिकीकरण’ को लहर चल्यो । नेपालका नयाँ शासकहरूले अतिरिक्त उब्जनी वा शोषणको मात्रा बढाउनुपर्ने भयो । तब मात्र उनीहरूको आफ्नो सत्ता र आर्थिक हैकम टिकाउन सक्थे । वनपैदावारबाहेक देशको अर्थतन्त्र परम्परागत कृषिमा आधारित थियो । देशको धेरैजसो जमिन शासकहरूकै हातमा थियो । जोताहा किसानहरूसँग थोरै जमिन हुनाले तिनलाई बढी दोहन गर्न सकिन्नथ्यो । किसानलाई बढी चुसेमा किसान विद्रोह हुनसक्ने डर थियो । त्यस्तो खण्डमा नयाँ शासकहरूको सत्ता धेरै दिन सक्थेन । त्यसैले अतिरिक्त उब्जनी बढाउने सम्भावना क्षीण थियो । नयाँ शासकहरूका आधुनिक आकाङ्क्षालाई कृषितन्त्रले पूरा गर्न सक्थेन ।
यस्तो परिस्थितिमा नयाँ शासकहरू अक्करमा परे । तिनलाई आफ्नो सामाजिक र आर्थिक हैकम कायम गर्न गा¥हो भयो । आफ्ना आकाङ्क्षा पूरा गर्नसक्ने प्रगतिको उकालो चढ्न पनि कठिन थियो । राष्ट्रिय उत्थानमै तिनीहरूको वर्गीय उत्थान थियो । आफ्नो वर्गीय स्वार्थ पूरा गर्न र शिक्षितहरूलाई रोजगारी दिन देशको विकास गर्नैपथ्र्यो । विकास शासकहरूको वर्गीय आवश्यकता बन्यो । त्यसैले नेपालका नयाँ शासकहरूले देशको कृषि विरासतलाई विकास विरोधी ठाने र त्यसमा परिवर्तन गर्नुपर्ने देखे । आधुनिक र शहरी शिक्षितहरूलाई खेतीपाती राम्रो नलाग्ने भयो । त्यसैले शासकहरूले पश्चिमा शैलीको विकासको विकल्प भेटेनन् । विकासको दोहन गरेर प्रशस्त थैलो भर्न सकिने देखेपछि तिनले विकासलाई राष्ट्रिय लक्ष्य र नारा बनाए । तर त्यस्तो विकासको लागि स्रोत, पुँजी, प्रविधि, विज्ञ चाहिन्थ्यो । यो अभावलाई विदेशी सहयोगले पूर्ति गर्ने भएपछि देश विकासमा ‘योजना निर्माण’ को उपयोग गरियो । नयाँ शासकहरूको नारा समाजवादी थियो, तर लक्ष्य पुँजीवादी थियो । त्यसैले त्यो विफल हुने स्पष्ट थियो । योजना निर्माणमा राज्यको नियन्त्रण हुने भएकोले नयाँ शासकहरूले विदेशबाट आउने स्रोत माथि एकाधिकार जमाए । यसरी देशको विकास र शासकहरूको वर्गीय स्वार्थबीच गजबको साँठगाँठ भयो । यो प्राकृतिक देखिन्थ्यो ।
सन् १९५६ मा नेपालको पहिलो राष्ट्रिय योजना बन्यो । योजना निर्माणलाई सामाजिक न्याय र आर्थिक विकासको रथ ठानियो । यो विकासको सामाजिक इन्जिनियरिङजस्तो थियो । योजना निर्माण सामाजिक परिवर्तनलाई इन्जिनियरिङ गर्न सकिन्छ र चाहेको परिणाम ल्याउन सकिन्छ भन्ने मान्यतामा टिकेको हुन्छ । त्यसैले गरिब देशहरूलाई योजना निर्माणको माध्यमबाट सजिलै प्रगतिपथमा लम्काउन सकिन्छ भन्ने ठानिन्छ । विकासविद्हरू यस्तै सोच्छन् । धेरै चिन्तकले सामूहिक योजना बनाएर राज्यले जनताका साझा आवश्यकता परिपूर्ति गर्ने सम्मुन्नत समाज निर्माण गर्न सक्छ भन्ने विचार दिएका छन् । पुँजीवादी र माक्र्सवादी दुवैथरी विचारकहरूले योजनाबद्ध विकासको पक्ष लिएकोमा नन्दराज आलोचना गर्छन् । योजनाबद्ध विकासले रैथाने आर्थिक प्रणालीमा अतिरिक्त उत्पादन खेर जाने हुनाले त्यसलाई दुवैथरी विचारकहरूले विकासविरोधी मान्ने उनको निष्कर्ष छ । पुँजीवादी र माक्र्सवादी विचारकहरूबीच सामाजिक हितको शैली र लक्ष्यमा मतभेद भए पनि विकासको अवधारणामा धेरै हदसम्म एकमत भएको उनको बुझाइ छ । (यहाँनिर उनमा अफ्रिकी दार्शनिक फ्रान्ज फाननको प्रभाव देखिन्छ । फाननले युरोपेली वा पश्चिमा विचारधाराले संसारभरि हिंसा मच्चाएको हुनाले उत्पीडित विश्वले त्यस्तो विचारधारा त्याग्नुपर्ने र आफ्नै शैलीको समाज बनाउनुपर्नेमा जोड दिएका थिए । आफ्नो पुस्तक ‘द रेचेड अफ द अर्थ’ मा फाननले नयाँ मान्छे बनाउनुपर्ने आह्वान गरेका छन् ।)
योजनाबद्ध विकासको अवधारणा सुरुमा सोभियत सङ्घमा लागू भयो । त्यसमै टेकेर विकासको हिसाबले सोभियत सङ्घ छोटो समयमै पुँजीवादी देशको हाराहारीमा पुग्यो । तर नेपाली विकासले भारतीय मोडल पछ्याएको थियो । नेहरू, नासेर, टिटो, सुकार्नोजस्ता असंलग्न नीतिका पक्षपाती नेताहरूले प्रजातान्त्रिक समाजवादको यही बाटो लिएका थिए । यसलाई पुँजीवाद र समाजवादबीचको बाटो मानियो । तर नेपालको योजना निर्माण प्रजातान्त्रिक वा समाजवादी छैन । नेपाली एलिटहरूले योजना निर्माणको मर्म नै मारेका छन् । योजना निर्माणलाई तिनले नयाँ समाज निर्माणको साधन बनाएका छैनन् । बरु आफ्नो निजी हित साँध्न विकास कोष वा विदेशी सहयोग कुम्ल्याउने लोकप्रिय औजार बनाएका छन् । सबैको निम्ति असल समाज बनाउने दृष्टिकोण धुजाधुजा पारेका छन् ।
पश्चिमा शैलीको विकासको लागि नेपालजस्तो अल्पविकसित मुलुकमा पुँजी र विज्ञहरूको अभाव थियो । यसै अभावमा नेपालजस्तो देशको विकास निर्माण र ट्रयुमन योजनाको मिलन भयो । अमेरिकाले धमाधम विदेशी सहयोग अर्थात् पुँजी र विज्ञहरू दियो । सुरुमा यो अनुदानको रूपमा आएको थियो । यस्तो सहयोग अमेरिकाको लागि थोरै थियो । थोरै खर्च गरेर ससाना पुराना उपनिवेशहरूमा बाँडेर तिनलाई अमेरिकामाथि आश्रित बनाउने बीउ रोप्नु अमेरिकाको लागि चमत्कारै थियो । सहयोगको नाउँमा बिस्तारै उपनिवेशी दबदबा कायम गर्ने सोचिएको थियो । भौगोलिक दमन वा कब्जा गर्ने युग सकिए पनि रैथाने शासकहरूको बुद्धिमा साम्राज्यवादी सोचले काम गरिरहेको छ । विदेशी सहयोग आर्थिक विषय मात्र होइन । यो सहयोग पाउने देशको संस्कृतिलाई पश्चिमा शैलीमा ढाल्ने हतियार हो । आफ्नो बुद्धिलाई उपनिवेशतुल्य बन्दै गर्दा आफूले ती कुरामा ध्यान नदिएको नन्दराजको बुझाइ छ ।
१९५१ मा नेपाल आएको २२ हजार रूपैयाँ ट्रयुमनको कम्युनिष्टविरोधी नीतिको सौगात थियो । मुक्ति आन्दोलनताका दक्षिण एसियामा माक्र्सवाद शहरी बुद्धिजीवी र गाउँले किसानबीच लोकप्रिय भयो । माक्र्सवाद यहाँ पुँजीवादको पतनले ल्याएको होइन । बरु उपनिवेशमा आफ्ना सेवक बनाउन साम्राज्यवादीहरूले तयार पारेका बुद्धिजीवीहरू शिविर फेरेर माक्र्सवादी भएका थिए । अध्येता फिवेर लेख्छन् – ‘माक्र्सवादी दर्शनका बिम्बहरू एसियाली बुद्धिजीवीहरूको आक्रोशको साधन बन्यो । माक्र्सवादमा नयाँ विषयवस्तु थियो । पश्चिमा शासकहरू पुँजीवादी भनेर चिनिन्थे । एसियाली जनतालाई सर्वहारा ठानियो । जातीय र राष्ट्रिय मुक्तिको लडाइँ वर्गसङ्घर्ष बन्यो । ऐतिहासिक परिवर्तनमा प्रविधिको भूमिकाबारे माक्र्सवादी अवधारणालाई एसियालीहरूले सही माने । उद्योगहरूको निर्माणबाटै उनीहरूले आफ्नो स्वाधीनता जोगाउन सक्थे, आफ्नो हीनताबोध हटाउन सक्थे र आफूलाई गोराहरूसमान बनाउन सक्थे । राजनीतिक अगुवाइको विज्ञानको रूपमा माक्र्सवादले एसियाली बौद्धिकहरूलाई समाजको प्रशासक बन्ने भूमिका खेल्न नयाँ सिद्धान्त दियो ।’
प्रस्तुति : रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *