भर्खरै :

देशको हितमा नबोल्ने विदेशी दलाल

भक्तपुर, २४ असोज । नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने विषयमा आइतबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नगरपालिकाका कर्मचारीहरूले जिम्मेवारी बहन गरी नगरवासीहरूको हितमा काम गरेमात्र संस्थाको विकास र उन्नति हुने बताउँदै देशको हितमा नबोल्ने तत्वहरू विदेशी दलाल हुने बताउनुभयो ।
भारत र चीनलाई युद्धमा धकेल्ने उद्देश्यका साथ एमसीसी नेपालमा लागू गर्न अमेरिका तल्लीन रहेको बताउँदै सांसद सुवालले जनप्रतिनिधिको कार्यालय समय नभएजस्तै मुख्य मुख्य कर्मचारीहरूको कार्यालय समय नहुने र कुनै पनि समयमा सेवाको लागि तत्पर रहनुपर्ने धारणा राख्नुभयो ।
समयमा आधारित पारिश्रमिक र वृत्ति विकासभन्दा योगदान वा काममा आधारित पारिश्रमिक वा वृत्ति विकास व्यवस्था गर्नुपर्ने विचार उहाँले राख्नुभयो ।
संरा अमेरिका, बेलायत र अष्ट्रेलियाको गठबन्धन तथा अमेरिका, बेलायत, जापान र अष्ट्रेलियाको सैनिक गठबन्धन तयार गरी हिन्द प्रशान्त क्षेत्रबाट चीनलाई घेर्ने रणनीतिका साथ साम्राज्यवादी अमेरिका अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
नेपाल–भारतबीचका असमान सन्धिहरूको विषयमा नेपालको पक्षमा विचार नराख्ने राजनीतिक पार्टी तथा कार्यकर्ताहरू भारतपरस्त हुने उल्लेख गर्दै उहाँले नेपालका शासक दलहरू भारतीय एकाधिकार पुँजीका पिछलग्गू भएको धारणा राख्नुभयो ।
सांस्कृतिक गतिविधि र दैनिक जीवनयापनलाई विज्ञानसम्मत ढङ्गले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरूले दसैंको समयमा पठन संस्कृतिको विकास गरी अविस्मरणीय तरिकाले चाडपर्व मनाउनुपर्ने बताउनुभयो ।
समाजवाद गरिब जनताको निम्ति स्वर्ग भएको उल्लेख गर्दै उहाँले एमसीसी भनेको आर्थिक सहयोगको नाममा देशलाई उपनिवेश बनाउने रणनीति भएकोे बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता राष्ट्र र जनताको हितविपरीत भएको हुँदा यसको विरोधमा सचेत जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले राजनीति, इतिहास, भूगोल तथा संस्कृतिहरूको विषयमा विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नुपर्ने बताउँदै भक्तपुर नपाले लागू गरेको स्थानीय पाठ्यक्रममा भक्तपुरको इतिहास, भाषा, संस्कृति आदि विषय समावेश भएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवा, सदस्य रामकृष्ण प्रजापति र विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *