भर्खरै :

जसले उपनिवेशका व्यथा लेखे र नोबेल पुरस्कार पाए

स्वीडिसहरूले यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको निम्ति सजग छनोट गरेर फेरि एक पटक सबैलाई आश्चर्यचकित पारेका छन् । अब्दुलरजक गुरना (जन्म सन् १९४८) लाई यो वर्षको विजेता घोषणा गरियो । अफ्रिकी महादेशबाट यो सम्मानित पुरस्कार पाउने उनी छैटौँ लेखक हुन् । नोबेल पुरस्कार सीमित महादेशमा मानिसले मात्र पाउने मान्यता राख्ने निराशावादी, त्यसैको निम्ति जोखिम उठाउन तयार मान्छेहरू, पढन्ते र अफ्रिकी साहित्यका महारथीहरूको लागि यो समाचार ताजा हावाको निःश्वास बनेर आएको छ । पुरस्कार आफूले पाउने भएपछि गुरना आफै आश्चर्यचकित भएपछि अफ्रिकाका बृहत्, विविधतायुक्त र चकित पर्ने साहित्यको आयामप्रति कति थोरै माया दिइएको रहेछ भन्ने कुरा उजागर भएको छ ।
वास्तवमा नोबेल पुरस्कारले ल्याउने सबभन्दा ठूलो जादु भनेको अचानक तुलनात्मकरूपमा कम मात्र चिने–जानिएको उपन्यासकार अब घरघरमा परिचित नाम बन्छ । बेलायत र पूर्वी अफ्रिकाबाहेक उतिसारो पाउन पनि मुस्किल पर्ने गुरनाका कृतिहरू अब व्यापकरूपमा बिक्री हुन थाल्नेछ ।
गुरनालाई तान्जानियाली लेखकको रूपमा मानिनेछ र त्यही कारण उनको जेलिएको र जटिल परिचयलाई तत्कालै प्रकाशमा ल्याउन अत्यावश्यक छ । गुरना वास्तवमा जनजिबारका हुन् । जनजिबार हिन्द महासागरका टापुहरूको स्वायत्त समूह हो । सन् १९६० को दशकमा बेलायतबाट स्वतन्त्र हुने क्रममा ती टापुहरूलाई तान्जानियामा एकाकार गरियो ।
तथापि मूलभूमि अर्थात् तान्जानियासँग ती टापुहरूको सांस्कृतिक र राजनीतिकरूपमा सधैँ तिक्तता रह्यो । गुरनाले सन् १९६० को दशकमा जन्जिबारमा अरबविरूद्ध राज्यआतङ्कबाट जोगिन आफू बेलायत भागेको स्वीकारेका छन् । ६ महिनाअघि मात्र तान्जानियाको राष्ट्रपति पदमा सामिया सुलुही हस्सन निर्वाचित भएकी छन् । तान्जानियाकी उनी प्रथम महिला राष्ट्रपतिका साथै जन्जिबारबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति उनै हुन् । गुरना र हस्सन दुवैले हामी उपनिवेशवादको प्रभाव भोगेका तर अहिले पनि शक्तिशाली राष्ट्रको दुर्भावनाबाट पीडित रहेका ‘साना ठाउँ’ का मौन बनाइएको इतिहासबारे बुझ्ने अवसर प्राप्त भएको छ ।
गुरनाले काला–बेलायती लेखकको पनि प्रतिनिधित्व गरेका छन् । यो समूहमा बेलायतका पूर्वउपनिवेश देशहरूबाट बेलायत बसाइ सरेका मान्छेहरू छन् । यो समूहका लेखकहरू बसाइसराइ र सांस्कृतिक अन्तर्घुलनको विषयमा लेख्न खोज्छन् । बिनाभिसा बेलायत पुगेका गुरनाको लेखन आफ्नो सम्झनामा केन्द्रित छ । अपनत्व भेटाउन सम्भव नहुनुलाई यो परम्पराको महत्वपूर्ण विशेषता मानिन्छ ।
उदासिनता र घतलाग्दो एक्लोपना नै गुरनाका साहित्यका मूल आत्मा हुन् । उनले भनेका छन्, “एक्लोपना, अलगाव मेरो चिन्तनको लागि मलिलो माटो बन्यो र त्यसैले मलाई आख्यान लेख्न बनायो ।” बेलायतमा बसाइसराइ र त्यहाँ भोगेको नग्न जातिवादबाट विक्षिप्त भएको अनुभव सुनाउँदै उनले भनेका थिए ।
आज सुडानका लेना अबोलेला, नाइजेरियाका चिमामान्दा गोजी अदिची र तेजु कोली, जिम्बाबेका नोभोलेट बुलावायो आप्रवासनको विषयलाई केन्द्रमा लेखनको निम्ति चर्चित छन् । तर, अफ्रिकाबाट पश्चिमको यात्रालाई प्रस्ट र मौलिक शैलीमा सुनाउन सक्ने सुरूका लेखकको रूपमा गुरनालाई मानिन्छ ।

उत्तर औपनिवेशिक उपन्यासकार
गुरनाको पहिलो उपन्यास ‘द मेमोरी अफ डिपार्चर (१९८७)’ प्रकाशित हुँदा उनी झन्डै चालीस वर्षका थिए । त्यत्तिबेलासम्म उनी बेलायतमा लामो समय बिताएर साहित्यमा विद्यावारिधि हासिल गरिसकेका थिए । त्यो उपन्यास कुनै परित्यक्त घरबाट आएजस्तो भान हुन्छ । “म अझै पनि विछोडिंदै थिएँ”, दुई वर्षअघिको एउटा अन्तर्वार्तामा मात्र उनले रजिया इबाललाई भनेका थिए ।
उनको पहिलो उपन्यासको लेखन दशकअघि नै सम्पन्न भएको थियो । तर, हेनेमन अफ्रिकी लेखक शृङ्खलाले त्यो उपन्यास प्रकाशन गर्न अस्वीकार गरेको थियो । उनको त्यो उपन्यास अफ्रिकी वा बेलायती वा डायस्पोरिक कुन हो भन्ने कुरा पत्ता लगाउन सजिलो नभएको हुनाले प्रकाशित नभएपछि मात्र उनले थाहा पाए । केही वर्षपछि प्रकाशित उनको चौथो उपन्यास ‘पाराडाइज’ बुकर पुरस्कारको लागि छनोटमा प¥यो । त्यसपछि भने गुरनाका कृतिहरूले व्यापक पाठक पायो । उनका कृति समालोचकहरूका नजरमा प¥यो ।
गुरनाका कृति पढ्न त्यत्ति सजिलो छैन । उनका पात्रहरू प्रायशः सङ्गतिपूर्ण छैनन् । वियोगले उनीहरू हलुका हुने गरेका छन् । उनका मूल पात्रहरू नै समाजको सीमान्तमा बाँचिरहेका हुन्छन् । उनीहरू अन्तरजातीय प्रेममा परेका हुन्छन् । विस्थापनको भयले उनीहरूको जीवनलाई पछ्याइरहेको हुन्छ । ठाउँको नाम सामान्यतः उल्लेख हुँदैन । कथावाचक कमैमात्र बोल्ने गरेको हुन्छ ।
उनका कृतिमा सघन अन्तरपाठ्य अर्थ (इन्टरटेक्सचुआलिटी) पाइन्छ । त्यसमा साहित्यिक कृतिको मनग्य सन्दर्भ उल्लेख हुने गरेको छ । त्यो बाक्लो जञ्जाल देखेर पाठक तर्सिने गर्छ । गुरनाको लेखनशैली बुझ्न भर्जिनिया उल्फको सामान्य तर विस्तारित वाक्यको तुलना उपयुक्त हुन्छ । “सम्झनाहरूले आफ्नो सियो कहिले भित्र त कहिले बाहिर, कहिले माथि त कहिले तल अनि कहिले यता त कहिले उता दौडाउने गर्छ ।” उनका उपन्यास मनोवैज्ञानिक हुनुका साथै गहिरो संवेगउन्मुख छन् । ती कृतिले हराइसकेका संसारलाई निकै कुशलतापूर्वक व्याख्या गरेका हुन्छन् ।
नोबेल पुरस्कार दिने समितिले उत्तरऔपनिवेशिक साहित्यमा गुरनाको योगदान र उपनिवेशवादको घातक प्रभावको गहिरो खोजको कदर गरेको छ । निश्चय नै यो सत्य हो । तर, उत्तर औपनिवेशक अध्ययनको विशिष्ट खालको प्रिज्ममा परावर्तन गर्नेभन्दा उनका कृति धेरै गुणा सिर्जनात्मक छ । गुरनाका कृतिहरूले सागरलाई इतिहास, परिचय, सम्बन्ध, आत्मीयता र राजनीतिलाई जीवन्त बनाउने माध्यम वा थलोको रूपमा चर्चा गरिएको छ । विशाल तर अझ पनि उत्खनन हुन बाँकी स्वाहिली तट अफ्रिका, एसिया र अरब सम्पदाको समृद्ध मिलन केन्द्र हो र आफ्ना उपन्यासमा गुरनाले त्यही विश्वको चित्रण गरेका छन् ।
“त्यो हिन्द सागरप्रति अपनत्वको भाव अथवा कम्तीमा मैले जानेको त्यो भाग मूलतः इस्लामिक विश्व हो र त्यहाँ इस्लामिक नाम नै चलेको छ । भारत वा हिन्दू संस्कृतिकै कुरा भए पनि त्यहाँ इस्लामिक नामकै प्रयोग हुने गरेको छ । मैले भनेजस्तै त्यो पनि बुझाइको एउटा तरिका हो”, उनले प्राज्ञ तिना स्टीनरलाई भने । “तर, अरू जटिल विषयहरू पनि छन् । त्यो हो बाहिरबाट, विशेषतः पूर्वी अफ्रिकी तट जहाँबाट म आएँ, त्यहाँका मानिसहरूलाई गरिने हिंसाको इतिहास । शोषणको इतिहास ।” त्यसकारण, गुरनाका कृतिमा विशेष चुनौती हुनु र उत्तर औपनिवेशिक साहित्यको पठन र चिन्तनको विशिष्ट तरिका अभिव्यक्त हुनु आश्चर्यको कुरा होइन ।
अर्को महत्वपूर्ण पक्ष भनेको मुसलमान संस्कृतिको काव्यात्मक अभिव्यक्ति हो । गुरनाले इस्लामको विषयमा नै विशेषरूपमा लेखेको वा घोत्लिएको हुनुपर्दैन । तर, उनले संसारभरका मुसलमानलाई लगातार सीमान्तकृत गरेको विषयमा लेखिरहेका छन् । आतङ्कवादविरूद्धको युद्धको प्रभावबाट अझै पनि यी मानिसहरू मुक्त भइसकेका छैनन् । गुरनाका उपन्यासले पाठकलाई स्याहार, मानवता र जटिलताले पोषिएका मुसलमान पात्रहरूलाई भेटाउने गरेको छ ।
अफ्रिकी साहित्य
यो वर्ष उपन्यासको कोठामा हात्ती नै पसेको छ– केन्याका साहित्यकार गुगु वा थिओङको विषयमा चर्को बहस भए पनि उनले पुरस्कार पाएनन् । बरू पूर्वी अफ्रिकाका अर्का लेखकका कृतिले ठूलो ख्याति कमायो । अङ्ग्रेजी भाषा बोलिने देशमा अफ्रिकी साहित्यमा मूलतः दक्षिण अफ्रिका र नाइजेरियाकै बलियो प्रभाव छ । दुई जना अफ्रिकी साहित्यकारहरू जेएम कोटजी र नादेन गोर तथा नाइजेरियाका वले सोयिन्काले नोबेल पुरस्कार पाउनुले पनि यो कुराको प्रस्ट सङ्केत गरेको छ ।
गुगुले अङ्ग्रेजी भाषामा प्रशस्त लेखेका छन् । तर, उनी मौलिक भाषा अक्षुण्ण राख्ने विषयमा प्रतिबद्ध र खुला प्रवक्ता हुन् । उनले आफ्नो मातृभाषा गिकुयुमा धेरै कृति लेखेका छन् । केन्यामा जस्तै तान्जानिया पनि स्वाहिली संस्कृति, साहित्य र शिक्षा जीवन्त छ ।
विरोधाभास क्रमशः सतहमा देखा पर्दै छ । गुरनाले स्वाहिली संस्कृतिको विषयमा लेखे पनि उनले जे लेखे अङ्ग्रेजी भाषामा लेखे । स्वाहिली उनको मातृभाषा भएर पनि उनले अङ्ग्रेजीमै लेखे । नोबेल पुरस्कार समितिले फेरि पनि अङ्ग्रेजी भाषालाई नै प्राथमिकतामा राखेर पुरस्कार दिएको देखियो र त्यही भाषिक दमनको विरोधमा लगातार लड्दै आएको एक जना लेखकलाई भने निरूत्साहित गरेको देखियो ।
तर, नोबेल समितिले दाबी गर्दै आएजस्तै यदि सर्वव्यापी ‘साहित्यिक गुणवत्ता’ ले नै मूल्याङ्कनको आधार भए अब्दुरजक गुरनाजत्ति यो पुरस्कारको निम्ति योग्य पात्र अरू छैन ।
(लेखक प्राज्ञ पनि हुुनुहुन्छ । उनी वारस्पेस म्यागाजिनका सम्पादक हुुनुहुन्छ ।)
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः मेरिना 

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *