भर्खरै :

कालीकोटको शुभकालिकामा नेमकिपाको सम्मेलन

कालीकोट, २५ असोज । नेपाल मजदुर किसान पार्टी शुभकालिका गाउँ समितिको प्रथम गाउँ सम्मेलन असोज २२ र २३ गते सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले गर्नुभयो ।
उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य शाहीले एमसीसी सम्झौताका सर्तहरू नेपालको हितमा नभएको र यो हिन्द प्रशान्त सैन्य रणनीतिकै अभिन्न अङ्ग भएकोले नेपालको परराष्ट्र नीति एवं पञ्चशीलको सिद्धान्तविपरीत भएको प्रस्ट पार्नुभयो ।
शासक दलहरूले सङ्घ तथा प्रदेशको सत्ताको चरम दुरूपयोग गरिरहेको उल्लेख गर्दै उहाँले नेमकिपाले सडक र सदनबाट देश र जनताको पक्षमा निरन्तर आवाज उठाइरहेको चर्चा गर्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले एमसीसी सम्झौताका सर्तहरू प्रस्ट्याउँदै अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूको कुटील चाल असफल पार्न देशभक्त जनता एक हुनुपर्ने र व्यापक जनदबाब सिर्जना गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार नहुनुमा तिनै तहका सरकारहरू जिम्मेवार रहेको बताउनुभयो ।
नेमकिपा दसौँ जिल्ला सम्मेलन तयारी समितिका सचिव खड्गराज शाहीले शासक दलहरूको भागबन्डाको घृणित राजनीतिले जनतामा राजनीतिक वितृष्णा उत्पन्न गराउनुका साथै दलहरू विखण्डनको शिकार बनेको कुरा औँल्याउनुभयो ।
आयोजक समितिका संयोजक धर्मदत्त अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सदस्य पवित्राकुमारी शाही, तिलागुफा नगरपालिकाका वडाध्यक्ष नरेन्द्रबहादुर रोकाया, नेक्राशिसङ्घका पूर्वअध्यक्ष तुलाराम धिताल, सम्मेलन तयारी समिति सदस्य धनञ्जय अधिकारीले सम्मेलन सफलताको कामना गर्नुभएको थियो । धनराम दमाई नेतृत्वको पञ्चेबाजासहितको झाँकीले गाउँ परिक्रमा प्रस्तुति गरेको थियो । सम्मेलनको बन्द सत्रले जनकबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय शुभकालिका गाउँ समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *