भर्खरै :

जोरालको ‘प्रतिपक्षी कलम’ पुस्तक सार्वजनिक

भक्तपुर, २७ असोज । वरिष्ठ लेखक लक्ष्मण जोशी (जोराल) को पुस्तक ‘प्रतिपक्षी कलम’ सार्वजनिक भएको छ ।
‘श्रमिक साप्ताहिक’ मा २०५० देखि २०५५ सम्म प्रकाशित जोरालका लेखहरूको सङ्ग्रह ‘प्रतिपक्षी कलम’ बुधबार स्रष्टा समाजद्वारा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले को विमोचन गर्नुभएको हो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष रोहितले जनताका लेखकहरूलाई उत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जोरालका लेखहरूमा शासकहरूको सैद्धान्तिक तथा नीतिगत आलोचना पाइएको भन्दै सत्ताको आलोचना हुनु देशलाई फाइदा हो भन्नुभयो । उहाँले भन्नुभयो, “पुस्तकमा नायक र खलनायकका तस्बिर छन् ।” श्रमिक र मजदुर पत्रिकामा धेरै प्रतिपक्षी लेखकका लेखहरू प्रकाशित भएको उल्लेख गर्दै अध्यक्ष रोहितले जनताको चिन्तनको स्तर उकास्नु आवश्यक भएको तर्क गर्नुभयो ।
अध्यक्ष रोहितले देशको राष्ट्रपतिको बन्दोबस्त कमजोर भएको भन्दै न्यायपालिकाले राष्ट्रपतिजस्तो सार्वभौम संस्थालाई फलानो व्यक्तिलाई उल्लिखित मितिमा प्रधानमन्त्रीमा नियुक्त गर्नू भन्ने आदेश दिनु गलत भएको विचार राख्नुभयो । उहाँले प्रधानमन्त्री चुन्ने अधिकार संसद्लाई मात्र भएको भन्दै मन्त्रीमा भागबन्डाले न्यायपालिकासमेत शासकहरूको कब्जामा गएको तर्क गर्नुभयो ।
प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा आफ्नो मान्छे राख्नु ठीक थियो भने राजीनामा गराउनु हुन्नथ्यो, बेठीक थियो भने त्यस्तो काम गर्न हुँदैनथ्यो भन्नुभयो । उहाँले शक्तिशाली राष्ट्रपति भएको भए सेना गएर प्रधानन्यायाधीशलाई घेर्ने थियो भन्नुभयो ।
ठूला शासक दलहरू संसद्को पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पुग्नु संसद्को सर्वोच्चताविपरीत भएको उहाँले उल्लेख गर्नुभयो ।
लेखक लक्ष्मण जोशीले नेमकिपाको सिद्धान्त, नीति, विचार र दृष्टिकोण जनतामाझ पु¥याउने उद्देश्यअनुसार लेखन कार्य गरेको स्पष्ट पार्नुभयो । उहाँले ‘स्वान्त सुखाय’ का लागि होइन देश र जनताको सेवा गर्न लेख्नुपर्छ भन्ने मान्यता राखेको उल्लेख गर्दै भन्नुभयो, “मैले जानेर लेखेको भन्दा लेख्दै जानेको तथ्य स्वीकार्छु । नयाँ लेखक साथीहरूले पनि यसलाई मनन गर्ने आशा छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् ‘श्रमिक साप्ताहिक’ का प्रकाशक सरोजराज गोसाईले नेपालको वामपन्थी राजनीतिको इतिहास लेख्नेले जोरालको ‘प्रतिपक्षी कलम’ नपढी हुन्न भन्नुभयो । उहाँले पुस्तकले प्रतिक्रियावादी विचारको खण्डन गरेको भन्दै तत्कालीन राजनीतिक घटनाको चिरफार गरेको धारणा राख्नुभयो । उहाँले पत्रकार सदा सत्ताको प्रतिपक्षमा रहने भन्दै ‘श्रमिक साप्ताहिक’ ले राज्यको चौथो अङ्गको भूमिका निर्वाह गर्ने प्रयास गरेको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् स्रष्टा समाजका सचिव सुरेन्द्रराज गोसाईले आजको नेपाली समाज र नेपाली राजनीतिक डबलीमा देखापरेका सारा बेथिति, खराबी, दुर्गन्ध त्यतिखेर नै थालिएको प्रमाण यस पुस्तकले प्रस्तुत गर्दछ भन्नुभयो । कतिपय लेखकमा ढुलमुले चरित्र, अवसरवादी चिन्तन तथा लेखन र व्यवहारमा तादात्म्यताको अभाव भएको भन्दै जोराल यी समस्याबाट अति टाढा उभिएका लेखक भएको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुन्दर बासीले ‘प्रतिपक्षी कलम’मा सङ्कलित छानिएका रचनाहरूले तत्कालीन राजनीतिक स्थितिमा नेमकिपाको भूमिका, दृष्टिकोण र नेमकिपाबारे विपक्षीहरूको प्रतिक्रिया, धारणा आदि बुझ्न सहज बनाउने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सृजना सैँजूले जोरालको पुस्तक राजनीतिक बेथितिलाई छ्यास्ने हतियार भएको भन्दै पुस्तक अन्याय, शोषण, उत्पीडनविरुद्धको आवाज भएको धारणा राख्नुभयो ।
शिक्षक योगेन्द्रमान बिजुक्छेँले नेपालको राजनैतिक इतिहासमा २०५० देखि ५५ सालसम्मको समयावधि ज्यादै संवेदनशील र महत्वपूर्ण काल भएको भन्दै पुस्तकमा छापिएका आलेखहरूले त्यही समयावधिको राजनैतिक घटनाक्रमको फेहरिस्त प्रस्तुत गरेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति, स्रष्टा समाजका सदस्य एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा स्रष्टा समाजका सदस्य सुशिला कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *