के देशभक्त नेपालीले सिंहदरबार जलाउँछन् ?
- कार्तिक १२, २०८३
असोज २६ गते कर्णालीको मुगु जिल्लामा भएको गाडी दुर्घटनाले सिङ्गो देशलाई शोकाकुल बनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा अधिकांशतः दसैँ मनाउन घर फर्केका विद्यार्थी र भारतबाट फर्केका मजदुरहरू छन् । गाडीको टायर पञ्चर भई भीरबाट खस्दा सो दुर्घटना भएको अनुसन्धानबाट पत्ता लागेको छ । केही दिनअघि घान्द्रुकमा घुम्न गएका विद्यार्थीहरूको सवारी साधन दुर्घटना हुँदा सात जना युवाहरूले ज्यान गुमाएका थिए । दसैँकै समयमा विभिन्न जिल्लामा भएका दुर्घटनामा परी अरू सर्वसाधारण पनि घाइते भएका छन् । सवारी साधनको दुर्घटनालाई सरलरूपमा हेर्दा भवितव्य वा दुर्भाग्यको रूपमा हेरिन्छ । तर, राज्य, नागरिक र व्यवसायीको सचेत प्रयास हुने हो भने त्यस्ता दुर्घटना धेरै हदसम्म रोक्न सकिन्छ ।
कर्णाली राजमार्ग बन्न थालेको दुई दशकभन्दा लामो समय बितिसकेको छ । तर, अझै पनि ‘मृत्यु मार्ग’ को संज्ञा पाएको त्यो राजमार्गले आफ्नो छवि बदल्न सकेको छैन । कर्णाली राजमार्गअन्तर्गत विभिन्न खण्डमा बर्सेनि हुने दुर्घटनामा कमी आएको छैन । अजङ्गका पहाड र नदी छिचोलेर अघि बढ्ने कुनै पनि बाटो बनाउन सहज हुँदैन । तर, राजमार्गका विभिन्न खण्ड बनाउने जिम्मेवारी पाएका ठेकेदारहरूले राजमार्गको निम्ति आवश्यक न्यूनतम पूर्वाधार समेत नबनाउँदा अथवा समयमै जिम्मेवारी पूरा नगर्दा त्यहाँ सडक दुर्घटना नियमित घटनाजस्तै बनेको छ ।
राजमार्गको छेउमा राखिनुपर्ने फलामे सुरक्षा पर्खाल बनाइएको छैन । बर्र्सेनि पहिरो आउने ठाउँमा पहिरो नियन्त्रणको लागि आवश्यक इन्जिनियरिङ प्रविधिको उपयोग भएको छैन । जोखिमपूर्ण राजमार्गमा यात्रा गर्ने सवारी साधन प्राविधिकरूपमा कति चुस्त दुरूस्त छन् र सवारी साधन हाँक्ने चालक र यातायात मजदुरहरू कति सक्षम छन् भन्ने कुराको मापन र अनुगमन गर्ने दायित्व राज्यको हो । तर, राज्य त्यस्ता जिम्मेवारीबाट च्युत भएको छ । सवारी साधनमा कति यात्रु राख्ने र कस्तो अवस्थाका सवारी साधन सञ्चालन गर्न दिने भन्ने विषयमा राज्यका निकायले प्रभावकारी भूमिका खेल्न नसक्दा मुगुमात्र होइन, देशका अन्य जिल्लाहरूमा पनि यही समयमा यस्ता दुर्घटना भएका छन् ।
यातायात व्यवसायीहरूले पनि नाफाको निम्ति विशेषतः चाडबाडको बेलामा खराब अवस्थाका गाडी समेत प्रयोगमा ल्याउँदा यस्ता दुःखद घटना हुने गरेका छन् । थोत्रो गाडीलाई सामान्य रङरोगन र केही मर्मत गरेर यात्रु बोक्न दुर्गम क्षेत्रमा चलाउने गरेको कुरा सरकारी निकायलाई पनि राम्ररी थाहा छ । तथापि, सरकार र यातायात व्यवसायीबीचको मिलेमतोमा यस्ता अपराधमा तैँ चुप मै चुप हुने गरेको छ ।
दसैँको मुखमा यस्ता दुर्घटना यो पहिलो पटक भएको होइन । हरेक वर्ष यस्ता नमीठा समाचार आउने गरेका छन् । विगतमा भएका दुर्घटनाबाट पाठ सिकेर त्यस्ता घटना हुन नदिन राज्यका निकायहरूले जिम्मेवारीपूर्वक काम गर्न सकेनन् । बरू, दुर्घटनालाई भवितव्य मान्ने गल्ती राज्य आफैले गर्दा यस्ता घटनाको पुनरावृत्ति भइरहेका छन् ।
नागरिकको जीवन रक्षा गर्ने दायित्व राज्यको हो । दुर्घटना भएपछि सरकारले क्षतिपूर्ति दिनु, शासकहरूले शोक वक्तव्य जारी गर्नु गोहीको आँसुमात्र हो । त्यसले नागरिकको दुःखमा कति पनि मल्हम लाग्दैन । त्यसको सट्टा राज्यले राजमार्गको स्तरोन्नति, सवारी साधनको स्तर वृद्धि र सवारी चालकहरूको दक्षतामा जोड र कडाइ गर्न आवश्यक छ । सरकार र शासक दलका नेताहरूको गोहीको आँसुले जनताले भोगेको वियोगलाई कदापि पुछ्न सक्दैन ।
Leave a Reply