भर्खरै :

संसद् अवरोध अझै चालू हुने सङ्केत !

काठमाडौँ, ४ कार्तिक । संसद् अवरुद्ध छ तर यो नयाँ घटना होइन । प्रतिपक्षीमा बसेका नेका, एमाले, माओवादी, जसपा, लोसपा सबैले संसद् अवरुद्ध गरेकै हुन् । यी पार्टीहरूले संसद् अवरुद्धलाई राष्ट्रिय सङ्कट ठानेका छैनन् । यसकारण, सभामुख अग्निप्रसाद सापकोटाले गृहगाउँ कुभिन्डो दुग्ध उत्पादक सहकारी संस्थाको वार्षिक साधारणसभामा संसद् अवरुद्ध राष्ट्रिय सङ्कट बताएको समीचीन छैन । संसद्ले देश र जनताको हितमा कुनै नीति, बजेट र विधेयक पारित गर्न सकेन । राष्ट्रिय सङ्कट त सर्वसाधारण जनताको निम्ति हो ।
सो कार्यक्रममा सभामुख सापकोटाले ‘कसैको दबाब र प्रभावमा निर्णय नगर्ने’ उल्लेख गर्दै एमालेबाट अनुशासन कारबाहीमा परेका माधवकुमार नेपाललगायत १४ सांसदको स्थान रिक्त नहुने सङ्केत गरे । सभामुख सापकोटाले आफू र प्रम देउवा संसद् अवरोध हटाउने प्रयासमा लागेको पनि दोहो¥याए । घुमाउरो भाषामा सभामुख सापकोटाले संसद् अवरोध गरेको एमालेलाई ‘मूर्ख’ भएको आरोप पनि लगाए । तर, एमालेले गरेको संसद् अवरोध १४ जना सांसदकै स्थान रिक्त वा सभामुख स्वयम्को राजीनामा नभएसम्म संसद् अवरोध हट्ने अवस्था छैन ।
केही दिनयताको वर्षालगत्तै देशको विभिन्न भागमा पहिरो र डुबान भएपछि भित्याउनै लागेको अर्बौँ रूपैयाँको धानबाली र अन्य भौतिक संरचनाको क्षति भयो । प्रम देउवा आफ्ना केही मन्त्री र नेतासहित हेलिकप्टरमा स्थलगत अध्ययन गर्न गए । नेपालमा विपत्तिसँगै सरकारका प्रम र मन्त्रीहरूको स्थलगत अध्ययन हुन्छ तर पीडितको उद्धार, राहत, उपचार र बेपत्ताको खोजीमा तदारुकता हुँदैन । बरु भ्रमणमा भ्रष्टाचार हुने यस पटक पनि दोहोरिने छ ।
राष्ट्रपतिको भ्रमण राजाको जस्तै !
राष्ट्रपति विद्यादेवी भण्डारी कार्तिक ३ गते भक्तपुरको नवदुर्गा मन्दिरमा पुगिन् । पञ्चायती राजतन्त्रको बेला बहुदलवादीहरूलाई हाँक दिन तत्कालीन राजाहरूले थालेको मन्दिर भ्रमणलाई गणतन्त्रका राष्ट्रपतिले चालू राख्नु राजसम्राटको लक्षण नै भएको जनगुनासो छ ।
नवदुर्गाका बनमालाहरूले २०७६ सालमा भक्तपुर जिल्ला समन्वय समितिको प्राङ्गणमा गरिएको पूजा खर्च १ लाख ४४ हजारमध्ये ८५ हजार रूपैयाँमात्र प्राप्त भएको राष्ट्रपतिसँग गुनासो गरे । यसले त्यसबेला पूजा व्यवस्थापनमा लागेका सत्तापक्षीय सांसद, जिससका प्रतिनिधि र संलग्न उद्यमी व्यवसायीहरूको नैतिकताप्रति प्रश्न तेस्र्यायो । राजाको भ्रमणमा हुने भ्रष्टाचार राष्ट्रपतिको भ्रमणमा पनि दोहोरिएको हुँदा पञ्चायतकै पदचिह्नमा गणतन्त्रलाई हिँडाइएको पुष्टि भयो ।
एमाले डम्पिङसाइट किन होइन ?
माओवादीले अनुशासनहीन चार जना सांसद–टोपबहादुर, लेखराज, प्रभु साह, गौरी शङ्कर चौधरीलाई कारबाही गरी स्थान रिक्त गरायो । यसमा सभामुखको सहयोगी भूमिका भयो । एमालेले आफ्ना अनुशासनहीन सांसदलाई समयमै कारबाही गरी स्थान रिक्त गर्न विलम्ब ग¥यो । यसमा सभामुखको भूमिका पनि ‘सहयोगी’ भएन ।
एमाले अध्यक्ष ओलीले ‘१० बुँदेको एकतारे नबजाउन’ सांसद भीमबहादुर रावल, घनश्याम भुसाललगायतलाई सचेत गराए । एमाले सांसद रावलले ओलीलाई जवाफ दिए– ‘१० बुँदे सहमति पार्टी एकता बचाउने ११ तारे विगुल हो ।’ एमालेका अर्का सांसद भुसालले ‘१० बुँदेको अस्वीकार ओलीको मनोवैज्ञानिक समस्या’ बताए ।
ओलीले माधवकुमार नेपाललाई ‘कुहेको आलु’ भएको हुँदा प्रवेश निषेध गरेको उल्लेख गर्दै बाटो विराएका अन्यलाई योगदानअनुसार समितिमा राख्ने बताए । ओलीले भने, “एमाले डम्पिङसाइट होइन, बञ्चरे डाँडा होइन ।” तर, सांसद भुसालले ओलीलाई ‘मनोवैज्ञानिक समस्या भएको’ बताएको चानचुने हाँक होइन ।
एमालेले अनुशासनहीन र नेतृत्वमाथि हमला गरेका सांसद र अन्य पार्टीविरोधी काममा संलग्न भएकालाई कारबाही गर्न विलम्ब गर्नुले ‘डम्पिङसाइट’ र ‘बञ्चरे डाँडा’ नै साबित हुनु हो । एमालेले सिद्धान्तहीन गठबन्धन गरेर धेरै स्थानमा जितेको र फेरि पनि उही बाटो समाउनेतर्फ लागेकोले नै अहिलेको अराजकता देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *