भर्खरै :

एएफसी यू–२३ एसियन कप छनोट फूटबल : नेपाल इरानसँग पराजित

काठमाडौँ, ८ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोट फूटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा सोमबार भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७ औँ मिनेटमा मेहदीले गोल गर्नुभएको थियो । त्यस्तै इरानका होसेनले खेलको ७७ औँ र ७९ औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाउनुभएको थियो । यासिनले इन्ज्युरी समयको चौँथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए । जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अङ्क जोडेको छ भने नेपाल अङ्कविहीन छ ।
नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जून १ देखि १९ सम्म हुने तालिका रहेको छ । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *