भर्खरै :

सरकार संविधानको पालनकर्ता र जवाफदेही बन्नुपर्ने

सरकार संविधानको पालनकर्ता र जवाफदेही बन्नुपर्ने

भक्तपुर, १ असार । २ वडा युवा तथा खेलकुद समितिको आयोजनामा वडाका खेलाडीहरूको भेटघाट तथा सम्मान कार्यक्रम भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा मेयर प्रजापतिले खेलाडीहरू त्याग, तपस्या, धैर्यता र इमानदारीताले नै सफल हुने बताउनुभयो । उहाँले गल्तीबाट पाठ सिकेर पुनः त्यस्ता गल्तीहरू नदोहो¥याउने र खेलकुदका नयाँ नयाँ नियमसम्बन्धी अपडेट भएको हुनुपर्ने बताउनुभयो । खेलकुदमा खेलाडीहरूले नयाँ पुस्ता तयार गर्नुपर्ने बताउँदै कति खेलाडीहरू तयार हुँदै छन् र आफूले बनाउँदै छु भन्ने कुरा ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । युवा उमेरले होइन विचारले हुने औँल्याउँदै उहाँले नयाँ विचार र सिद्धान्तनिष्ठ मानिस देशको लागि आवश्यक रहेको बताउनुभयो । जवाफदेही, संविधान र कानुनको पालना गर्ने सरकार नै जनताको असल शासक हुने उहाँले बताउनुभयो । विदेशी शक्तिको सेवा गर्ने प्रतिस्पर्धाले नेपालमा धेरै लेण्डुपहरू भइसकेको बताउँदै उहाँले जनता सजग हुनुपर्ने स्पष्ट पार्नुभयो ।
नगर खेलकुद समितिका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले गलत नेतृत्वले सम्पूर्ण समाज र क्षेत्रलाई नै पछाडि धकेल्ने भएकोले खेलाडीहरू त्यस्ता गलत उद्देश्य प्राप्तिको लागि जान सक्ने सम्भावनालाई कम गर्न राजनीतिक रूपमा सचेत हुनुपर्ने आँैल्याउनुभयो । विभिन्न समयमा खेल कूटनीतिले ठुला ठुला युद्ध तरेको स्मरण गर्दै खेलकुद र खेलाडीको भूमिका अहम् रहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका २ वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेतृत्वको महत्वबारे चर्चा गर्दै त्यसले खेल्ने भूमिकाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताउनुभयो । नगरपालिकाबाट सञ्चालित देको मिबा इतापाके जग्गा एकीकरणको खोला मापदण्डसम्बन्धी गलत हल्ला फैलाइरहेकोले सत्यतथ्य जानकारी वडा र आयोजनाबाट दिइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी २ वडा एकाइ समितिका प्रतिनिधि गणेशप्रसाद सुवालले खेल सँगसँगै पढाइलाई पनि निरन्तरता दिन सके मात्र जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । सफा राजनीतिले मात्र सम्पूर्ण समाजलाई माथि उठाउन सक्ने भएकोले खेलाडीहरू सही राजनीति चिन्न अध्ययन गर्नुपर्ने बताउनुभयो ।
जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले खेलाडीहरू प्रारम्भिक रूपमा वडा, नगरपालिका, अञ्चल, प्रदेश हुँदै देशकै प्रतिनिधि भएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने बताउँदै साहसी, दुःख पीडा सहन सक्ने, पसिना चुहाउन तत्पर आँटिलो व्यक्ति नै देशको जर्सी लगाउन सफल हुने बताउनुभयो । जेनजीको आडमा बनेको अहिलेको सरकारले खेलकुदमा बजेट घटाउनु र एउटा खेललाई मात्र अगाडि बढाउन खोज्नु युवाको भावनाविपरीत भएको उहाँले बताउनुभयो ।
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले जुनसुकै क्षेत्रमा पक्षपात हुने भएकाले खेलाडीहरू त्यस्ता पक्षपात, हेलाहोचोविरुद्ध आवाज उठाउन राजनीतिक र सैद्धान्तिक ज्ञान हुनुपर्ने बताउनुभयो ।
टेबुलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले खेलाडीको मुख्य जग स्थानीय वडा भएकोले जग बलियो बनाउन खेलाडी र सरोकारवालाहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।
२ वडा युवा तथा खेलकुद समितिका अध्यक्ष पुण्यराम स्वंगमिखाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडाबाट प्रतिनिधि भई खेलकुदमा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथिबाट सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा देशव्यापी अन्तर वडा टेबुलटेनिस प्रतियोगितामा कास्य पदक जित्न सफल वडाका खेलाडीहरू, महिला शारीरिक सुगठनमा धर्मश्री पदक विजेता तारा सुवाल र भक्तपुर नगरव्यापी वडाकप फुटसल प्रतियोगितामा सेमीफाइनलसम्म सफल खेलाडीहरू भएको जानकारी समितिका उपाध्यक्ष अजेन्द्रकुमार लघुले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *