भर्खरै :

खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकोले अध्ययनसँगै खेलकुदमा पनि निरन्तर लाग्नुपर्ने

खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकोले अध्ययनसँगै खेलकुदमा पनि निरन्तर लाग्नुपर्ने

भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा विभिन्न ६ वटा खेलकुद प्रशिक्षणमा सहभागी भई एसईई २०८२ मा उत्तीर्ण भएका ४० जना खेलाडीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहभागी खेलाडीहरूलाई आगामी शैक्षिक तथा खेलकुद यात्राका लागि शुभकामना दिँदै अध्ययन र खेलकुदलाई सँगसँगै अगाडि बढाउन प्रेरित गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले खेल र शिक्षालाई सँगसँगै अगाडि बढाउन समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकोले अध्ययनसँगै खेलकुदमा पनि निरन्तर लाग्नुपर्ने बताउनुभयो । प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै जिम्मेवार र व्यावहारिक नागरिक बन्न विद्यार्थीहरूलाई उहाँले प्रेरित गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले विद्यार्थीलाई अनुशासित, मेहनती र जिम्मेवार बन्न आग्रह गर्दै ज्येष्ठ तथा वरिष्ठहरूको सम्मान गर्नुपर्ने बताउनुभयो ।
उहाँले निरन्तरको प्रयास, लगनशीलता र सकारात्मक सोचले समाजमा आफ्नो स्थान स्थापित हुँदै जाने उल्लेख गर्नुभयो ।
खेलकुद केवल प्रतिस्पर्धा नभई सम्मान, प्रतिष्ठा र पहिचान कमाउने माध्यम भएकोले खेलमार्फत आफ्नो, परिवार तथा नगरको गौरव बढाउन खेलाडीहरूलाई प्रेरित गर्नुभयो ।
प्रमुख प्रजापतिले राष्ट्रियता, स्वाभिमान र देशप्रेमको भावना बलियो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले देशको सीमा, राष्ट्रिय हित र सार्वभौमिकताको संरक्षण राज्यको मात्र नभई सचेत नागरिकको पनि दायित्व भएको धारणा राख्दै प्रधानमन्त्रीले प्रतिनिधिसभामा सीमासम्बन्धी अभिव्यक्ति दिँदै नेपालले पनि भारतको सिमाना मिचेको अभिव्यक्तिले नेपालको सार्वभौमिकता तथा कूटनीतिक अडानलाई कमजोर बनाउन सक्ने बताउनुभयो ।
विशेष गरी युवा विद्यार्थीहरूले शिक्षा, ज्ञान, अनुशासन र जिम्मेवार नागरिकताको माध्यमबाट राष्ट्रको हित र पहिचान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सहज र सजिलो बाटो रोज्नेभन्दा चुनौतीपूर्ण कार्यलाई आत्मसात् गर्ने व्यक्ति नै जीवनमा अगाडि बढ्ने बताउँदै उहाँले एसईईपछि कुन विषय अध्ययन गर्ने र भविष्यमा के बन्ने भन्ने स्पष्ट लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । आफूले रोजेको क्षेत्रमा गहिरो अध्ययन, निरन्तर अभ्यास र मेहनतमार्फत विशेषज्ञता हासिल गर्न सके मात्र प्रतिस्पर्धी युगमा सफल हुन सकिने उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुदले युवापुस्तालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नयाँ पुस्तालाई सही दिशातर्फ मार्गदर्शन गर्न खेलकुद गतिविधिमा जोडिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले खेलकुदलाई सर्वसाधारणको पहुँचमा पु¥याउन स्थानीय तहले आवश्यक पूर्वाधार विकास, प्रशिक्षण तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रशिक्षक विनोदचरण रायले विद्यार्थी जीवनमा शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्नेमा
जोड दिँदै उहाले “पढ्नेले खेल्नुपर्छ, खेल्नेले पढ्नुपर्छ” भन्ने अवधारणाले नै समग्र व्यक्तित्व विकास सम्भव हुने बताउनुभयो ।
उहाँले नेपालका ७५३ स्थानीय तहमध्ये खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिँदै योजनाबद्ध रूपमा लगानी र पूर्वाधार विकास गर्ने स्थानीय तहका रूपमा भक्तपुर नगरपालिका परिचित रहेको उल्लेख गर्नुभयो  ।
नगर प्रमुख प्रजापतिले एसईई २०८२ मा उत्तीर्ण खेलाडी विद्यार्थीहरूलाई फूलमाला लगाई सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *