भर्खरै :

ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु

ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु

भक्तपुर, ५ असार । विद्यार्थीहरूको शैक्षिक विकासका साथै शारीरिक र मानसिक तन्दुरुस्तीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । कलेजको खेलकुद सर्कल र एसक्यूसी (SQC) को संयुक्त आयोजनामा सञ्चालित उक्त प्रतियोगिता असार ०७ गतेसम्म चल्नेछ ।
कलेज प्राङ्गणमा आयोजित एक विशेष समारोहकाबिच कलेजको कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स विभागका सह–विभागीय प्रमुख नरेश खत्रीले खेल निर्णायक (रेफ्री) लाई बास्केटबल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको पहिलो दिन बिहीबार बास्केटबलतर्फका पाँच वटा खेलहरू सम्पन्न भएका छन् । कलेजका विभिन्न सङ्काय र ब्याचका विद्यार्थीहरू सम्मिलित टोलीहरूबिच प्रतिस्पर्धात्मक खेल भएको खेलकुद सर्कलका संयोजक विवेक आचार्यले बताउनुभयो ।
विद्यार्थीहरूलाई मानसिक तनावबाट मुक्त राख्न, नेतृत्व क्षमताको विकास गराउन र सामूहिक भावना (टीम वर्क) अभिवृद्धि गर्न खेलकुद प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्न वातावरण मिलाइदिएकोमा उहाँले कलेज प्रशासनप्रति धन्यवाद व्यक्त गर्नुभयो । कलेज प्रशासनले खेलकुदलाई पाठ्यक्रमकै एक अभिन्न हिस्साका रूपमा लिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको आचार्यको भनाइ थियो ।
प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार अन्य चरणका बास्केटबल र ब्याडमिन्टन खेलहरू सञ्चालन हुनेछन् भने फाइनल खेल आगामी आइतबार भव्य रूपमा सम्पन्न हुने आयोजक सर्कलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *