भर्खरै :

नेपाल र भारतको सम्बन्ध प्राचीन हो

हालै भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतले शक्ति हासिल गर्ने चीनको विश्वस्तरीय महत्वाकाङ्क्षाका कारण दक्षिण एसियाको स्थिरतामाथि ‘सर्वव्यापी खतरा’ बताए ।
उनले बताए, “एक उदाउँदो विश्व शक्तिको रूपमा आफ्नो स्थितिलाई बलियो बनाउन चीन दक्षिण एसिया र हिन्द महासागरमा आफ्नो उपस्थिति व्यापक बनाउँदै छ ।”
जनरल विपिन रावतले उक्त कुरा ६ कार्तिकको दिन ‘प्रथम रविकान्त सिंह मेमोरियल’ को आयोजनामा भएको एक कार्यक्रममा बोलेका थिए । कार्यक्रमपछि पत्रकार सम्मेलनमा पनि रावतले बताए, “चीनसँगको सीमा विवादलाई समग्रतामा हेर्नुपर्छ । लद्दाख सेक्टर वा पूर्वोत्तरका राज्यसँग मात्रै जोडिएको भन्नुहुन्न । पहिला पनि दुई देशबीच थुप्रै विवाद थिए जसलाई कुराकानीमार्फत सुल्झाइएको थियो ।”
संसारमा अहिले चीनको भौतिक विकास र आध्यात्मिक विकासबारे सबभन्दा बढी इष्र्या र विरोध गर्ने पुँजीवादी शक्ति अमेरिकी साम्राज्यवाद हो । अमेरिकालाई नै उपनिवेश बनाउने बेलायती साम्राज्यवाद र अमेरिका अहिले एकगठ छन् । त्यसको कारण भारतको पूर्वउपनिवेशवादी शक्ति बेलायतमार्फत भारतको सम्बन्ध संरा अमेरिकासँग जोडिएको छ ।
बेलायती साम्राज्यवादले देखिने गरी भारत छोडेको ७० वर्ष नाघ्यो । तर, भारतमा बेलायती र अमेरिकी पुँजी घटेको छैन, साथै २०० वर्षसम्म बेलायतले उपनिवेश बनाएको भारतको प्रशासन, सेना, प्रहरी र गुप्तचर विभाग एवम् शिक्षा र संस्कृतिमा समेत बेलायत र पश्चिमी प्रभाव गहिरो छ । यसको महत्वपूर्ण प्रमाण शिक्षा क्षेत्र र प्रशासनमा आजपनि अङ्ग्रेजी भाषाको ठूलो प्रभाव छ । अङ्ग्रेजी भाषा पनि भारतको सरकारी भाषा हो ।
त्यस्तै, उद्योग र व्यापारमा समेत बेलायत र पश्चिमी प्रभाव कम छैन, नाम भारतीय कम्पनी हुन्छ तर त्यसको मालिक वा हिस्सा विदेशीको हुन्छ । यस अर्थमा आर्थिक र सांस्कृतिकरूपले कुनै देश स्वतन्त्र छैन भने त्यो देश अर्धउपनिवेश वा नवउपनिवेश मानिन्छ । शासक र शासन भारतेली पुँजीपति वर्गको हिमायतीहरूले गरेको भएपनि हित भनेको पश्चिमको हुँदै आएको छ । सांस्कृतिक वा बौद्धिक दासता वा दरिद्रता आर्थिकभन्दा गम्भीर र भयङ्कर हुन्छ । पूर्वउपनिवेश देशहरूमा एउटा औपनिवेशिक संस्कारबाट पालित–पोषित तत्वहरू राजनीतिक दलहरू, विश्वविद्यालय, सरकारी प्रशासनको माथिल्लो तह, सेना, प्रहरी र गुप्तचर विभागका माथिल्ला तहमा समेत जुकाजस्तै टाँसिएका हुन्छन् । यसबाट जसरी हङकङ बेलायती प्रभावबाट मुक्त हुन सकेन त्यस्तै थाइवानमा पनि अमेरिकी संस्कार खचाखच भरिएको छ । चीनमा पनि १४ देशले अर्धउपनिवेश बनाएका क्षेत्रहरू हुँदा क्रान्तिको आँधीबेहरीले कम भए पनि त्यसको असर बाँकी रहन बेर छैन । अर्को उदाहरण, बेलायतले ल्हासा कब्जा गरेको कारण तिब्बतमा पनि बेलायती प्रभाव भयो । दलाई लामा र तिब्बतका दास मालिकहरू भागेर भारत पसे र त्यहाँ दलाई लामाको प्रवास सरकार चलाउन अमेरिकी गुप्तचर विभागले हरेक साल बजेट दिइरहेको जगजाहेर छ ।
चीनको विकास र शक्तिबारे तर्सिरहेका पश्चिमेलीहरूको निम्ति बेलायती लेखक मार्टिन जाक्वीस  को ‘चीनले संसारलाई शासन गर्दा’ पुस्तकको शीर्षकले धेरैलाई तर्सायो र आक्रोशित तुल्यायो । जब पुस्तक हेरियो, त्यसैबेला एक शक्तिशाली देश भएर पनि चीनले इतिहासमा अरू देशमाथि शासन गरेको कुनै घटना नभएको प्रस्ट भए ।
तर, भारतमा बेलायती औपनिवेशिक संस्कार र संस्कृतिको कारण श्रीलङ्का, पूर्वी पाकिस्तान, सिक्किम र नेपालमा समेत भारतीय सेना पठाइएको थियो र छ । भारतको पाकिस्तानसँग पटक–पटक लडाइँ भयो । नेपालको ७० भन्दा बढी ठाउँमा भारतले सीमा मिचेको छ, भारत त्यसबारे छलफल गर्न तयार भएन । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले आफ्नो सेना राख्यो र अहिले तिब्बत पस्न गुञ्जी–लिपु भन्ज्याङ् सडक निर्माण गरी आफ्नै रक्षामन्त्रीबाट उद्घाटन गरायो, नेपाललाई थाहै दिएन । तर, जनरल रावतले आफ्नो अभिव्यक्तिमा ‘चीनले बङ्गलादेश र म्यानमारमा ठूलो सैन्य सहायता दिएको’ बताए । उनले भने– “चीनले दक्षिण एसिया र हिन्द महासागरमा आफ्नो व्यापक उपस्थिति बनाउँदै छ ।”
तर, सच्चाइ के छ भने वर्षौँदेखि भारतको विशाखापटनममा तैनाथ अमेरिकी जलसेना र पनडुब्बीले एसियाको दक्षिण महादेशमा गस्ती गर्छ । जनरल रावतले चीनको प्रभाव कम गर्न भारतले छिमेकीहरूसँग संवाद अगाडि बढाउन आवश्यक ठानेका छन् । हेरौँ– व्यवहारमा नेपालसँग भारत विविध विषयमा वार्ता गर्छ वा गर्दैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *