भर्खरै :

‘स्तालिनसँग’ पढ्दा

गत साता ‘श्रमिक’ साप्ताहिकमा पुँजीवादी ‘राजनेता’ विन्स्टन चर्चिलको धारावाहिक जीवनीको प्रकाशन टुङ्गिएको छ । एकजना जिज्ञासुको प्रश्न थियो – ‘हाम्रो पत्रिकामा पुँजीवादी नेताको जीवनी किन छाप्नुप¥यो होला ?’ यो प्रश्नको उत्तर हालै पत्रकार समाज नेपालले प्रकाशित गरेको अनुदित पुस्तक ‘स्तालिनसँग’ ले राम्ररी दिन्छ । उत्तर सजिलो छ – उज्यालोको महत्व थाहा पाउन अँध्यारो चिन्नैपर्छ । स्तालिनको जीवनकालमा तत्कालीन पुँजीवादी र साम्राज्यवादी ‘राजनेता’ हरू के गर्दैै थिए भन्ने बुझेपछि हामी सोभियत समाजवादको महत्व थाहा पाउँछौँ । स्तालिनको समयबारे बुझेपछि मात्र उहाँको योगदानको ओज महसुस गर्न सकिन्छ । स्तालिनका अङ्गरक्षक ए. टी. रेबिन यसकारण स्तालिनलाई ‘उहाँकै समय’ को आँखाले हेर्नुपर्नेमा जोड दिन्छन् ।
स्तालिन कस्तो समयमा सोभियत सङ्घको नेता हुनुहुन्थ्यो ? केही वर्षअघि वर्कर्स पब्लिकेसन्स्ले प्रकाशित गरेको ‘गुप्त दस्तावेज’ ले यसमा धेरै प्रकाश छरिसकेको छ । रेबिनको पुस्तक ‘स्तालिनसँग’ ले त्यसमा थप तथ्यहरू थपेको छ । रेबिनको पुस्तक मूलतः स्तालिनवरिपरि घुम्छ । किरोभको हत्याताका धेरैजसो महत्वपूर्ण नेताहरू मोटरसाइकलमा हिँड्थे । आफूलाई महत्व नदिने बोल्शेविकहरू ज्यान फालेर काम गर्थे । कतिपय नेता र कार्यकर्ताहरू भोक र रोगले मरेका थिए । कतिलाई विरोधीहरूले षड्यन्त्रको सिकार बनाएका थिए । लेनिनको हत्या गर्ने प्रयास पार्टीभित्रकै त्रोत्स्की र बुखारिनहरूको गुटले गरेको थियो । अन्ततः यस्तै षड्यन्त्रको घाउले लेनिनको निधन भयो । विरोधीहरू कति चालू र सक्रिय थिए भने उनीहरूले लेनिनकी पत्नी नादेज्दा क्रुप्सकायालाई पनि आफ्नो चिप्लो वैचारिकीको प्रभावमा पारे । पछि मात्र क्रुप्सकायाले पार्टीमा स्तालिनको पक्ष लिनुभएको थियो । त्यति मात्र होइन, पछि विरोधीहरूको यस्तै चालले गर्दा स्तालिनकी पत्नीले पनि आत्महत्या गर्नुभएको रेबिनको पुस्तकमा औँल्याइएको छ ।
केही नेपाली युवाहरूले त्रोत्स्कीहरूमाथि ‘दमन’ गरेको, गोर्की लगायतका लेखकहरूलाई रुष्ट पारेको (कतिपयले हत्या गरेको) भनी स्तालिनलाई गाली गरेको सुनिन्छ । रेबिनको पुस्तकले साम्राज्यवादी मिडियाले पिट्ने यस्ता हल्लाहरूको खण्डन गरेको छ । पुस्तकले वास्तविक दोषीहरूलाई बाहिर ल्याएको छ । विरोधी गुट बोल्शेविक सत्तालाई बलियो बनाउने सबैलाई मार्न चाहन्थ्यो । लेनिनका सहयोगी एवम् क्रान्तिकारी प्रशासक जेरझिन्स्की, गुप्तचर प्रमुख मेन्झिन्स्की, क्रान्तिकारी लेखक तथा साहित्यिक कार्यकर्ता गोर्कीजस्ता प्रतिभाहरूलाई पनि विरोधीहरूले बाँकी राखेनन् । पुस्तकमा गोर्कीको हत्याबारे स्पष्ट वर्णन छ । त्यस्तै, सोभियत सत्ता लामो समय टिक्न नसक्ने रुसी सुरक्षा निकायका उच्च पदस्थहरूको आकलनको दुरुपयोग जर्मन गुप्तचर निकायले गर्छ । यी अधिकारीहरू सोभियत सत्ताविरुद्ध षड्यन्त्रमा सहभागी हुन्छन् । यस्ता अधिकारीमध्ये कतिपय जारकालीन अधिकारी र शोषकहरूकै छोराछोरी हुन्छन् । ढुलमुले सुरक्षा अधिकारीहरू इमानदार बोल्शेविकहरूको हत्यामा लाग्छन् । यस्तै कर्मचारी थिए एझोभ । उनले त्रोत्स्की र बुखारिनको गुटसँग साँठगाँठ गरेका थिए । बोल्शेविकविरोधी गुटलाई नष्ट गर्ने नाममा उनले धेरै इमानदार बोल्शेविकहरूको हत्या गरे । स्तालिनको ध्यान त्यतिबेला देशको औद्योगिक विकासतिर थियो । खासमा प्रथम विश्वयुद्धबाट थलिएको साम्राज्यवादी विश्व तङ्ग्रिनेबित्तिकै सोभियत सङ्घमाथि खनिने बोल्शेविकहरूको अनुमान थियो । यो अनुमान निराधार थिएन । विन्स्टन चर्चिललगायत साम्राज्यवादी नेताहरूले यसप्रकारको युद्धको हुङ्कार गरिरहेका थिए । यस्तोमा स्तालिनले सामूहिक नेतृत्वमा बढ्ता विश्वास गर्नुभएको रेबिनले पुस्तकमा उल्लेख गरेका छन् । एउटा व्यवस्थाको जग हाल्न नेताले नियमको अदबमा बस्नैपर्ने हुन्छ । यस्तो गर्दा एझोभहरू पनि जन्मिन सक्छन् । शान्ति व्यवस्था हुन्थ्यो भने एझोभहरू समातिन सक्थे । तर, तत्कालीन सोभियत सङ्घमा कसलाई मित्र भन्ने, कसलाई शत्रु भन्ने भनी ठम्याउनै धौधौ थियो । यस अर्थमा ढिलै भए पनि एझोभहरूमाथि कारबाही हुनाले बढी क्षति हुनबाट देश जोगियो । रेबिन एझोभका कर्तुतहरूको छानबिन समितिका सदस्य थिए ।
दोस्रो विश्वयुद्धभन्दा अगाडि नै सोभियत सत्ता ढाल्ने जर्मन खेल सफल हुन सकेन । किरोभको हत्यापछि बिस्तारै धेरै रहस्य खुले । तीनवटा मस्को इजलासले विश्वासघातीहरूलाई कारबाही ग¥यो । त्यति नगरेको भए विश्वयुद्धमा सोभियत सङ्घ भताभुङ्ग हुने थियो भनेर स्वयम् पुँजीवादी विश्वका युद्धविद्हरूले भनेका छन् । रेबिनको पुस्तकले दोस्रो विश्वयुद्धमा लालसेना, जनरल झुकोभ र स्तालिनलाई केन्द्रमा राखेर जुन वर्णन गरेका छन्, त्यो मार्शल झुकोभको आत्मसंस्मरणसँग पनि मेल खान्छ । यसबाट रेबिनको पुस्तकको आधिकारिकता पुष्टि हुन्छ । स्तालिन युद्धबारे सकेसम्म धेरै जानकारी राख्नुहुन्थ्यो, वाहियात सल्लाह वा चाप्लुसीले धरमरिनु हुन्नथ्यो, विज्ञहरूका सल्लाहबारे विचार गर्नुहुन्थ्यो । त्यसैले जनरल झुकोभले भनेकै छन्, “सेनापति स्तालिनले नै प्रत्येक चालको निर्देशन गर्नुभएको हो, प्रत्येक निर्णय लिनुभएको हो । उहाँ अहिलेसम्मकै सबैभन्दा बुद्धिमान र महानतम् सैन्य प्रतिभा हुनुहुन्छ ।”
कर्मचारीतन्त्र रुढीवादी हुनेगर्छ । यसकारण, कम्युनिस्ट अगुवाहरूले बेलाबेला क्रान्तिकारी कर्मचारीतन्त्रबारे कुरा उठाउने गर्नुहुन्छ । सोभियत कर्मचारीतन्त्रमा पनि यस्तै समस्या थियो । यो समस्या खतराको तहमा थियो । कर्मचारीतन्त्रमा पुरानो सत्ताको अवशेष थियो । त्यहाँ क्रान्तिकारीको ज्यानै लिन पनि पछि नपर्ने हत्याराहरूको घुसपैठ थियो । विदेशी एजेन्टहरू कर्मचारीतन्त्रमै लुकेका थिए । संशोधनवादी र अराजकतावादीहरू दुवै कर्मचारीतन्त्र र बौद्धिकतन्त्रमा सर्पझैँ बसेका थिए । उनीहरू नेताहरूको चरित्र हत्या गर्न वा हत्या गर्न सदा तम्तयार रहन्थे । अमेरिकाको विल्सन र जर्मनीको कैजरसँग हातेमाले गर्ने त्रोत्स्कीका कार्यकर्ताहरूले लेनिनलाई ‘जर्मन गुप्तचर’ भनेको इतिहास छ । स्तालिनलाई मस्को छोडेर भाग्ने सल्लाह दिनेहरू यस्तै चरित्र हत्याराहरू थिए । उहाँलाई राजामहाराजाको जस्तो पोशाक लगाउन दिएर वा ठूला पुरस्कारहरू दिएर तानाशाहजस्तो देखाउन उनीहरू मरिहत्ते गर्थे । स्तालिनले तिनको चाल राम्रै बुझ्नुहुन्थ्यो । त्यसैले उहाँले आफ्नो सादा आनीबानी कहिल्यै त्याग्नुभएन । रेबिनको पुस्तकमा उहाँको सादगी र सावधानीबारे पानैपिच्छे नयाँनयाँ घटना, भनाइ र सम्झनाहरू दिइएका छन् ।
रेबिनको पुस्तकले स्तालिनबारे कोरेको तस्बिरलाई सारमा यसरी राख्न सकिन्छ – “स्तालिन सादा हुनुहुन्थ्यो । उहाँ फुर्मास गर्नुहुन्नथ्यो । उहाँलाई तडकभडक वा चाप्लुसी मन पर्दैनथ्यो । उहाँ आफूसँग काम गर्ने व्यक्तिहरूको मन बुझ्नुहुन्थ्यो । उहाँ हैकम जमाउनुहुन्नथ्यो बरु सरल र समान व्यवहार गरेर वातावरण सहज बनाउनुहुन्थ्यो । साथीहरूलाई उहाँ सहयोग गर्नुहुन्थ्यो । कला साहित्यमा उहाँको रुचि थियो । कलाकारहरूलाई सल्लाह दिने, दुःख पर्दा सघाउने गर्नुहुन्थ्यो । उहाँ कर्मचारीले कम तलब लिएर पनि जनताको महँगी घटाउनुपर्छ भन्नुहुन्थ्यो । यस्तो गर्दा महत्वाकाङ्क्षी कर्मचारीहरू उहाँबाट चिढिएका थिए । जनतासँग संवाद गर्न उहाँलाई आउँथ्यो । उहाँ सधैँ जनताबीच रहन रुचाउनुहुन्थ्यो । आँसु र हाँसो जनतासँगै बाँड्न विश्वयुद्धको बमबारीबीच पनि उहाँ जनताबीच रहनुभयो । जनताबाट टाढा गाउँको आरामघरमा रहेको बेला शत्रुहरूले उहाँको हत्या गरे ।”
पुस्तकमा मिकोयान, एगोदा, एझोभ, ख्रुश्चेभ, बेरिया, मालेन्कोभजस्ता अवसरवादीहरूबारे रेबिनले धेरै जानकारी दिएका छन् । स्तालिन कस्ता व्यक्तिहरूबाट घेरिनुभएको थियो भन्ने कुरा बुझ्न ती नेतृत्वका भोकाहरूको चरित्र चित्रणले सघाउँछ । लेनिनको निर्देशनमा बनेको देशीविदेशी गुप्तचरी र तोडफोड रोक्ने गुप्त संस्था एनकेभीडीमा पहिले जेरझिन्स्की र मेन्झिन्स्कीले नेतृत्व दिएका थिए । पछि त्यसमा एगोदा, एझोभ र बेरियाजस्ता समाजवादविरोधीहरू घुस्न पुगे । तिनले सोभियत सत्तामा बोल्शेविक अर्थात् कामदार जनताका प्रतिनिधिहरूलाई कमजोर तुल्याउँदै लगे, स्तालिनको हत्या गरे र अन्ततः देश ख्रुश्चेभको हातमा सुम्पे ।
ख्रुश्चेभले व्यक्तिगत रिसका कारण स्तालिनलाई बदनाम गर्न सकेजति गरे । ढाँटेको कुरा काटेर मिल्दैन भनेझैँ अन्ततः ख्रुश्चेभका झूटहरू बकम्फुसे साबित हुँदै छन् । रेबिनले आफ्नो पुस्तकमा खु्रश्चेभका अनेक झुटको चिरफार गरेका छन् । ख्रुश्चेभ बाबुसाहेब शैलीको भएको र उनले युद्ध सेनानी झुकोभको अपमान गरेको प्रसङ्ग उल्लेख गरेका छन् । त्यस्तै बेरियाले ‘स्तालिन नभई आफू रुसको वास्तविक शासक भएको’ धमास दिएको प्रसङ्ग पनि पुस्तकमा दिइएको छ । स्तालिनको मृत्युपछि मिकोयानले स्तालिनको भण्डारबाट उहाँको तस्बिर निकालेर च्यातेको कुरा रेबिनले एक अन्तर्वार्तामा बताएका छन् । ‘युवा नेता’ मालेन्कोभलाई काखीमा च्यापेर बेरिया स्तालिनपछिको सोभियत शासक बन्न खोजेको र बेरियाले नै विष दिएर स्तालिनको हत्या गरेको रेबिनको ठम्याइ छ । पुस्तकमा स्तालिनको मृत्युको दृश्य पढिरहँदा मन कुँडिन्छ । नाजीवाद र फासीवादको आहारा हुनबाट संसारलाई जोगाएको, समाजवादको झन्डा उच्च उठाएको एक महान् व्यक्ति १४ घण्टासम्म थला पर्दा असल डाक्टर नपाएको घटनाले पढ्नेको मन दुख्छ । हो, अवसरवादी र संशोधनवादीहरूप्रति आक्रोशित हुनुपर्ने धेरै कारण छन् । रेविनले आफूलाई सोभियत सङ्घका शत्रुहरूबारे जानकारी दिने देशभक्त सुराकीहरूलाई सम्मान दिएका छन् । संसारको पहिलो समाजवादी मुलुकका इमानदार कम्युनिस्टहरूको दुःखबाट आर्जन गरिएको जानकारीले उनको किताब भरिएको छ । तसर्थ, क्रान्तिकारीहरूले विश्वासघातीहरू कस्ता हुन्छन् भनी कहिल्यै बिर्सनुहुन्न ।
भनिन्छ, सोभियत सत्ता क्रान्तिको ३ महिनाभन्दा बढी टिकेको देखेर लेनिन खुसी हुनुभएको थियो । समाजवादको डुङ्गालाई जसोतसो विश्वयुद्धको नदी तार्न सकेकोमा जीवनको अन्तिम क्षणमा स्तालिनले यस्तै महसुस गर्नुभएको हुनसक्छ । तर, आज पनि धेरै चीज उस्तै छ । संसारबाट अन्याय र अत्याचार सकिएको छैन । संसार सतत युद्धमा छ । ठूला र साना वर्गीय लडाइँहरू दिनहुँ चल्छन् । अहिले संसार ठूलो युद्धको सङ्घारमा देखिन्छ । पृथ्वीको पर्यावरण नै धरापमा पारेर पुँजीवादी ‘राजनेता’ हरूले तेस्रो विश्वयुद्धको योजना बुन्दै गर्दा ‘स्तालिन’ लगायत दोस्रो विश्वयुद्धका नेताहरूको अध्ययन र तुलना गर्नु विगतबाट सिक्ने प्रयास हुनसक्छ । ‘फ्रि वल्र्ड’ वा ‘खुला संसार’ भनिने हुनेखानेहरूको ‘स्वर्ग’ जोगाउन मरिमेट्ने पुँजीवादी र साम्राज्यवादी नाफाले ‘अन्धा’ बनेका नेताहरू हाम्रा आदर्श हुन सक्दैनन् । उनीहरूकै घमण्डले गर्दा आज मानव जाति विनाशको मुखमा छ । यस अर्थमा हिजोभन्दा आज संसारलाई स्तालिनहरूको खाँचो छ । रेबिनको पुस्तक ‘स्तालिनसँग’ ले नेपालमा स्तालिनहरू जन्माउन सफल होस् ! प्रकाशक पत्रकार समाज नेपाल र अनुवादक बर्बरिकलाई शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *