नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सोभियत इतिहासकार निकोलाई मोलचानोभको पुस्तक ‘जनरल दे गाल : हिज लाइफ एन्ड वर्क’ को सङ्क्षिप्त अध्ययन ( DE GAULLE)
नेपाली इतिहासमा बेलायती कुटिल राजनीतिको प्रभाव छ । बेलायतविरुद्ध नेपाली देशभक्तहरूले फ्रान्सेलीहरूसँग सङ्गत गरेको इतिहास पढ्न पाइन्छ । नेपाली सेनामा फ्रान्सेली प्रभाव अझै देख्न पाइन्छ । त्यस्तै, मैसुरका टिपु सुल्तानले फ्रान्सकै सहयोगमा बेलायतसँग लडेको इतिहास छ । फ्रान्सलाई आधुनिक सभ्यताको जननी पनि भनिन्छ । बौद्धिक आन्दोलन चलाएर र पुँजीवादी क्रान्ति गरेर फ्रान्सले संसारको आँखा खोलिदियो । पुँजीवादी अत्याचारविरुद्ध समाजवादको झन्डा पहिलोचोटि ‘पेरिस कम्युन’ भनी फ्रान्समै फहरिएको थियो । यस अर्थमा नेपालले फ्रान्सबाट धेरै कुरा सिक्न सक्ने विषयमा दुईमत नहोला !
यहाँ हामीले जनरल चाल्र्स दे गालबारे अध्ययन गर्नेछौँ । चाल्र्स दे गाल बीसौँ शताब्दीका फ्रान्सेली नेता हुन् । दोस्रो विश्वयुद्धको सुरुमै ६ हप्तामा जर्मनीले फ्रान्स कब्जा ग¥यो । दे गाल बेलायत गए । उनी निर्वासित फ्रान्सेली सरकारका प्रमुख थिए । बेलायतमा बसेर उनले स्वतन्त्र फ्रान्सेली आन्दोलन (फ्रि फ्रेन्च मुभमेन्ट) चलाए । उनी देशप्रति इमानदार थिए, राष्ट्रवादी थिए । पराजित देशको रूपमा उनले धेरै तीतोपीरो भोग्नुप¥यो । देशकै लागि उनले बेलायत र अमेरिकाजस्ता शक्तिशालीहरूसँग पनि सङ्घर्ष गरे ।
राजावादी परिवार
चाल्र्स दे गाल कुलीन घरानामा जन्मेका थिए । उनको परिवारले तेह्रौँ शताब्दीमा फ्रान्सका राजाबाट बिर्ता पाएको थियो । त्यसबेलादेखि नै सो परिवार राजभक्त रहिरह्यो । बेलायतसँगको सय वर्षे युद्धमा पराजित हुँदा बेलायतले आफ्नो पक्ष लिन जेहान दे गाललाई लोभ देखाएको थियो । तर, उनले राजालाई धोका दिएनन् । पछि उनलाई राजाले सम्मान गरे । फ्रान्समा पुँजीवादी क्रान्ति हुँदा दे गाल परिवारका फिलिप दे गाललाई जेल चलान गरिएको थियो । प्रतिक्रान्ति भएपछि उनी रिहा भए । उनका छोराले परिवारमा पहिलोचोटि एक पुँजीपतिकी छोरी जोसेफिनसित बिहे गरे । जोसेफिन साहित्यमा रुचि राख्थिन् । तिनी पत्रपत्रिकामा लेखहरू छपाउँथिन् र पुस्तकहरू लेख्थिन् । तिनका दुई छोराले तिनकै बाटो पछ्याए । तेस्रो छोरा हेनरी दे गाल भने फरक थिए । हेनरीले सेनामा जागीर खाए र पछि एक जेसुइट कलेजमा साहित्य, दर्शन र गणित पढाए ।
हेनरीले पनि बुबाले जस्तै एक पुँजीपतिकी छोरी ज्याँसँग बिहे गरे । हेनरी र ज्याँको माइलो छोराका रूपमा २२ अक्टोबर १८९० मा चाल्र्स दे गालको जन्म भयो । चाल्र्सका आमा र हजुरआमा फ्रान्सको उत्तरी क्षेत्रका छोरीहरू थिए । फ्रान्सको उत्तरी क्षेत्रको समाज गतिशील थियो । बेलायतसँगका पुराना लडाइँहरू तिनै क्षेत्रमा हुन्थे । त्यसैले त्यहाँ बेलायती औद्योगीकरणको प्रभाव थियो । विचारका हिसाबले त्यहाँका फ्रान्सेलीहरू अलि उदार थिए । स्वभावले चाल्र्स आफ्नी आमाजस्ता थिए । उनकी आमा धार्मिक र चरित्रवान् थिइन् । चाल्र्समा हजुरआमाको साहित्यिक प्रभाव पाइन्छ । तर, दृष्टिकोणले उनी बुबाजस्ता थिए । उनका बुबा १८७०–७१ मा जर्मनीसँग भएको युद्धमा भाग लिएका सैनिक थिए । युद्धमा हारेपछि फ्रान्सले अलसेक र लोरेनजस्ता खनिजमा धनी भूभाग गुमाउनुप¥यो ।
बीसौँ शताब्दीको सुरुमा फ्रान्समा देशभक्ति जगाउने दुई विषय थिए । एक, जर्मनीसँगको हारले जगाएको अपमानबोध । दुई, फ्रान्सको गर्विलो इतिहास । नयाँ पुस्तामा देशभक्तिको उन्माद थियो । तर, चाल्र्स दे गालको देशभक्ति फरक थियो । फ्रान्सको उत्तरमा पर्ने मावली लिले सहरमा जन्मे पनि चाल्र्स पेरिसमा हुर्के । बुबा हेनरीले छोरालाई फ्रान्सेली इतिहासका छाप परेका विभिन्न स्थानहरूको भ्रमणमा लैजान्थे । ऐतिहासिक स्थलहरूको भ्रमणबाट चाल्र्समा इतिहासचेत हुर्कियो । दे गाल परिवार राजभक्त थियो । त्यसैले फ्रान्सेली गणतन्त्रलाई उनीहरू राम्रो मान्दैनथे । उनीहरू राजतन्त्रका कथाहरूमा रमाउँथे । खासगरी सेना र धर्ममा उनीहरूको भक्ति थियो । गणतन्त्र आएपछि सेनाको साख खस्किँदै गयो । सेनामा भ्रष्टाचार, फर्जी मुद्दा र शक्तिसङ्घर्ष बढ्यो । हेनरी दे गालले फर्जी मुद्दापीडित एक अधिकारीको पक्ष लिए । त्यसबेला उनले जेसुइट कलेजमा पढाउँथे । उनले गिर्जाघरबाट विरोधको सामना गर्नुप¥यो । यसरी राजतन्त्रका दुई हाँगा सेना र धर्म भ्रष्ट भएकोमा दे गाल परिवार आहत थियो । हेनरी दे गालबाट चाल्र्सले राष्ट्रको पवित्रता कायम गर्नुपर्ने पाठ पढे । उनले यही कामलाई आफ्नो जीवनलक्ष्य बनाए । उनी धनसम्पत्तिको पछि लागेनन् ।
बाल्यकाल
खानदानी परिवारका छोराछोरीमा पाइने चञ्चलता चाल्र्समा पनि थियो । आफू भाग्यमानी छु भन्नेमा उनी ढुक्क थिए । चाल्र्स जहाँ गयो, त्यहाँ शान्ति भङ्ग हुन्छ भनिन्थ्यो । उनको साहसलाई कतिले अहङ्कार भन्थे । सन् १९०० मा उनलाई एउटा धार्मिक पाठशालामा पठाइयो । जेसुइट विद्यालयमा अग्रजहरूको होमा हो मिलाउनुलाई नै अनुशासन भनिन्थ्यो । त्यहाँ रुसो, भोल्टेयरजस्ता प्रबोधन युगका हस्तीहरूको बदख्वाइँ गरिन्थ्यो । रोबेस्पियर, मारात, दाँतेजस्ता क्रान्तिकारीहरूलाई गाली गरिन्थ्यो । चाल्र्सलाई बाहिरी कुरा थाहा थिएन । त्यसैले उनले यिनै कुरा सिके । तैपनि जेसुइट फादरहरूले उनलाई धर्ममा रत्ताउन सकेनन् । उनलाई ‘अनुशासित’ बनाउन सकेनन् । उनलाई चुपचाप धर्मगुरुहरूको भनाइमा मुन्टो हल्लाउनु सही लागेन । धार्मिक अनुष्ठान वा कर्मकाण्डमा उनी चुपचाप सहभागी हुन्थे । यस अर्थमा धर्म उनको बानी बन्यो ।
चाल्र्स दे गाल अल्छी थिएनन् । तर, मन नपरेको विषयमा उनी मिहिनेत गर्दैनथे । उनलाई साहित्य, संस्कृति र इतिहासमा रुचि थियो । उनलाई देशभक्त लेखक रोस्ताँको नाटक कण्ठै थियो । उनी बुबाबाट दासहरूलाई मार्नु हुन्न भन्ने दास मालिक सिसेरोजस्ता प्राचीन राजनीतिज्ञका रचना सुन्थे । साहित्यको अध्ययनले उनको वाक्कला खारियो । उनको भाषण छोटो र स्पष्ट हुन्थ्यो । सानो छँदा उनले साहित्य पनि लेखे । इतिहासलाई उनी राजामहाराजाको देन ठान्थे । खानदानी वा सामन्ती परिवारमा इतिहासबारे यो भ्रम संसारभरि प्रचलित छ । यसकारण, दे गालमा राष्ट्रिय गौरवप्रतिको मोह कहिल्यै हराएन । उनले सामन्ती फ्रान्सको गुमेको गौरव फिर्ता गराउनु आफ्नो धर्म ठाने । त्यसैले उनी समाजवादी र पुँजीवादी विचारका विरोधी रहे र दक्षिणपन्थी जमातमा प्रिय भए । फ्रान्समा चलिरहेको वर्गसङ्घर्षलाई उनी अर्थहीन ठान्थे । त्यसबेला फ्रान्सको राजनीतिमा खासगरी दक्षिणपन्थी, वामपन्थी र उदारवादीहरू सक्रिय थिए । दे गाल आफूलाई तटस्थ भन्थे । राजनीतिक किचलोलाई ‘दुष्ट खेल’ ठान्थे । राजतन्त्र फर्किने सम्भावना थिएन । कट्टर दक्षिणपन्थीहरू राजतन्त्र पुनः स्थापना गर्न चाहन्थे । यसमा दे गालको रुचि थिएन । बरु गणतन्त्रभित्रै पुरानो गौरव फिर्ता गराउनमा उनको चासो रह्यो ।
अध्ययनका लागि विदेश
सन् १९०४ मा फ्रान्स सरकारले गुरुपुरोहितलाई विद्यालयमा पढाउन बन्देज लगायो । धर्मगुरुहरू विद्यालयलाई ‘स्वतन्त्र’ राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिए । हेनरी दे गाल जेसुइट कलेजमा पढाउँथे । त्यहीँ उनका चारभाइ छोराहरू पढ्दै थिए । चाल्र्सले सौन्दर्यशास्त्र, अलङ्कारशास्त्र पढेर सकेका थिए । उमेर सानो हुनाले उनले स्नातकको पढाइ सुरु गरेनन् । बरु दर्शनशास्त्रको कक्षा लिन थाले । यस्तैमा फ्रान्स सरकारले जेसुइटहरूका शैक्षिक गतिविधिमा रोक लगाउन थाल्यो । चाल्र्सले कुनै धर्मनिरपेक्ष क्याम्पसमा अध्ययन सुरु गर्न सक्थे । तर, गणतान्त्रिक सरकारका सङ्घसंस्थाप्रति परिवारको वितृष्णा थियो । त्यसैले १९०७ मा उनलाई अध्ययनका लागि बेल्जियम पठाइयो । पेरिसका जेसुइटहरूले त्यहाँ नयाँ क्याम्पस खोलेका थिए । त्यस क्याम्पस फ्रान्सको सिमानामा पथ्र्यो । खासमा यो एउटा पुरानो दरबार थियो । क्याम्पसका धेरैजसो विद्यार्थी धनी वा कुलिन परिवारका थिए ।

गणितमा रुचि भएका चाल्र्सलाई शिक्षकहरूले प्राविधिक शिक्षा लिन सुझाए । तर, कुनै बेला पादरी बन्ने सोच राखेका दे गालले लक्ष्य तय गरिसकेका थिए । उनी सैन्य अफिसर बन्न चाहन्थे । यसमा उनको खानदानी सोचले मात्र काम गरेको थिएन, बरु गहिरो सोचविचारपछि उनले लक्ष्य तय गरेका थिए । खासमा बीसौँ शताब्दीको फ्रान्समा बौद्धिक सङ्कट वा अन्योल व्याप्त थियो । विज्ञानको विकाससँगै पुराना मान्यताहरू भत्किँदै थिए । त्यसैले विज्ञानप्रतिको पुरानो शासकीय अनुराग बिस्तारै निराशामा डुब्न पुग्यो । जुन विज्ञानले नाफा दिएको थियो, त्यही विज्ञानले उनीहरूको म्याद नाघिसकेको घोषणा ग¥यो । यथार्थको खोजी गर्नुपथ्र्यो । तर, त्यस्तो भएन । विज्ञानको प्रहारबाट जोगिन रहस्यवाद र धार्मिकताको खोल खोज्न थालियो । शासक वर्गको स्वार्थ जोगाउने उद्देश्यले यथार्थलाई बङ्ग्याउन थालियो । विज्ञानको बदख्वाइँ गर्न थालियो । यस्तै काम गरिरहेका केही दार्शनिक, लेखक र कविको प्रभाव किशोर चाल्र्स दे गालमा प¥यो ।
प्रभाव
एमिल बौत्रक्स दे गालका आध्यात्मिक गुरु थिए । उनी प्राकृतिक नियमहरूलाई अपुरो भन्थे र विज्ञानलाई अध्यात्मवादी विचारमा ढाल्न खोज्थे । उनका शिष्य भनिने हेनरी बर्गसनले दे गालमा अमिट छाप पारे । बर्गसन गुरुभन्दा अगाडि बढे । तर उनको दर्शन एकदम जेलिएको थियो । तैपनि उनको विचारमा कताकति जीवनको द्वन्द्वात्मकता भेटिन्थ्यो । उनीबाट दे गालले वास्तविक जीवनमा सिद्धान्तहरू जस्ताको तस्तै फिट हुन्नन् भन्ने सिके । त्यसैले दे गालले छैटौँ चेत वा आभासको शक्तिमा विश्वास गर्थे । जीवनमा अनपेक्षित, साहसी र मौलिक निर्णय लिन उनले बर्गसनबाटै सिकेको देखिन्छ । बर्गसनबाट उनले भाषाको चित्रकारी सिके । बर्गसनले आत्मिक स्वच्छन्दता र सिर्जनशीलतामा जोड दिन्थे । बर्गसनमा दर्शनको अध्ययनमा गहिरो रुचि नराख्ने तर हरेक कुरालाई दार्शनिकता दिने कोटीका व्यक्तिलाई नजिक ल्याउने खुबी थियो । चाल्र्स दे गाल यही खुबीले तानिएका थिए ।
दे गाललाई तान्ने कवि थिए चाल्र्स पेगाए । उनको सोच पेचिलो थियो । किसान परिवारमा जन्मेका पेगाए धर्मभीरु वा कट्टर क्याथोलिक थिए । तर, उनी प्रगतिशील बुद्धिजीवी मानिन्थे । सेनामा भ्रष्टाचार काण्ड हुँदा उनले गणतन्त्रवादी र समाजवादीहरूको पक्ष लिए । सैन्यवादी, धार्मिकवाद र राष्ट्रिय अहङ्कारवादको विरोध गरे । केही समय उनी प्रगतिशील जाँ जौरे र रोमा रोलाँसँग घनिष्ट भए । तर, पछि पुँजीवादी बुद्धिजीवीहरूको नैतिक सङ्कटको भेलमा परेर उनी राष्ट्रवादी र कट्टर धार्मिक समर्थक बने । पहिला उनी बर्गसनका विरोधी थिए, पछि प्रशंसक बने । उनी फ्रान्सको गर्विलो इतिहासबारे प्रभावशाली साहित्य लेख्थे । फ्रान्सेली क्रान्तिका सैनिक र नेपोलियन बोनापार्टका सेनाहरूको स्तुति गाउँथे । दे गालको भाषण र लेखनीमा उनको प्रभाव देख्न सकिन्छ । पेगाए फ्रान्सको सैन्य गौरवका पुजारी थिए । उनी युद्धबाट डराउन्नथे । बरु फ्रान्सको गौरव युद्धमा रहेको बताउँथे । पेगाएले जस्तै लोरेन प्रदेशका प्रतिक्रियावादी लेखक मौरिस बारेसको प्रभाव पनि दे गालमा प¥यो । बारेसले परिष्कृत भाषामा राष्ट्रवादी विचार पोख्थे । उनी जर्मनीसँग बदला लिनुपर्ने पक्षमा थिए । उनी शासकहरूको भ्रष्टाचार र षड्यन्त्रतिर धारे हात लगाउँदै तेस्रो गणतन्त्रको संसदीय प्रणालीको विरोध गर्थे । उनी राष्ट्रवादीहरूको तानाशाहीको पक्षमा थिए । उनको विचार दे गालको अन्तरमनबाट कहिल्यै हटेन । बारेस भन्थे – ‘विश्वब्रह्माण्डभरि राष्ट्रवादले शासन गर्छ ।”
बर्गसन, पेगाए र बारेसजस्तै फ्रान्सका पुँजीवादी युवाहरूलाई चाल्र्स मौरासले पनि प्रभावित गरे । मौरास राष्ट्रवादी थिए । उनी राजतन्त्र पुनःस्थापनाको पक्षमा थिए । दे गाल राजतन्त्रका विरोधी थिएनन् । तर, राजतन्त्र फर्काए फ्रान्सेली समाजको भित्री अन्तरविरोध चर्किने उनले बुझे । कालान्तरमा मौरास दे गालविरोधी बने । तैपनि उनीप्रतिको दे गालको सम्मान घटेन । दे गाललाई राष्ट्रिय अहङ्कारले भन्दा पनि कविताले देशभक्त बनाएको थियो । सैन्य जीवन रोज्ने बनाएको थियो । छाडा राष्ट्रवाद र जातिवादप्रति उनी सहानुभूति राख्दैनथे । उनको राष्ट्रवाद नितान्त कवितामय थियो । खासमा राष्ट्रवादीहरूले भद्रता, निःस्वार्थपन र नायकीय भावनामा एकाधिकार जमाउँदै आएका छन् । पुँजीवादी राज्यमा हुने आत्मकेन्द्रित र अनैतिक प्रतिस्पर्धालाई उनीहरू भावुक सिद्धान्तको जलपले छोप्छन् ।
दे गालमा परम्परागत राष्ट्रिय अहङ्कार थिएन । तैपनि संस्कारले उनी रुढीवादी थिए । उनी युवा छँदा राजनीतिमा जाँ जौरेस र साहित्यमा रोमा रोलाँ र अनातोली फ्रान्सजस्ता प्रगतिशील व्यक्तिहरू नभएका होइनन् । उनीहरू देशभक्त र प्रजातन्त्रप्रेमी थिए । उनी फ्रान्सेली समाजलाई न्यायपूर्ण बनाउन चाहन्थे । सायद त्यसैले दे गाललाई उनीहरूको विचारले छोएन । त्यसबेला फ्रान्सको शक्ति बढ्दै थियो र जर्मनीसँग बदला लिने भावना झाँगिदै थियो । त्यसैले फ्रान्सका पुँजीवादी युवाहरूबारे रोमा रोलाँले लेखे – “किताबबाहिर युद्ध नदेखेका युवाहरूमा युद्धको महिमा गाउन धक मानेनन् । उनीहरू आक्रामक भए । शान्ति र विचारहरूबाट आजित भएर उनीहरूले रक्तिम मुठी कस्दै युद्धको हुँकार गाए । फ्रान्सको शक्ति ब्यूँताउने खालको काम गर्न जुर्मुराए ।’ दे गालले आफ्नो आत्मवृत्तान्तमा युवा छँदा आफूलाई युद्धको त्रासदी थाहा नभएको बरु युद्धलाई साहसिक कार्यको रूपमा लिएको स्वीकारेका छन् ।
प्रस्तुति : सुरेन
Leave a Reply