विचार
- बैशाख ११, २०८३
भक्तपुर जिल्लाको आफ्नै कला, कौशल, संस्कृति, रीतिथिति इत्यादि छन् । सारा संसार घुमेर भक्तपुर जानुभएन भने आधा संसारको मात्र ज्ञान हासिल हुन्छ किनकी भक्तपुर रीतिथिति, कला र संस्कृतिको धरोहर हो । कुनै पर्यटकले त्यो बुझेन भने नेपाल आएकै ठहरिँदैन । नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुरको कला, साहित्य, संस्कृति, रीतिथितिलाई अगाडि बढाउनको निम्ति अथक कोसिस गरिरहेको छ ।
नेपालको सिमानाको हालखबर के रहेछ भन्ने बताउँछु । चुच्चे नक्साले कसलाई ठुँगेको छ ? चीनसँगको सीमा जोडिएको हुम्ला नाम्खाबारे वास्तविकता के छ ? सरकारले कालापानी, लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न नसक्ने रे ¤ किन नसक्ने हो ? नेपालको सिमाना चिथोरिएको छ, कोतरिएको छ, घाउ पारिएको छ । अथवा, छियाछिया पारिएको छ । नेपालको सिमाना मिचिएको छ । हाम्रो दक्षिण तर्फको छिमेकीले नेपालको सीमा कोतर्न छाडेको छैन । नेताहरू तँ ठूलो कि म ठूलो भनी लड्छन्, भारतीय विस्तारवाद मुसाको रूपमा भित्र पस्छ । तर, भारतीय मुसाले नेपालको तराईमा सीमा कोतरेको नेपालका सरकारहरूलाई थाहै छैन । थाहा भएपनि तैँ चुप मै चुपको स्थितिमा सरकारहरू रहन्छन् ।
नेपालको कुल क्षेत्रफल एक लाख सत्चालीस हजार एक सय एकासी वर्गकिलो मिटर भएकोमा भारतीय अतिक्रमणको कारण अहिले ६ सय ६ वर्ग किलोमिटर घटेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीको मात्रै ३७२ वर्ग किलोमिटर बढेको छ । नयाँ युवाहरूले पनि बुझ्नै पर्दछ । सुस्ता क्षेत्रमा मात्र ४५ वर्ग किलोमिटर भूभाग मिचिएको छ । नेपालको ७१ ठाउँमा सीमा मिचिएको छ । नेपालको ७७ जिल्लामध्ये २७ वटा जिल्ला भारतीय सीमासित जोडिएको छ । २४ जिल्लामा भारतले नेपालको सीमा मिचेको छ । यस्तो बेला पनि नेपाल सरकारले केही गर्न सकिरहेको छैन ।
सन् २०१९ मे २ मा भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा खर्लप्पै भारतमा पारेर ‘न्यू पोलिटिकल म्याप अफ इन्डिया’ भनेर बनायो । त्यसपछि नेपाल सरकारले वार्ता गरौँ न भनेर कूटनीतिक नोट पठायो । तर, भारतले बेवास्ता गर्दै छ । उल्टो लिपुलेक कालापानी हुँदै मानसरोवरसम्म पुग्ने बाटो खनेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले रिमोट कन्ट्रोलबाटै उद्घाटन पनि गर्न भ्याए । नेपालले वार्ता गरौँ भनिरहने तर उसले एक्सन लिएर अगाडि बढिरहने अवस्था रहेको छ । नेपालको इलाम जिल्लाको पशुपतिनगर क्षेत्रको वडा नं ८ मा आधा रोपनी जमिनसमेत मिचिएको छ । भारतले नेपालको आधा रोपनी जमिन किन मिचेको हो ? भारतलाई जमिन नपुगेर त्यस्तो गरेको होइन ।
तीन वर्षअगाडि म र वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले सर्वाेच्च अदालतमा रिट हालेका थियौँ । २०७८ सालको वैशाख १२ गते रिटमा फैसला भयो । त्यो फैसलाले कुरा त्यति स्पष्ट पारेको छैन । सीमा नियमन भयो भने दार्चुलाको जयसिंह धामीजस्तो कुनै पनि नेपाली जवानले अनाहकमा महाकाली नदीमा भारतीय एसएसबीद्वारा काटिएको तुइनमा लतारिएर ज्यान गुमाउनुपर्ने छैन । उनको शव अहिलेसम्म भेटिएको छैन । नेपालबाट गृह मन्त्रालयका सहसचिवको टोली निरीक्षण गर्न गयो तर भारतले महाकाली नदीमा निरीक्षणसमेत गर्न दिएन । जयसिंह धामीको शव भेट्टाउन नेपाल पक्षले हेलिकप्टरबाट खोजी कार्य गर्ने अनुमति माग्यो तर भारत सरकारले अनुमति दिएन । तुइन फुस्काउने भारतीय एसएसबीका जवानलाई सरुवा गरियो । नेपालको जवान जयसिंह धामीको लासको खोजी कार्य गर्न दिइएन ।
भारतले सन् २०१९ नोभेम्बर २ मा नेपालको समस्त कालापानी क्षेत्र आफ्नो भू–भागमा पारेर नक्सा प्रकाशित गरेपछि नेपाल सरकारले २०७७ सालको जेठ ७ गते चुच्चे नक्सा प्रकाशित ग¥यो । लिपुलेक, लिम्पियाधुरा, कालापानी सम्पूर्ण क्षेत्र आफ्नैमा हालेर नक्सा प्रकाशित भएको छ । यसरी भारतबाट प्रकाशित र नेपालबाट प्रकाशित त्यो क्षेत्रको नक्सा एक अर्काेमा खप्टिएको (ओभरल्याप भएको) छ ।
तत्कालीन सरकारले नेपालको चुच्चे नक्सा प्रकाशन गरेको विषय हामीले पनि उठायौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि भन्नुभयो, “चुच्चे नक्सामात्र प्रकाशित गरेर हुँदैन, भारतबाट नेपालको भूमि नै फिर्ता ल्याउनुप¥यो ।”
सन् १९६२ को भारत – चीन युद्धदेखि कालापानीमा भारतीय सेना बस्दै आइरहेको छ । उक्त जमिन फिर्ता लिनुपर्ने माग राख्दै आएको भए पनि सरकारले केही गरेको छैन । त्यसैले चुच्चे नक्साले ठुँग्न सकेको छैन, चुच्चोलाई उपयोग गर्न सकिएको छैन । अब युवा पिढीले त्यो चुच्चे नक्साको चुच्चो देखाएर भारतसँग कुरो गरेर नक्सा मात्र निकाल्ने होइन जमिन नै फिर्ता ल्याउनुपर्छ । लालपूर्जामा मात्र नभई जमिन नै हाम्रो हुनुप¥यो भनी सशक्त तरिकाले पहल गर्नुपर्छ ।
चीनसित नेपालको सीमा विवाद छैन । सरकारले चीनसितको नेपालको नक्सा पनि उपलब्ध गराउनुपर्छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्साबारे नेपालको परराष्ट्र मन्त्रालयले कुरा गर्न चाहेर पनि भारतले बेवास्ता गरिरहेको छ । यसबाट के पुष्टि हुन्छ भने भारतीय पक्षसित कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको हो भन्न सक्ने नक्सा नै छैन, प्रमाण नै छैन । यदि उनीहरूसित नक्सा भएको भए भारतले नेपाललाई वार्ता गर्न भनिसक्थ्यो, कालापानीको बारे कुरोकानी गरौँ भनेर आउँथ्यो तर उनीहरू आउन सकेका छैनन् । वार्तामा पछिपछि हटिरहेको भारतलाई हामीले कूटनीतिक तथा राजनीतिक तहमा कुरा अगाडि बढाउन आवश्यक छ । अब हामीले भारतले निकालेको चुच्चे नक्सालाई थुतेर त्यस भूभागमा हामी आफैले भोग गर्न सक्नुप¥यो ।
हुम्लाको नाम्खामा चीनले नेपालको भूमि मिच्यो भनी सरकारले कुरो राखेको छ । कुनैपनि देशले आफ्नो देशको भूभाग मिच्यो मिचेन भन्ने कुरो सबुत, प्रमाण, नक्सा इत्यादिमा भर पर्दछ । नक्साहरू भिडाएर हेर्दा मिचिएको देखिन्छ कि देखिँदैन त । त्यसै हल्ला फैलाएर मिच्यो मिच्यो भन्नु हुँदैन । कर्णालीबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीले टाकुले भन्ने ठाउँको नेपालको सीमा स्तम्भ हराएको, चीनले सारेको कुरो गरे तर दुई दिनपछि ११ नं. को सीमा स्तम्भ पाइयो है पनि भने ¤ त्यसको छ महिनापछि कर्णाली प्रदेशकै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसितै जीवनबहादुर शाहीको टोली सीमा अवलोकन गर्न गयोे । १२ नं. पिलर हुम्लाको नाम्खा भन्ज्याङमा राखिएको छ । जीवनबहादुर शाहीले त्यो पिलर नयाँ बनाएको बताए । सँगै रोडा, बालुवा पनि थुप्रेको छ । उनले टेक्निकल टर्म प्रयोग गरेर “यो चाहीँ एलाइन्मेन्ट नै फरक पारेर गरेको छ,” भने । तर, कसरी भयो भन्ने कुरो केही बताएनन् । सीमा खम्बाको अक्षांश, देशान्तर र उचाइ हुन्छ । जबसम्म अक्षांश, देशाान्तर र उचाइ थाहा हुँदैन तबसम्म सीमा मिच्यो भनेर भन्न सकिँदैन । सन् १९६१—१९६५ मा नेपाल र चीनबीच सिमाङ्कन भएर ७९ वटा खम्बा गाडिएका थिए । १२ वटा खम्बा हुम्लाको नाम्खा नजिक गाडिएका छन् । १२ नम्बरको खम्बाको ३० डिग्री २६ मिनेट ७२ सेकेन्ड उत्तरी अक्षांश छ, पूर्वी देशान्तर चाहीँ ८१ डिग्री ३७ मिनेट ३८ सेकेन्ड रहेको छ ।
Leave a Reply