जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १२ कार्तिक । विश्व कम्युनिस्ट आन्दोलनका जाज्वल्यमान नेता जेभी स्तालिनका एक अङ्ग रक्षक ए.टी. रेबिनको संस्मरण ‘स्तालिनसँग’ पुस्तकको शुक्रबार एक समारोहबीच अन्तरक्रिया भयो ।
पुस्तकको प्रकाशक पत्रकार समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कम्युनिस्टहरूको सङ्घर्ष सिद्धान्त र वर्गको निम्ति हुन्छ, व्यक्तिगत र पारिवारिक स्वार्थको निम्ति हुँदैन भन्नुभयो ।
विदेशीको उठबसमा चल्ने नेकाका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माओवादी केन्द्रका पुष्पकमल दाहाल र एकीकृत समाजवादीका माधवकुमार नेपाल कसरी कम्युनिस्ट हुन्छ भन्ने प्रश्न गर्दै अध्यक्ष रोहितले सत्तारुढ दलहरू बाह्य शक्तिबाट सञ्चालित रहेको बताउनुभयो ।
दल ठूलो भए पनि नेका र एमालेजस्ता दलहरूमा राजनीतिक दृष्टिकोण र अडान नभएको स्पष्ट पार्दै उहाँले सिद्धान्त र दृष्टिकोण नभएको सरकारले कसरी दिशाबोध गर्छ ? भनी प्रश्न उठाउनुभयो ।
सत्तारुढ पार्टीका कति नेताहरू विदेशबाट सञ्चालित भइरहेको जनगुनासोबारे छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले ती पार्टीहरू भारतउन्मुख हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
समाजवादको बखान गर्ने तर समाजवादी मूल्य र मान्यताअनुसार काम नगर्ने कम्युनिस्ट भनिने दललाई जनताले राम्ररी चिन्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “ती दलका नेताहरूको ध्यान उत्पादनका साधनहरू सामाजिकीकरण गर्नेतर्फ कहिल्यै गएन ।”
इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र लिबियाका राष्ट्र प्रमुख गद्दाफीले अमेरिकी साम्राज्यवादसामु नझुकी देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाको निम्ति दृढ अडान लिएकै कारण अमेरिकी साम्राज्यवादको निशाना बनेको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा जहाँ पनि जालझेल र षड्यन्त्र हुन्छ ।”
विदेश गएर राष्ट्रघाती र जनविरोधी सन्धि–सम्झौतामा सही गर्ने नेताहरूले देशको रक्षा गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष रोहितले देश र जनताप्रति समर्पित भएर इमानदार र निःस्वार्थपूर्वक आफ्नै खुट्टामा उभेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको स्वतन्त्रता र सार्वभौमिकताको ख्याल नगर्ने सत्तारुढ दलका नेता र कर्मचारीहरूप्रति इङ्गित गर्दै उहाँले भन्नुभयो, “शत्रुको प्रशंसा, उपहार र आर्थिक सहयोगबाट टाढा नरहने हो भने दलका नेता र कार्यकर्ताहरू शत्रुको जालमा फस्नेछन् ।”
“मन्त्रालय–मन्त्रालयमा विदेशीहरु धाइरहने गतिविधिले नेपालको मन्त्रालय हाम्रो हो कि विदेशीको भनी प्रश्न उठ्छ”, उहाँले भन्नुभयो ।
स्रष्टा समाजका अध्यक्ष एवं लेखक लक्ष्मणराज जोशीले क्रान्ति गर्नुभन्दा क्रान्तिको उपलब्धिको रक्षा गर्न गा¥हो हुने विचार व्यक्त गर्दै समाजवादविरोधी देशी–विदेशी तत्वहरूले सोभियत सङ्घ र बोल्शेभिक नेताहरूविरुद्ध अनेक षड्यन्त्र र जालझेल गरेको तथ्य औँल्याउनुभयो ।
उहाँले देखिने शत्रुहरूभन्दा लुकेका शत्रुहरू झन् डरलाग्दा हुन्छन् भन्ने का. रोहितको भनाइको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “राज्य वा सत्तामा जुन वर्ग पुग्यो त्यसले विरोधी वर्गलाई दमन गर्छ, दमन नगर्ने राज्य विश्वमा कतै छैन ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले घुस, पदलोलुपता र आलोचना–प्रत्यालोचना एवं सैद्धान्तिक सङ्घर्षलाई पार्टीभित्र बरोबर चलाउँदै नगए कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी नरहने विचार राख्दै हरियो घाँसभित्र लुकेका हरिया सर्परूपी र रातो झन्डाको विरोध गर्न रातो झन्डा उठाउने नक्कली कम्युनिस्टहरूदेखि सावधान हुनुपर्छ भन्नुभयो ।
गोलीले जित्न नसकेका कम्युनिस्टहरूलाई गुलियो पोटेको चास्नीले जित्ने सन्दर्भ उल्लेख गर्दै उहाँले सत्ता बाहिर रहुञ्जेल जनताको आवाज उठाउने दलहरू सत्तामा पुगेपछि देश र जनताको सेवा छोडेर विदेशी र दलगत स्वार्थमा डुबिरहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “गरिबी सह्य हुन्छ । तर, स्वाभीमान कदापि बन्धक राख्नुहुँदैन । आफ्नो स्वार्थ पूरा गर्न विदेशीको दास बन्नुहुन्न ।”
राजनीतिक दलहरू सही सिद्धान्त, सही विचार र सही मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पैसामा बिक्नेहरूबाट देश र जनताको भलो हुनेछैन भन्नुभयो ।
स्रष्टा समाजका सदस्य एवं भनपाका उपप्रमुख रजनी जोशीले स्तालिन कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा लागू गर्ने सादा जीवन उच्च विचारका व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
विश्व सर्वहारा वर्गको मुक्ति र समाजवादको बाटो खोल्ने क्रममा स्तालिनको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले विश्वविद्यालय खोल्न स्तालिनले गरेको सङ्घर्षको स्मरण गर्नुभयो ।
इन्जिनियरिङ्ग समाजका अध्यक्ष रवीन्द्र फोजूले लेनिनसँग मिलेर स्तालिनले समाजवादी क्रान्तिमा सफलता पाएको चर्चा गर्नुभयो ।
उहाँले जनतामाझ भिज्ने, सही विश्लेषण गर्ने, चाप्लुसी नसहने, देश र जनताप्रति समर्पित स्तालिन युगकै प्रतिनिधि हुनुहुन्थ्यो भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य एवं प्राध्यापक समाजका सदस्य सुनिल दुवालले प्रतिक्रियावादी र साम्राज्यवादीहरूको झूट र भ्रम चिरेको पुस्तक ‘स्तालिनसँगको औचित्यताबारे तथ्यसहित प्रकाश पार्दै स्तालिन परिस्थिति बुझेर सही निर्णय गर्ने साम्राज्यवादविरोधी व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
आफ्नो शासन जोगाउन र गुमेको स्वर्ग फर्काउन प्रतिक्रियावादी र साम्राज्यवादीहरूले अनेक षड्यन्त्र गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हत्या गरेर पदमा पुग्ने दाउ राजनीतिक षड्यन्त्र हो, यसले देश र जनताको सेवा गर्दैन ।”
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सहसंयोजक सुरेश परियारले समाजवादका रक्षकलाई त्यसबेलाको समय र परिस्थितिको आँखाले हेर्नुपर्ने आवश्यकता औँल्याउँदै सारा मानव कल्याणको निम्ति जीवनभर सङ्घर्षमा लाग्ने नेताहरूलाई सानो स्वार्थको निम्ति हत्या गर्ने अवसरवादी र षड्यन्त्रकारीहरूदेखि सधैँ सावधान भइरहनुपर्छ भन्नुभयो ।
पत्रकार समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति अनुराधा थापामगरले प्रतिक्रियावादी र साम्राज्यवादीहरूले स्तालिनबारे भ्रममात्र नफैलाई कम्युनस्टहरूकै सिद्धान्त र विचारको झूटको खेती गरिरहेको चर्चा गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा शिक्षक प्रेमलक्ष्मी त्वायना र पत्रकार समाजका उपाध्यक्ष उद्धव सुखजू र सदस्य प्रकाश थुसाले पनि पुस्तकको महत्वबारे चर्चा गर्नुभयो ।
Leave a Reply