भर्खरै :

विद्वान वकिलहरूको नसुहाउँदो मुढेबल प्रदर्शन

काठमाडौं, १२ कार्तिक । शुक्रबार दिउँसो सामाजिक सञ्जालहरूमा एउटा भिडियो सार्वजनिक भयो । उक्त भिडियोमा सर्वोच्च अदालतसँगै रहेको सर्वोच्च अदालत बार भवन परिसरमा दुईजना वकिलहरू वादविवाद गरिरहेका देखिन्थे । एकछिनपछि नै ती दुईबीच कठालो समातासमात भयो, मुडकी चल्न थाल्यो । अर्को एक वकिल दुईबीच आएर झगडा रोक्न खोजेको देखिन्थ्यो । त्यतिकैमा झगडालुमध्येका एक वकिलले अर्कोमाथि एक लात हान्यो । लाती परेका अर्का झगडालु वकिल पनि भड्के र अरू वकिलहरू बीचमा आएर छेक्दा छेक्दै पनि हुतिएर गएर अर्को झगडिया वकिलमाथि लातमुड्की हाने ।
त्यसरी कुटाकुट गर्ने वकिलहरू अधिवक्ता भूमिनन्द चुडाल र अधिवक्ता विराट न्यौपाने थिए । अधिवक्ता न्यौपाने पछिसम्म पनि आक्रोशित रहेका देखिन्थे । सर्वोच्च अदालत परिसरमा किन कुटाकुट गरेको भनी प्रश्न गरेका पत्रकार र सर्वसाधारणमाथि समेत प्रतिप्रश्न गरेर र कसको पक्षमा आएको भनी आक्रोश देखाएका थिए । अधिवक्ता चुडालले भने सर्वोच्च अदालतको बार भवनअगाडि आफूमाथि कुटपिट हुँदासमेत बारका पदाधिकारी र सदस्यहरू हाँसेर बसेको भन्दै बार एशोसियसनमाथि नै असंवैधानिक र गैरकानुनी भएको आरोप लगाए । चुडालले लोकतान्त्रिक गणतन्त्रको विरोध गरी राजतन्त्र फर्कने दावा गरेर आफ्नो राजनीतिक आस्था पनि जाहेर गरे । पछि चुडालले रिपोटर्स क्लवमा कुटपिट गर्ने न्यौपानेविरूद्ध कानुनी प्रक्रियामा जाने बताए । इजलास नबस्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको बेला एक्कासि आफूमाथि कुटपिट भएको उनको भनाइ थियो ।
ती दुई वकिल पूर्वपरिचित पनि रहेछन् । उनीहरूबीच वैचारिक मतभेदकै कारण तनावको स्थिति उत्पन्न भएको प्रस्ट छ । विचार, तर्क र सबुत प्रमाणको आधारमा आ–आफ्नो पक्षका लागि अदालतमा बहस गर्ने वकिलहरूबीच कहिलेकाहीँ चर्काचर्की पनि पर्ने गर्दछ । तर, पनि वकिलहरूले मुद्दाको विषयलाई व्यक्तिगतरूपमा लिन नहुने, एक अर्कालाई गालीगलौज र आक्षेप लगाउन नपाउने, झूटो बोल्न नपाउने आदि त अधिवक्ता आचारसंहितामा अगाडि आउने बुँदा हुन् । राजनीतिक आस्था व्यक्तिको नैसर्गिक अधिकार हो । प्रजातन्त्र र लोकतन्त्रमा विचारको स्वतन्त्रता हुन्छ । प्रतिकूल अभिव्यक्तिकै लागि कसैमाथि हमला गर्नु कदापि सही होइन । दुई वकिलबीचको झगडालाई राजनीतिक रङ्ग दिने काम सुरु भइसकेको छ । त्यहाँ प्रथम दृष्टिमै फलाना कसुरदार र फलाना पीडित भन्न सकिने स्थिति छैन । शुक्रबार सर्वोच्च अदालत परिसरमा मुढेबल प्रदर्शन गरेका वकिलहरूले आचारसंहितमा मात्र होइन, आफू वकिल वा अधिवक्ता हुँ भनी बिर्सेका देखिन्थे । विचार, तर्क र सबुत प्रमाणमा जोड दिने वकिलहरू मुढेबलमा उत्रनु निकै नसुहाउने घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *