भर्खरै :

आत्मनिर्भर अर्थतन्त्रको लागि स्वदेशी सामान प्रयोगमा जोड

भक्तपुर, १२ कार्तिक । महेन्द्र विद्याश्रमको आयोजनामा भइरहेको शिक्षक तालिमको समापन कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले राम्रा विद्यार्थीहरूलाई विज्ञानको साथसाथै भूगोल, इतिहास र राजनीतिशास्त्र पढ्न प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै भनपाले ती विषयहरू अध्ययनको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “देशलाई आत्मनिर्भर बनाउन शिक्षालाई जोड दिनुपर्छ । कृषि, जलस्रोत, पर्यटन, जङ्गलजस्ता प्राकृतिक स्रोत–साधनले धनी भएर पनि तिनको उचित व्यवस्थापन नहुँदा नेपाल आर्थिक विकासमा पछि परेको छ ।”
आत्मनिर्भर अर्थतन्त्र विकासको लागि स्वदेशमा उपलब्ध पदार्थहरूमा आधारित उद्योगहरू स्थापना गर्नुपर्ने धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “चिकित्सा शिक्षा अति महँगो भएकोले ख्वप विश्वविद्यालय स्थापना गरी सस्तोमा चिकित्सक उत्पादन गर्ने भनपाको योजना छ । उच्च शिक्षाको लागि भनपाले शैक्षिक ऋणको व्यवस्था गरेको छ ।”
पठन संस्कृतिको विकासको लागि विद्यालयमै पुस्तकालय व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक नारायण प्रसाद झाले भक्तपुर नगरको शैक्षिक स्तर अभिवृद्धि भएकोमा खुशी व्यक्त गदैै भक्तपुर नगर शैक्षिक हबको रुपमा विकास भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले शैक्षिक संस्थाहरूले अनुसन्धान र वैयक्तिक अध्ययनलाई जोड दिई पाठ्यक्रममा रहेको कमी कमजोरी औल्याउन शिक्षकहरू सबल हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालयका प्रबन्ध निर्देशक महेन्द्र प्रसाद मास्केले शिक्षित व्यक्तिले मात्र समाज विकास गर्न सक्ने धारणा राख्दै शिक्षकहरू विद्यार्थीहरूप्रति प्रतिबद्ध भई कार्यस्थलमा अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल अनिल श्रेष्ठ, शिक्षकहरू पदमराज सुवेदी र ज्योति थापाश्रेष्ठले तालिमबाट सिकेको सीपलाई अधिकतमन प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षार्थीहरूलाई तालिममा सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभयो भने विद्यालयको तर्पmबाट निर्देशक मास्केले प्रमुख अतिथि प्रजापति र प्रशिक्षक झालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *