भर्खरै :

के लामो दूरीमा चल्ने बसहरूको लागि सल्लाघारी उपयुक्त उपाय हो ?

केही समयपहिले काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकाका मेयर–उपमेयरको कार्यालयमा भेटघाट कार्यक्रम भयो । त्यसको केही दिनपछि काठमाडौँ महानगरपालिकाका उपमेयरले पूर्व जाने सबै लामो दूरीका बसहरू सल्लाघारीबाट छुट्ने व्यवस्था गर्नु राम्रो हुने आशयको प्रतिवेदन काठमाडौँ महानगरपालिकामा पेश गरिन् । प्रतिवेदन पेश भएको भोलिपल्टैदेखि दुई नगरपालिकाबीचमा एक प्रकारको जुहारी नै चल्यो । भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकासँग नसोधी गरिने यस्तो कुनै पनि निर्णय आफूलाई मान्य नहुने जनायो भने पछि आएर काठमाडौँ महानगरपालिकाले कुनै पनि निर्णय भक्तपुर नगरपालिकाको सहमतिमै मात्र गर्ने बतायो ।
माथि उठाइएका विषयमा प्रवेश गर्नुअगाडि भक्तपुर नगरको भौगोलिक अवस्थाबारे केही कुरा राख्नु उचित ठान्छु । नगरपालिकाहरूमा भक्तपुर नगर सबैभन्दा सानो नगरपालिकामा पर्दछ । यसको क्षेत्रफल जम्मा ६८८.९९ हेक्टर (६.८८९९ व. कि. मि.) मात्र छ । जिल्लाकै हिसाब गर्ने हो भने पनि यो जिल्ला पनि सबैभन्दा सानोमा पर्छ । कुनै बेला साँखु र लुभु क्षेत्र यसै जिल्लामा पर्दथ्यो । राजनीतिकरूपमा तत्कालीन व्यवस्थाको पक्षमा नलाग्दा यो जिल्लाले जहिले पनि प्रतिशोधको सामना गर्नुपर्यो । देशले विभिन्न राजनीतिक परिवर्तन पार गरी अहिलेको गणतान्त्रिक व्यवस्थामा पुगिसक्दा पनि भक्तपुरप्रतिको नकारात्मक सोचमा भने अहिले पनि परिवर्तन आएको देखिएन । यो नगरको भू–उपयोगको अवस्था बसोबास क्षेत्र : ११५.४००, कृषि क्षेत्र : ५१९.१००, बजार क्षेत्र : ५.८००, वन क्षेत्र : ३४.४००, जलक्षेत्र : २२.९००, संरक्षित स्मारक क्षेत्र : ७.७०० को रूपमा क्षेत्र विभाजित छ । भक्तपुर नगरसँग जिल्लाकै अरू नगरपालिकाहरूको जनसङ्ख्या र क्षेत्रफलको हिसाबले धेरै नै फरक पाउँछौँ ।
 
                                              टेबुल नं १
नगरपालिका         क्षेत्रफल                   जनसङ्ख्या                  जनघनत्व
भक्तपुर               ६.८९ वर्ग कि.मि.          ८३,६५८                 १२,७५९ प्रति कि. मि.
मध्यपुर थिमी        ११.४७ वर्ग कि.मि.        ८४,१४२                  ७, ५७२ प्रति कि. मि.
सूर्यविनायक          ४२.४५ वर्ग कि.मि.       ७८,८४५                  १,८५७ प्रति कि. मि.
चाँगुनारायण          ६२.९८ वर्ग कि.मि.       ५८,००६                   ९२१ प्रति कि. मि.
जम्मा                 १२३.७९ वर्ग कि.मि.         ६,०४,६५१                २,४६१ प्रति कि. मि.
राजनीतिकरूपले भक्तपुर नगरपालिकामा सन्निकट केही गाउँ विकास समितिहरू जोड्नका लागि आवाज नउठाएको पनि होइन, तर भोटको राजनीतिका कारणले सम्भव भएन । अरू नगरपालिकाहरूमा जस्तै भक्तपुर नगरपालिकामा सार्वजनिक वा पर्ती जग्गाहरू सा¥है नै कम छ । हामीलाई केही नयाँ कामहरू गर्नका लागि जग्गा खरिद नै गर्नुपर्ने स्थिति छ । एउटा इन्जिनियरिङ्ग कलेज खोल्नका लागि कम्तीमा २५ रोपनी जग्गा आवश्यक पर्छ । अहिले हामीसँग दुई वटा इन्जिनियरिङ्ग कलेजहरू छन् । ती दुबै कलेजहरूको नाममा विभिन्न स्थानहरूमा गरी करिब ४० रोपनी जति जग्गा नगरपालिकाले कलेजलाई भोगाधिकार दिइराखेको छ । भक्तपुरको पुराना विद्यालयहरू विद्यार्थी निकेतन, शारदा, पद्महाई स्कूल पुरानो दरबार क्षेत्रकै जग्गामा बनेका छन् । अरू विद्यालयहरू पनि त्यस्तै सार्वजनिक स्थानमा बनेका छन् । हाल बनिरहेको ख्वप अस्पताल पनि जग्गा अभावकै कारणले सानो १०० बेडको मात्र बनाउन बाध्य छौँ । हाल सञ्चालनमा रहेको जनस्वास्थ्य पनि नगरपालिका सार्नका लागि बनेको भवन हो ।
यी सबै तथ्यहरूले भक्तपुर नगरपालिकाभित्र नगरपालिका वा नगरवासीहरूले सोचेजस्तो विकास निर्माणका कामहरू अघि बढाउन मुश्किलै छ । त्यसकारण, भक्तपुर नगरपालिका भित्रका खाली जग्गाहरूको प्रयोग गर्न हामीले धेरै सोचविचार गर्नुपर्छ । कति जग्गा त भविष्यका पुस्ताका लागि काम गर्न पनि छोडिराख्नुपर्ने हुन्छ । भक्तपुर सल्लाघारीको ९९ रोपनी जग्गामा धेरैले आँखा गाडेका छन् । भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत त्यहाँ रङ्गशाला बनाउन चाहनुहुन्छ । त्यसका लागि उहाँ त्यो जग्गा सूर्यविनायक नगरपालिकाभित्रै पर्छ भन्न पछि परेका छैनन् । कोही त्यहाँ व्यापारिक मल बनाउने, कोही बसपार्क, त कोही पार्क, कोही के कोही के ? तर, भक्तपुर नगरपालिका त्यो जग्गा ख्वप विश्वविद्यालयका लागि सुरक्षित राख्न चाहन्छ । हुन त विश्वविद्यालयको लागि नगरपालिकाले अन्य ठाउँतिर जग्गा नहेरेको होइन । नगरको दक्षिण पूर्वी भेगतिर ७०० रोपनी जग्गा त्यस भेगका जनतासँग छलफल गरी अधिग्रहणको तयारीसमेत भइसकेको थियो । तर, त्यतिबेलाका माओवादी प्रतिनिधिहरूले सामन्तहरू पढाउने विश्वविद्यालयको लागि जग्गा अधिग्रहण गर्न नदिने भनी प्रस्ताव तुहाइदिए । त्यतिबेला सबैको सहमतिमै यो काम अगाडि बढाउनु राम्रो हुने विचारले जग्गा अधिग्रहणको कुरा मुल्तबीमा राखिएको हो, अहिलेसम्मै मुल्तबी नै छ ।
देशमा सङ्घीयता लागु भइसकेको छ । स्थानीय समस्याहरू स्थानीय तहमै समाधान होस् भन्ने मनसायले देशमा तीन तहको सरकार लागु भएको हो । यस्तोमा एउटा छोटो भेटघाटमा उठाएको प्रसङ्गलाई नै आधार मानेर बसपार्क सार्ने कुरा उठाउनु कतिको न्यायसङ्गत हुन्छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले आफ्नो पुरानो बसपार्कहरूमा व्यापारिक भवनहरू बनाएर भएको बसपार्क विस्थापित गरी अन्य नगरपालिकाको जग्गामा आँखा लगाउनु काठमाडौँ महानगरपालिकाजस्तो देशकै ठूलो महानगरपालिकालाई सुहाउने कुरा पटक्कै होइन । यस्तो विषयमा गम्भीर छलफल आवश्यक हुन्छ । हो, यातायात व्यवस्थापनको दीर्घकालीन समाधानको बारेमा सोच्न अब ढिलो गर्नु हुन्न । मेयर–उपमेयरको नेतृत्वमा अध्ययन समिति गठन गर्नुभन्दा विज्ञहरूको अध्ययन समिति बनाएर यसबारेमा समाधान निकाल्नुपर्छ । अब देश माइक्रो बस, बस आदि भन्दा पनि मास ट्रान्सपोर्टेसन प्रणालीतिर हामीले सोच्नुपर्छ । काठमाडौँ महानगरपालिकाको मोनो रेल, मेट्रो चलाउने सपनाहरू कहाँ पुगे त्यसको पनि जवाफ जनतालाई दिनुपर्छ । हो, यो सबै एक दुई दिनमै पूरा हुने सपना पक्कै होइन ।
मेरो विचारमा खाली ठाउँ देख्यो कि केही न केही गरिहाल्नुपर्ने हामी नेपालीको बानी राम्रो होइन । कुनै पनि योजना गर्दा त्यसको बारेमा दीर्घकालीनरूपमा विचार गर्नुपर्छ । अब पनि हामीले चुनावमुखी रूपले मात्र काम गरेर हुँदैन । भक्तपुरकै कुरा गर्ने हो भने हाल निर्माण भइरहेको अस्पताल ठाउँको अभावले सानोमात्र बन्ने भएको छ । ख्वप कलेज, इन्जिनियरिङ्ग कलेजहरू पनि आवश्यक क्षेत्रफलमा बनेका छैनन् । ठाउँको अभाव ती सबै कलेजहरूले भोगि राखेकै छन् । अब भक्तपुरले चाहेर पनि अरू ठाउँ उपलब्ध गराउन सक्ने स्थिति रहेन । त्यसैले बसपार्कजस्तो संरचना निर्माण गर्दा दीर्घकालीनरूपमा विचार गर्नु उपयुक्त हुन्छ ।
केही समयअगाडि काठमाडौँका ट्राफिक प्रमुखले काठमाडौँमा जाम अझै बढ्छ, घटाउने मन्त्र आफूसँग नभएको बताए । सम्बन्धित क्षेत्रको प्राविधिक ज्ञानको कमी नै यसको कारक तत्व हो । यस सम्बन्धमा विज्ञ यातायात इन्जिनियर आशिष गजुरेलले पटक–पटक अन्तर्वार्तामार्फत यस समस्याबारे बोल्नुभएको छ । उहाँका अनुसार चौडा सडक नै समाधान होइन, जाम हट्दैन । मेट्रो रेल बनाइहाल्नुपर्ने उहाँको कथन छ । मोनो रेल पनि काठमाडौँलाई हुँदैन भन्नुहुन्छ । दीर्घकालीन ट्राफिक समस्या समाधानका लागि उहाँले सुझाउनुभएका केही उपायहरू मननीय भएकोले यहाँ फेरि प्रस्तुत गर्दछु ।
१. सार्वजनिक यातायातको विकासमा जोड दिने
२. सवारीसाधन खरिदमा कोटा प्रणाली लागु गर्नुपर्ने
३. जाम हुने स्थानमा प्रवेश शुल्क प्रणाली लागु गर्नुपर्ने
४. ट्राफिक बत्तीको प्रयोग
५. साइकल यात्रा र पैदल यात्रा प्रवद्र्धन गर्ने
६. मेट्रो रेल सञ्चालन गर्ने
यातायात इन्जिनियर आशिष गजुरेलले माथि प्रस्तुत गर्नुभएका उपायहरू क्रमैसँग लागु गर्दै गएमा ट्राफिक समस्या क्रमिकरूपमा हट्दै जानेमा विश्वास गर्न सकिन्छ । ठूल्ठूला चौडा बाटाहरूको प्रारूपको विकास पछि भविष्यमा कथम्कदाचित युद्ध भएमा बाटोमै प्लेन पनि रोक्न सक्न मिल्ने हिसाबले विकास भएको हो । अहिले त्यो सबैको लागि अनिवार्यजस्तै नै भइसकेको छ । युरोप पुगेर फर्केका साथीहरूको भनाइअनुसार युरोपमा व्यवस्थित ट्राफिक प्रणाली प्रयोग गरेर गल्लीजस्तो ठाउँमा पनि जाम रहितरूपमा यातायात सञ्चालन गरिराखिएका छन् रे ।
त्यसैले पछि पछुताउनुपर्ने गरी हतारमा यस्तो जटिल समस्याको समाधान नखोजौँ । दीर्घकालीनरूपमै विज्ञहरूबाट ट्राफिक समस्याको समाधान खोजौँ ।
(लेखक इन्जिनियर हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *