भर्खरै :

हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिका र फ्रान्स

ओ संरा अमेरिका, बेलायत र अस्ट्रेलियासम्मिलित नयाँ सैनिक मोर्चा अउकसले वाशिङ्टन (संरा अमेरिका) र ब्रसेल्स (युरोप)बीचको द्वन्द्वलाई अझ गहिरो बनाएको छ । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले अस्टे«लियासितको पण्डुबी खरिद सम्झौता संरा अमेरिकाको ‘भद्दापन’ भएको स्वीकारे पनि वाशिङ्टन र पेरिस (फ्रान्स) बीचको द्वन्द्व पनि पेचिलो बन्दै गएको छ । संरा अमेरिकाले ‘ढाडमा छुरा हानेपछि’ फ्रान्सले आफ्नै हिन्द–प्रशान्त रणनीतिमा अलगै काम गर्न खोजिरहेको छ । सञ्चारमाध्यमहरूले जनाएअनुसार पेरिसले यतिबेला भारत र जापानसँग आफ्नो सम्बन्ध गहिरो बनाउन खोजिरहेको छ ।
फ्रान्स संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिको महत्वपूर्ण सहयोगी र साझेदार देश हो । चीनलाई घेराबन्दी गर्न बाइडेन सरकारले हिन्द–प्रशान्त क्षेत्रमा बहुपक्षीयताको लघु सञ्जाल बुन्ने योजनालाई ‘फ्रान्सको आक्रोश’ ले पक्कै पनि असहज बनाएको छ । तर, हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकी नीति फ्रान्सको लहडकै कारण पक्कै पनि दबिने छैन भन्ने कुरा उल्लेखनीय छ ।
हिन्द–प्रशान्त क्षेत्रको सन्दर्भमा संरा अमेरिका र फ्रान्सका रणनीतिमा संरचनागत अन्तरविरोध छ । उनीहरूको स्वार्थ, रणनीति, लक्ष्य र विशिष्ट योजना एकअर्कामा खप्टिएका छन् । दुवै शक्तिले सो क्षेत्रमा अग्रपङ्क्तिमा सैनिक परिचालन गर्न खोजिरहेका छन् र चीनलाई घेराबन्दी गर्न आफ्ना सहयोगी र साझेदारहरूबीच सञ्जाल बिस्तार गर्न चाहेका छन् ।
यसैबीच सो क्षेत्रमा पेरिसको उपस्थिति वाशिङ्टनको रणनीतिक खाकाभित्र पर्दछ । यद्यपि, टोकियो र नयाँ दिल्ली दुवै सो क्षेत्रमा संरा अमेरिकी रणनीतिका महत्वपूर्ण बिन्दु हुन् । टोकियो र नयाँ दिल्ली दुवै सो क्षेत्रमा फ्रान्सको सुरक्षा रणनीति बिस्तारका साझेदारहरू पनि हुन् । वास्तवमा टोकियो र पेरिसबीच सुरक्षा सहकार्य गहिरो बनाउन रक्षा र अन्य बन्दोबस्तीका सामग्री आपसमा आदानप्रदान गर्ने द्विपक्षीय सहमति भएको थियो । त्यसका साथै सन् २०१८ मा पेरिस र नयाँ दिल्लीबीच बन्दोबस्तका सामग्री सहायतासम्बन्धी सम्झौता पनि भएको थियो ।
यस अर्थमा फ्रान्सको जापान र भारतसँगको रक्षा र सुरक्षा सहकार्य बलियो जगमा अडेको छ । केही हदसम्म यस्ता सहकार्य हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकी रणनीति परिचालनको हिस्सा पनि हो ।
पण्डुबी खरिद सहमतिबारे फ्रान्स, अस्टे«लिया र संरा अमेरिकाबीचको सङ्कटले हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकी रणनीतिक परिचालनमा खासै असर नगर्ला । तर, बाइडेन सरकारले आन्तरिक अन्तरविरोधको कारण हिन्द–प्रशान्त रणनीतिलाई पक्कै सीमित गर्नुपर्ने हुन्छ ।
संरा अमेरिकाले जापान, भारत, अस्टे«लिया, बेलायत र फ्रान्सलाई सैनिक परिचालन र कूटनीतिक गतिविधिबारे साझा नीति र निकटको सहकार्य कायम गर्न सङ्गठित बनाएको छ । त्यसका प्रमुख कारणमध्ये ‘चीनको खतरा’ बारे साझा समझदारी पनि हो । यद्यपि, चीनको खतरा के हो, त्यसलाई कसरी सम्हाल्ने र उनीहरूका लक्ष्य के हुन् भन्ने प्रश्नको उनीहरूका फरक फरक उत्तर छन् । अर्थात चीनबारे उनीहरूका फरक–फरक हिसाब किताब छन् ।
अझ स्पष्ट शब्दमा भन्दा टोकियोका नीति निर्माताहरूका आँखामा पेइचिङले पूर्वी चीन सागरमा जापानी अधिकार र सुरक्षा चासोलाई चुनौती दिइरहेको छ । जहाँसम्म नयाँ दिल्लीको कुरा छ, पेइचिङसँगको सीमा विवादका अतिरिक्त हिन्द महासागरमा चीनले आफ्नो प्रभुत्वलाई चुनौती दिनेमा चिन्तित छ । लण्डन र पेरिस दुवैले हिन्द–प्रशान्त क्षेत्रलाई आफ्नो प्रभाव बिस्तार गर्ने र विश्वव्यापी प्रभावको निम्ति आफ्नो मनोकांक्षा प्रदर्शन गर्ने महत्वपूर्ण थलो मानेका छन् ।
तथापि, संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको लक्ष्य भनेको वाशिङ्टनको क्षेत्रीय प्रभाव कायम राख्नु हो । आधारभूतरूपमा संरा अमेरिकाले आफ्ना स्वार्थ अघि बढाउन धेरै सहयोगी र साझेदारहरूको समर्थनबाट लाभ उठाइरहेको छ । संरा अमेरिकाले आर्थिक र व्यापार सहकार्यका लाभ तिलाञ्जली दिने र युद्धका जोखिम उठाउने नीति अवलम्बन गरेको छ । तथापि, त्यसले खासमा जापान, फ्रान्स र बेलायतजस्ता देशहरूका वैदेशिक अर्थतन्त्र र सुरक्षा रणनीतिविरुद्ध काम गरिरहेको छ ।
यस अर्थमा वाशिङ्टनविरुद्ध पेरिसको पछिल्लो आक्रोशले हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकी सक्रियता कति पनि कम गर्ने छैन । संरा अमेरिकी हिन्द–प्रशान्त रणनीति उसका सहयोगी र साझेदारका समर्थनमा भर पर्ने भएकोले वाशिङ्टन पश्चिमा प्रणालीभित्रै मिल्नै नसकिने द्वन्द्वबाट पीडित हुनेछ । जापान, बेलायत, फ्रान्स, अस्ट्रेलिया, भारत र दक्षिण चीन सागर वरपरका अन्य देशहरूले हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकासँग एकातिर ‘सहकार्य एवम् द्वन्द्व’ को सम्बन्ध कायम राख्नुपर्छ । उनीहरूले वाशिङ्टनसँग विशेषतः सुरक्षा क्षेत्रमा रणनीतिक परिचालनको निम्ति सहकार्य गर्नेछन् । अर्कोतिर स्वार्थ र मागको अन्तरविरोधको कारण उनीहरू वाशिङ्टनको रणनीतिबाट अलग बस्न सक्छन् ।
अर्को शब्दमा हिन्द प्रशान्त क्षेत्रमा साझा नीतिसहित संयुक्त मोर्चा बनाउने वाशिङ्टनको चाहनाले पक्कै ठुलो धक्का खानेछ र अन्ततः हार भोग्नेछ ।
(लेखक दक्षिण चीन सागर अध्ययन राष्ट्रिय प्रतिष्ठानअन्तर्गत विश्व जलसैनिक अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *