यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा लागु भयो । विज्ञहरूले अनुमान गरेजस्तै सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै गयो । मृत्यु हुनेहरूको सङ्ख्याले सबैलाई नराम्रोसँग झस्काइदियो । त्यसमाथि अस्पतालहरूमा अक्सिजन र बेडको अभावले झनै तर्साइदियो । यसले देशको वर्तमान स्वास्थ्य व्यवस्थाको असफलता नराम्रोसँग उजागर गरिदियो । संविधानले शिक्षा र स्वास्थ्य जनताको मौलिक हकको रूपमा व्याख्या गरेको छ । त्यस्तै संविधानमा समाजवादउन्मुख देशको रूपमा उल्लेख छ । तर, देशमा कम्युनिस्ट भनाउँदाको दुईतिहाइको सरकारले त्यो लक्ष्यको निम्ति सिन्को पनि भाँचेन । जनता लाचार छन् । दोष क–कसलाई दिने ? पञ्चायतकालीन मानसिकताबाट बाहिर निस्कन नसकेका नैतिकहीन कर्मचारीतन्त्र वा राजनीतिज्ञ वा हामी आफै ?
यसलाई बुझ्न म केही पुराना कुराहरू राख्न चाहन्छु ।
भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि स्थापना गरेर सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान थाल्यो । त्यसको सफलतापछि २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ्ग कलेज सुरु भयो । लगत्तै भनपाले २०६१ मा ख्वप पोलिटेक्निक र २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ कलेज सुरु गर्यो । तर, यहाँ उल्लेख गर्न खोजेको कुरा ख्वप पोलिटेक्निक (ख्वप बहु–प्राविधिक अध्ययन संस्थान) को हो । ख्वप इन्जिनियरिङ कलेजको २०५९÷११÷२९ गते बसेको सञ्चालक समितिको बैठकले ३ वर्षे ओभरसियर र स्टाफ नर्सका कक्षा सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट अनुमति लिने निर्णय गर्यो । त्यसको २ हप्तापछि भक्तपुर नगरपालिकाले २०५९÷१२÷१३ गते सम्बन्धित निकायमा निवेदन पेस गर्यो । नपाका प्रतिनिधिहरूले कहिले नर्सिङ्ग काउन्सिल र कहिले CTEVT गर्दै झन्डै १४ महिनासम्म धाए । कक्षा सञ्चालनको अनुमति दिन आनाकानी गर्दै झुलाइयो । विभिन्न दबाब दिएपछि २०६१÷०१÷१० गते कक्षा सञ्चालन अनुमति प्राप्त भयो ।
यो संस्थानमा हाल दुई विषयको पढाइ हुन्छ ।
१. प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्स
२. डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग
यो संस्थान चलाउन CTEVT सानोठिमीबाट स्वीकृति लिई सञ्चालनमा ल्याएको २ वर्षभित्र आफ्नै ५० बेडको अस्पताल खोल्नुपर्नेछ भनी लेखिएको रहेछ ।
नर्सिङ कलेजको सफलता विद्यार्थीले अस्पतालमा प्रयोगात्मक शिक्षा कतिको लिन वा दिन सकिन्छ भन्नेमा भर पर्छ । यसैलाई ध्यानमा राखेर सुरुमा भक्तपुर अस्पताल, वीर अस्पताल, डा. इवामुरा अस्पतालमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा लिने व्यवस्था मिलाइयो । यसमा कलेजले धेरै झन्झट व्यहोर्नु पर्यो । यसैलाई मनमा लिएर २०६४÷७÷१८ गते ख्वप– बहु प्राविधिक अध्ययन संस्थानले ५० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णयसहित स्वीकृतिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा निवेदन पेस गर्यो । विभिन्न सेवा सुविधासहित नगरपालिकाको आफ्नै जनस्वास्थ्य केन्द्र सञ्चालनमा रहेको जानकारीसहित २०६५÷०२÷१२, २०६७÷०४÷१९ गते गरी पटक–पटक ताकेता गर्दा पनि नपाले अस्पताल सञ्चालनको अनुमति पाएन । यतिका बीच २०६६ असार मसान्तसम्म प्रत्येक नर्सिङ कलेजको आफ्नै ५० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने निर्णय सार्वजनिक गरिसकेको थियो । CTEVT को कलेज नै बन्द गरिदिनेसम्मको पटक–पटकको धम्की र आफ्नै अस्पताल खोल्नका लागि कलेज र स्वास्थ्य मन्त्रालयबीचको जुहारीका बीच २०७३ चैतमा २५ शय्याको अस्पतालको सञ्चालन स्वीकृति प्राप्त भएको थियो । यो अस्पताल निर्माणको स्वीकृतिको लागि मात्रै हामी भक्तपुरवासीलाई ९ – १० वर्षको समय लाग्यो । यो स्वीकृति पनि जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले दिएको हो । जिल्ला जनस्वास्थ्य केन्द्र आफै ख्वप पोलिटेक्निक संस्थानको सञ्चालक समितिको सदस्य हो । ख्वप कलेज, ख्वप उच्च मावि, ख्वप इन्जिनियरिङ्ग कलेजहरूको स्थापना र सञ्चालनका आफ्नै कथा–व्यथाहरू छन् । भनपाले ख्वप विश्वविद्यालयको सञ्चालनको स्वीकृति आजसम्म पाएकोे छैन । राम्रो काम गर्न पनि कतिको दुःख खेप्नुपर्छ भन्ने ज्वलन्त उदाहरण हो यो ।
कतिपय भक्तपुरवासीहरू भक्तपुर अस्पताललाई नै राम्रो नबनाई किन नगरपालिकालाई ख्वप अस्पताल बनाउनु परेको होला भनी प्रश्न गर्छन् । भक्तपुर अस्पतालको अवस्था पहिले आजको जस्तो थिएन । डा. अशोकानन्द मिश्र, डा. राणाको पालामा यो अस्पतालले भक्तपुरवासीको खुबै मन जितेको थियो । तर, पछि विस्तारै अस्पतालको स्तर खस्किँदै गयो । नगरपालिका र यहाँका जनप्रतिनिधिहरूले नगरपालिकासँग मिलेर काम गर्ने प्रस्ताव नगरेको पनि होइन । तर, त्यो प्रस्तावले कहिल्यै मूर्तरूप लिन सकेन । बाध्य भएर आफ्नै अस्पताल खोल्नुपरेको हो । यो अस्पताल कसैको विरोधमा खोलेको होइन, यति सानो अस्पतालले भक्तपुरको सबै स्वास्थ्यसम्बन्धी आवश्यकता पूरा गर्नसक्दैन । यो अस्पताल विशिष्टिकृत अस्पताल होइन, जनरल अस्पतालमात्र हो । विशिष्टिकृत अस्पतालको लागि भक्तपुरमा भक्तपुर अस्पताल परिसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पताल छन् । भक्तपुरको पूर्वमा ताथलीमा क्यान्सर केन्द्र खुलेको छ । त्यस्तै ख्वप अस्पतालकै एउटा तला आँखाको लागि भनेर छुट्याइएको छ । सङ्घीय सरकारले भक्तपुर अस्पताललाई विस्तार गर्ने योजना ल्याइसकेको छ । त्यस्तै दुवाकोटमा पनि सङ्घीय सरकारले ६०० बेडको अस्पताल बनाउने निर्णय गरिसकेको छ । यो सबै हिसाबले शिक्षा क्षेत्रमा जस्तै भक्तपुरले निकट भविष्यमा स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने निश्चित छ ।
हाल भक्तपुर नगरभित्र भक्तपुर अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, जिल्ला सामुदायिक आँखा केन्द्र, सिद्धि स्मिृति बाल तथा महिला रोग प्रतिष्ठान र ख्वप अस्पताल गरी (पहिलेको जनस्वास्थ्य केन्द्र) ७ वटा अस्पतालहरू सञ्चालित छन् । त्यस्तै भनपाका वडा नं ५ र २ मा जनस्वास्थ्य केन्द्रहरू सञ्चालित छन् । नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेदिक औषधालय) र जापानिज सहयोगमा निर्मित श्वासप्रश्वास पुनस्र्थापना केन्द्र पनि हाल सञ्चालनमा छन् । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा पनि ख्वप अस्पताल च्याम्हासिंहमा साधारण मोतिबिन्दुको अपरेसनको सुविधा सेवा उपलब्ध छ । वडा नं १ मा छिट्टै जनस्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइँदै छ भने वडा नं १० मा एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । ख्वप अस्पताल (पहिलेको जनस्वास्थ्य केन्द्र) ले अहिले पनि दैनिक ५५० देखि ६०० सम्मको बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको छ । कोभिड–१९ पछि भक्तपुर अस्पतालले पनि आफूलाई धेरै सुधार गर्दै लगेको छ भने भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशभरि नै आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । भक्तपुर देशभरिकै बिरामीहरूको आशाको केन्द्र भइसकेको छ ।
हो, अस्पताल बनाउन गा¥हो छैन तर चलाउन निकै गा¥हो छ । ख्वप अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि बिरामीको चापबारे हामीले सोचेकै छैनौँ अहिले । यसले भक्तपुरको पूर्वीभेगीय जनताको पनि ठूलो चाप थेग्नुपर्नेछ । नगरपालिकाले यसबारेमा अहिले नै सोच्न थाल्दा राम्रो हुनेछ । जसरी रोग नै लाग्न नदिनको लागि व्यायामशाला बनाएर नियमित व्यायाम गर्नका लागि भक्तपुरवासीलाई हौस्याएको छ त्यसरी नै सानातिना बिमारीका लागि प्रत्येक वडा–वडामा जनस्वास्थ्य केन्द्र बनाएर स्वास्थ्य उपचारको व्यवस्था मिलाई दिनुपर्छ । घर–घरमा नर्सिङ सेवालाई थप बलियो वा व्यवस्थित बनाउनुपर्छ । इन्स्युरेन्स सेवामा अहिले ४० प्रतिशत भक्तपुरवासीको सहभागिता देखिएको छ । यसलाई शत प्रतिशत बनाउन नगरपालिकाले घरदैलो नर्सिङ सेवामा स्वास्थ्य बीमाबारे जनतालाई प्रशिक्षित गर्ने कार्यको पनि थालनी गर्नु आवश्यक छ । स्वास्थ्य बीमा सेवाको राम्रो प्रयोग गर्न सकेमा अस्पताल चलाउन गा¥हो पर्दैन होला । नत्र, अस्पताल सञ्चालन सा¥है नै महँगो सेवा हुनेछ । अस्पताल सञ्चालन अलि सजिलो बनाउने भनेको मेडिकल कलेजसँगै सञ्चालन गरेर नै हो । सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले पनि केन्द्रलाई कलेजकै रूपमा विकास गर्ने सोच अघि सारेको छ । नगरपालिकाले यसमा सहयोग गर्नुपर्छ जस्तो लाग्छ ।
त्यस्तै अस्पतालमा अर्को हेर्नुपर्ने क्षेत्र भनेको औषधि बिक्री वितरण (फार्मेसि) हो । नेपालमा यो व्यवसाय निकै नै नाफामूलक व्यवसायको रूपमा लिइन्छ । ख्वप अस्पतालले यो व्यवसायलाई सेवामूलक व्यवसायको रूपमा के कसरी सञ्चालन गर्न सकिन्छ, त्यसबारे खोजबिन गर्नु आवश्यक देखिन्छ । अहिले अस्पतालले खुला टेन्डरमार्फत औषधि आपूर्ति गर्दछ । आफूलाई चाहिने सबै औषधि सीधै निर्माताबाटै खरिद गर्न सकिएमा भक्तपुरवासीलाई धेरै नै फाइदा हुने थियो । निकट भविष्यमा पूर्ण रूपमा सञ्चालन हुन गइरहेको ख्वप अस्पतालले यी र यस्ता कुराहरूमा ध्यान दिन सकेको खण्डमा सुनमा सुगन्ध हुनेछ ।
Leave a Reply