भर्खरै :

भारतको छिमेकी र मित्रताको आफ्नै परिभाषा

९ कार्तिक २०७८ को दिन नेपालमा नेपाल – भारत मैत्री समाजले आयोजना गरेको एक स्वागत समारोहमा भारतका पूर्वराजदूत रञ्जित रेले ‘नेपाल–भारतको खुला सिमाना दुवै देशका लागि वरदान’ बताए (नेपाल समाचार पत्र–१० कार्तिक २०७८) ।
खुला सिमानाको कारण अवैध हात–हतियारको व्यापार, चेलीबेटी बेचबिखन, वन तस्करी, लागु–पदार्थ नेपाल प्रवेश, हत्या, हिंसा, चोरी–डकैती, ‘बोक्सी’ र भारतबाट आउने नक्कली वैद्य– झारफुक एवम् बली चढाउन भारत लैजाने आपराधिक गतिविधि आदि व्यापक र सजिलो भएको हो भन्ने कुरा भुक्तभोगी नेपाली जनतालाई थाहा छ ।
यस्तो ‘अभिशाप’ लाई रञ्जित रेले ‘वरदान’ भन्नु त अचानो र खुकुरीको उखानजस्तै हो ।
भारतले समयमा भारतीय बन्दरगाहबाट रासायनिक मल आउन दिँदैन । मलको हाहाकार हुँदा नेपाली किसानहरू महँगो मूल्यमा म्याद नाघेको रासायनिक मल भारतसँगै किन्न बाध्य हुन्छन् । यसको कारण पनि खुला सीमा नै हो । यस्तो अवस्थामा नेपाली सीमाका हरेक किसान परिवारले भारतको राजनैतिक व्यवस्थाप्रति धारे हात लगाउनु स्वाभाविक हो । खुला सीमाका कारण सीमाका गरिब नेपाली जनता भारतीय अपराधीहरूबाट सताइन्छन् । कुनै पनि बेला ‘खुशी खुशी आफै निगरानी राख्ने’ कुरा पूर्णरूपले असत्य हो । कुनै अपराध गरी अपराधी भागेपछि भारतीय गुन्डाहरूबाट ‘स्थानीय बासिन्दा’ पीडित हुन्छन् र प्रहरीको खानतलासीले पनि जनात नै पीडित हुन्छन् ।
नेपालमा राजनैतिक अस्थिरता र अशान्त गतिविधिको कारण भारतको राजनीति र भारतीय गुप्तचर विभाग ‘रअ’ भएको अनुभवसमेत नेपाली जनसमुदाय गर्छन् । भारतको पूर्व ‘जनसङ्घ’ तर आजको ‘भारतीय जनता पार्टी’ एक दक्षिणपन्थी राजनैतिक पार्टी हो । ‘शिव सेना’ तिनीहरूकै एक अर्ध सैनिक युवा शक्ति बताइन्छ । नेपालको विभिन्न भागमा त्यस सङ्गठनका ‘शाखाहरू’ भएको बरोबर हुने प्रदर्शनहरूले प्रस्ट्याउँछ ।
भारतीय जनता पार्टीको युवा शक्तिले बारम्बार भारतकै पूर्व पश्चिम र उत्तर–दक्षिणमा अनेक घटनाहरू गराइरहेको भारतकै समाचारपत्रहरू, रेडियो, दूरदर्शन, दूरसञ्चारबाट पनि थाहा भइरहेको हुन्छ ।
नेपाल र भारतबीचको समस्याको कारण पारदर्शिता नभएर होइन, बरु हरेक घटना पारदर्शी छ तर त्यसमा भारतीय अपराधीहरू वा प्रशासनको हात हुन्छ । त्यसबारे भारतको सीमा चौकीका अधिकारीहरूले कहिल्यै पनि आफ्नो उत्तरदायित्व देखाउँदैनन् । भारतीय सीमा प्रहरीले नेपाली युवाहरूलाई गोली हानेर मारेको घटना होस् वा महाकाली नदीको तुइनमा चढेको नेपाली युवा यात्रुको हत्याको मामला होस् ¤
माओवादी आन्दोलन, नयाँ संविधान, विवादित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा, आर्थिक साझेदारी, रोटीबेटीको सम्बन्ध, उत्तरी छिमेकीका बारेमा आफ्नो अनुभव, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिज्ञासाबारे समेत त्यस कार्यक्रममा रञ्जित रेले बताएको समाचारमा बताइएको छ ।
माथिका विषयहरूमा भारतीय प्रम नरेन्द्र मोदीलाई थाहा नहुने कुरै छैन । उहाँ नेपालको औपचारिक भ्रमणभन्दा पहिले पनि नेपालको बारे जनाकारी राख्नुहुन्थ्यो भन्नेबारे कसैलाई दुविधा छैन । नेपाल र भारतीय जनताको सम्बन्ध प्राचीन कालदेखिकै हो । नेपाल र भारतमा अनेक राजनैतिक उथलपुथल हुँदा जनता पीडित थिए । बेलायती साम्राज्यवादीहरूबाट भारतमा पहिले आक्रमण भयो, पछि नेपालमा । भारतमा बेलायती उपनिवेशी सरकारले नेपाललाई अर्ध–उपनिवेश बनायो र तिब्बतमा आक्रमण ग¥यो  । यसरी बेलायती साम्राज्यवाद र उपनिवेशवादको कारण भारतीय जनता २०० वर्ष आक्रान्त भए भने नेपाली जनता पनि एक – डेढ सय वर्ष आक्रान्त रहे ।
तर, आज भाजपाको सरकार बेलायती र अमेरिकी साम्राज्यवादी दृष्टिकोणबाट प्रभावित भएको देख्दा नेपाली सचेत जनता आश्चर्यमा छन् भने प्रगतिशील भारतीय जनता पनि दुःखी र चिन्तित भएको अनुभव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *