भर्खरै :

आफ्नो आङको भैँसी नदेख्ने !

‘दक्षिण एसियामा चीनको उपस्थिति भारतको हितविपरीत’ शीर्षकको समाचार ८ कार्तिक २०७८ को ‘नागरिक दैनिक’ मा छापियो । भारतीय सेनाका ‘चिफ अफ डिफेन्स स्टाफ जनरल’ अर्थात् प्रधानसेनापति विपीन रावतले नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा चिनियाँ सहयोग भारतको राष्ट्रिय हितविपरीत भएको बताए ।
६ कार्तिकको दिन भारतको गुवाहाटीमा आयोजित प्रथम रविकान्त सिंह स्मृति लेक्चरको क्रममा जनरल रावतले चीनले दक्षिण एसिया र हिन्द प्रशान्त क्षेत्रमा बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनामार्फत दखल दिन खोजेको बताए ।
पछिल्लो समय चीनले यस क्षेत्रमा भू–रणनीतिक प्रतिस्पर्धा र ठूलो लगानी गरेको साक्षी भारत भएको बताउँदै उनले बङ्गलादेश र म्यानमारले चीनबाट ठूलो मात्रामा सैन्य सहयोग भित्र्याएको दाबी गरे ।
भारतीय जनरल रावतले भारतको छिमेकी मुलुकहरूमा लोकप्रियता कमाउन चीनलाई आर्थिक शक्तिको प्रयोग गरेको आरोप लगाए । यसकारण, जनरल रावतले छिमेकीहरूसँग भारतले निरन्तर संवाद गर्नुपर्ने र उनीहरू आफ्ना स्थायी मित्रशक्ति हुन् भन्ने भरोसा दिलाउनुपर्ने बताए ।
जनरल रावतको उपरोक्त विचार आफ्नै निजी हो वा भारत सरकारकै हो छलफलकै विषय हो । तर, नेपाल, पाकिस्तान, भुटान, बङ्गलादेश, म्यानमार, श्रीलङ्का र माल्दिभ्स आदिसँग चीनसँगको आर्थिक सहयोग एवम् सम्बन्धबारे उनले ‘आर्थिक शक्ति प्रयोग’ को आरोप लगाए । तर, जनरल रावतलाई राम्रै थाहा छ– चीन एक प्राचीन एसियाली देश हो । नेपाल, भुटान, सिक्किम (अहिले भारतको अङ्ग बन्यो), भारत, बङ्गलादेश, पाकिस्तान, बर्मा (म्यानमार), श्रीलङ्का, माल्दिभ्स पनि एसियाली देश र प्राचीन कालदेखि अनेक सांस्कृतिक एवम् राजनैतिक सम्बन्ध भएका देशहरू हुन् ।
‘आर्थिक शक्ति प्रयोग’ ले छिमेकीलाई ‘चिन्ता’ हुने हो भने सन् १९४९ देखि १९५६ को पहिलो ६ महिनासम्म संरा अमेरिका र अमेरिकाद्वारा नियन्त्रित आर्थिक संस्थाहरूले भारतलाई ७८ करोड ९१ लाख डलर ‘सहायता’ दिए । १९५९ को दोस्रो ६ महिनाबाट जुलाई १९६२ को अन्तसम्म तिनीहरूले भारतलाई ३ अर्ब ८७ करोड २४ लाख डलर ‘सहायता’ दिए । ती वर्षहरूमा सालाखाला प्रत्येक वर्षमा १ अर्ब २९ करोड ८ लाख डलर भारतलाई ‘सहयोग’ दिएका थिए । तर, भारतका कुनै छिमेकीले अमेरिका र अमेरिका नियन्त्रित संस्थाहरूले दिएको ‘सहायता’ बारे चिन्ता व्यक्त गरेका थिएनन् ।
दोस्रो, जहाँसम्म बङ्गलादेश र म्यानमारले चीनबाट ठूलो मात्रामा सैन्य सहयोग भित्र्याएको दाबी गरेको विषय छ– भारतले पनि आजसम्म संरा अमेरिका, रूस र अन्य नाटो देशहरूसँग अत्याधुनिक हातहतियार भित्र्याएको छ ।
तेस्रो, नेपाल, श्रीलङ्का र माल्दिभ्समा चीनले आफ्नो रणनीतिक उपस्थिति जनाउने ठूलो लगानी गरेको बताइएकोबारे कुरा गर्दा भारतको विशाखापटनममा दुई दशकदेखि नै अमेरिकी जलसेना तैनाथ छ र भारतको समुद्री किनारामा अमेरिकी सेनाले गस्ती गरिरहेको तथ्य राख्नु उपयुक्त छ ।
चौथो, छिमकी सानो देश सिक्किममाथि शक्तिको प्रयोग गरी आफूमा मिलाउनु के भारतको राम्रो छिमेकीपन हो ?
पाँचौँ, छिमेकीहरूसँग भारतको निरन्तर संवाद हुनुपर्ने र आफ्नो स्थायी मित्रशक्ति भएको भरोसा दिने एउटा विषय हो । तर, नेपालसँग भारतले ७० ठाउँको सीमा विवादमा छलफल गर्न अस्वीकार गर्दै आएको छ । त्यसैगरी, लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय सेना राखी एकतर्फी नेपाली भूमीबाट तिब्बत जाने सडक बनाएको जगजाहेर छ । यसकारण, भारतले भाषा, भावना र व्यवहारमा समानता ल्याउन सके एसियामा अत्यन्त राम्रो हुने थियो ।
भारतीय पूर्व जर्नेल जी.डी बक्सीले पनि २०७८ जेठ ९ को न्यूज पोष्टको अन्तर्वार्तामा भनेका थिए, “भारतीय सेना छत्तीसगढमा माओवादी (नक्सलवादीहरू) सँग लडिरहँदा नेपाली माओवादीलाई सहयोग गर्नु ‘आफैमाथिको (आत्मघाती) गोल’ थियो ।”
जर्नेल बक्सीजी भारतले ‘माओवादी’ नाम दिएर प्रचण्ड र बाबुराम भट्टराईहरूमार्फत नेपाल कब्जा गरी भारतीय कम्युनिस्टहरूमाझ पनि भारत प्रगतिशील सरकार भएको देखाउन चाहन्थे । त्यसैले प्रचण्ड र बाबुरामहरूले ‘दक्षिण एसियाको एक कम्युनिस्ट शक्ति’ को छाता सङ्गठन बनाउन खोजेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *