भर्खरै :

अक्टोबर क्रान्तिको गाथा !

हरेक दिन मजदुर बस्तीको धुवाँ र तेलको गन्ध मिसिएको हावामा कारखानाको साइरनको कर्कश स्वर गुञ्जिरहन्थ्यो । साइरनसँगै उदास मानिसहरू भत्र्ीत हुँदै ससाना धुलाम्य घरहरूबाट सडकमा निस्कने गर्थे । तिनीहरू पर्याप्त निदाउन पाएका हुन्नथे, थकित शरीर । चिसो झिसमिसे उज्यालोमा उनीहरू कच्चा सडक पार गर्दै बडो निर्मम तथा निश्चिन्त दृष्टिले पर्खिरहेका कारखानाका अग्ला ढुङ्गे घरतिर लाग्थे । कारखानाबाट दर्जनौँ चिल्ला, चारकुने आँखाहरूले सडकमा प्रकाश फालिरहेका हुन्थे । हिँड्दा खुट्टामुनि हिलो छ्याप्छ्याप् हुन्थ्यो । मजदुरका अल्छीलाग्दा स्वरहरू सुनिन्थे । उनीहरूका फोहर गालीले गन्हाउने गल्लीहरू थप प्रदूषित हुन्थे । मसिनका कर्कश आवाज र बाफको फक्फक् आवाज हावामा उड्दै आउँथ्यो । अग्लाअग्ला काला चिम्नीहरू अत्यन्तै कठोर देखिन्थे । काराखानाका भद्दा चिम्नीको धुवाँले गाउँलाई ढाक्थ्यो ।
सन् १९०७ मा प्रकाशित गोर्कीको ‘आमा’ उपन्यासकै प्रथम अध्यायको प्रथम अनुच्छेद हो यो । रूसी क्रान्तिभन्दा अगाडि त्यहाँका मजदुरहरूको हालत के थियो भन्ने उपन्यासको प्रारम्भमै चित्रण गरिएको छ । कामदार वर्गमाथिको शोषण, दमन, विद्रोह र नयाँ युगको सूत्रपातको कथा हो गोर्कीको ‘आमा’ ।
सन्दर्भ रूसी अक्टोबर क्रान्तिको । कुनै शासनसत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप, विद्रोहलाई क्रान्ति भनी प्रज्ञाको शब्दकोशमा उल्लिखित छ । क्रान्तिको अर्थ आमूल परिवर्तन, उथलपुथल, हेरफेर, अदलाबदली पनि हो । तत्कालीन रूसी क्यालेन्डरअनुसार अक्टोबर महिनामा भएको क्रान्ति भएकोले नामकरण त्यसरी नै गरियो । तर, ग्रेगरी क्यालेन्डरअनुसार सन् १९१७ नभेम्बर ७ को दिन रूसमा सोभियत कम्युनिस्ट पार्टीका नेता लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्न भएको थियो । त्यसैले यो साता विश्वका विभिन्न देशमा यसको चर्चापरिचर्चा अझ सघनरूपमा गरिँदै छ ।
मानवमुक्तिको निम्ति क्रान्ति
मानिस स्वभावतः स्वतन्त्रता चाहन्छ, ऊ स्वाधीन हुन चाहन्छ । मानिस कसैको दासता स्वीकार्दैन । अन्याय र अत्याचारविरुद्ध लड्ने चेतना मानिसमा मात्र छ । मानिस चेतनशील एवम् विवेकशील प्राणी पनि हो । सृष्टिमै सबभन्दा उत्कृष्ट प्राणीको रूपमा मानिसलाई लिइन्छ । यही प्राकृतिक स्वभावको कारण संसारमा अनेक क्रान्तिहरू भए । अक्टोबर क्रान्ति पनि त्यसैको सिलसिला हो ।
संसारमै पहिलोपटक मजदुरवर्गको व्यवस्थित, सङ्गठित क्रान्तिबाट सर्वहारावर्गको राज्यसत्ता स्थापना भएको थियो । मजदुरवर्ग मुक्त भएका थिए । शोषणका दाम्लाहरू चुँडिएका थिए । अक्टोबर क्रान्तिभन्दा अगाडि पनि थुप्रै क्रान्तिहरू भएका थिए । दास विद्रोहहरू भए, सामन्तवादविरुद्ध पुँजीपतिवर्गले क्रान्ति गरे । तर, ती क्रान्तिपश्चात् एक खालको शोषणको अन्त भई अर्को खालको शोषण कायम भइहाल्थ्यो । समाजमा वर्गीय भेद कायम रहिरह्यो ।
अक्टोबर क्रान्ति अगाडिको सबभन्दा महत्वपूर्ण एवम् उल्लेखनीय क्रान्ति फ्रान्सेली राज्यक्रान्तिलाई लिइन्छ । सन् १७८९ देखि १७९९ सम्म फ्रान्समा सम्पन्न क्रान्तिको फलस्वरूप राजा लुई सो¥हौँलाई गद्दीबाट हटाइयो र गणतन्त्रको स्थापना भयो तर अन्ततः नेपोलियनको तानाशाही स्थापित भयो । फ्रान्सेली राज्यक्रान्तिमा स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा दिइएको थियो । तर, सामन्तवर्गको शोषणको ठाउँमा पुँजीपतिवर्गको शोषण कायम हुन गयो । तावाबाट उम्किएको माछो भुङ्ग्रोमा परेझैँ भयो । आर्थिक समानताविनाको स्वतन्त्रता एवम् समानताको अर्थ हुँदैन ।
सन् १८४८ मा कार्ल माक्र्स र एँगेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशित गर्नुभयो । त्यसबाट उत्पादनका साधनको सामाजिकीकरण र वर्गीय शोषणको अन्तको आह्वान गरिसकिएको थियो । कम्युनिस्ट घोषणापत्रलाई साक्षी राखेर सन् १८७१ मा फ्रान्सको पेरिसमा मजदुरहरूले विद्रोह गरे र आफ्नो सत्ता स्थापना गरे । तर, त्यो सत्ता मात्र ७१ दिन टिक्यो । क्रान्ति असफल भयो । प्रतिक्रियावादीवर्गले क्रान्तिलाई मजदुरको रगतमा डुबाइदियो । तर, अक्टोबर १९१७ मा मजदुरवर्गले व्यवस्थित, सचेत र सङ्गठित क्रान्ति गरे । अक्टोबर क्रान्तिको पछाडि क्रान्तिकारी दर्शन थियो, विचारधारा थियो, कार्यक्रम थियो, युद्धनीति थियो र एक नयाँ समाज निर्माण गर्ने योजना थियो ।
पेरिस कम्युन असफल भएपनि यसले माक्र्सवाद सही छ भन्ने प्रमाणित ग¥यो । पेरिस कम्युनले मजदुरवर्गलाई एउटा शिक्षा पनि दियो, पुँजीपतिवर्गले बनाएको राज्य संयन्त्र कब्जा गर्नुभन्दा त्यो पुरानो संरचनालाई ध्वस्त पारी नयाँ संरचना बनाउनु आवश्यक छ । यही सिद्धान्तलाई चिनियाँ क्रान्तिका नेता माओ त्से तुङले अपनाउनुभयो । उहाँले भन्नुभयो, “हामी पुरानो संसारलाई ध्वस्त पार्नमात्र होइन नयाँ संसार निर्माण गर्न पनि उत्तिकै सिपालु छौँ ।” सर्प मरे पनि सर्पको पुच्छर हल्लिरहन्छ भनेझैँ प्रतिक्रियावादीवर्गको अवशेष बाँकी रहन्छ । घाँसभित्र सल्बलाइरहेको हरियो सर्पजस्तो शोषकवर्गलाई दबाइरहनुपर्ने हुन्छ । चिनियाँ साहित्यकार लु शूनले भन्नुभयो – “पोखरीमा खसेको बहुला कुकुरलाई नमरेसम्म टाउकोमै हानिरहनुपर्छ ।”
अक्टोबर क्रान्तिले साम्राज्यवादीको लूट र दमनको सिकार भएको एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका जनतालाई मुक्तिको युद्ध लड्न प्रेरित ग¥यो । अक्टोबर क्रान्तिको तोपको आवाजले विश्वभरका मजदुरवर्गलाई ब्यूँझाइदियो । माक्र्सवाद र लेनिनवादलाई विश्वको कुनाकाप्चासम्म पु¥याइदियो । दर्जनौँ देशमा सर्वहारा पार्टीका सङ्गठन निर्माण भए । जस्तो चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना त्यही सेरोफेरोमा भयो । सन् १९४५ मा कोरिया जापानी उपनिवेशबाट मुक्त भयो र सन् १९४८ मा प्रजातान्त्रिक जनगणन्त्र कोरियाको स्थापना भयो, सन् १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भई जनवादी गणतन्त्र चीनको स्थापना भयो । त्यस्तै क्युवा र भियतनाममा क्रान्ति सम्पन्न भए । सन् २० कै दशकमा भारतमा कम्युनिस्ट पार्टीको स्थापना भयो भने नेपालमा चिनियाँ क्रान्ति सम्पन्न भएको करिब दुई हप्ताअगाडि कम्युनिस्ट पार्टीको स्थापना भयो ।
अक्टोबर क्रान्तिबाट जनताले के पाए ?
अक्टोबर क्रान्तिको उपलब्धिको कुरा गर्दा शिक्षामा भएको क्रान्तिलाई अत्यन्तै महत्वपूर्ण मान्नुपर्छ । शिक्षाको बन्दोवस्तको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको थियो । निःशुल्क र अनिवार्य शिक्षा लागु गर्ने पहिलो देश नै सोभियत रूस थियो । शिक्षालाई उत्पादन श्रमसँग जोड्ने प्रणाली सोभियत सङ्घले नै स्थापना ग¥यो । समाजवादी शिक्षा व्यवस्थाले रूसको उत्पादकत्व वृद्धिमा महत्वपूर्ण भूमिका खेल्यो । क्रान्तिपछि सम्पूर्ण नागरिक साक्षरमात्र भएनन् देशकै शैक्षिकस्तर कुनै पनि पश्चिमा देशभन्दा कम थिएन । क्रान्तिपूर्व ३८ प्रतिशत पुरुष र १३ प्रतिशत महिलामात्र साक्षर थिए । रूसले क्रान्तिलगत्तै अर्थात् सन् १९२० देखि १९४० को साक्षरता अभियानबाट ५ करोड सोभियत जनतालाई साक्षर बनाई उत्कृष्ट रेकर्ड राखेको थियो । करोडौँ सोभियत जनताले मात्रै होइन विश्वका हजारौँ जनताले सोभियत सङ्घबाट निःशुल्क उच्चशिक्षा हासिल गरे ।
शिक्षाको विकाससँगै राष्ट्रिय उत्पादन शक्ति बढ्यो । समाजवादी रूसले विज्ञान र प्रविधिमा अभूतपूर्व उन्नति ग¥यो । २० औँ शताब्दीमै वैज्ञानिक आविष्कारको क्षेत्रमा सोभियत सङ्घले नेतृत्वदायी भूमिका खेल्यो । विज्ञान र प्रविधिको आविष्कारको २० देखि २५ प्रतिशत हिस्सा सोभियत सङ्घको भागमा आउँथ्यो । सोभियत सङ्घले नै सन् १९५७ मा विश्वको पहिलो अन्तरिक्ष यान स्पुतनिक सफलतासाथ प्रक्षेपण गरेको थियो । अन्तरिक्षमा पहिलो जीव लाइका नामको कुकुरलाई पु¥याउने श्रेय सोभियत सङ्घले नै पाएको थियो । विज्ञान र प्रविधिमा समाजवादी रूसले प्राप्त गरेको ‘तिलस्मी’ सफलताका यी केही उदाहरणमात्र हुन् । पुँजीवादी देशले दुई सय वर्ष लगाएर गरेको प्रगति सोभियत सङ्घले दुईतीन दशकमा गरेर देखाइदियो ।
जनस्वास्थ्य क्षेत्रमा पनि समाजवादी रूसले विश्वमा नमुना प्रदर्शन गरेको थियो । सम्पूर्ण जनतालाई निःशुल्क स्वास्थ्यउपचारको बन्दोवस्त गर्नु सजिलो काम थिएन । क्रान्तिभन्दा अगाडि जार शासनमा जनताको सरदर आयु ३२ वर्षमात्र थियो । १९८० को प्रारम्भिक दशकमा पुग्दा आयुदर ६९ वर्ष पुग्यो र यो आयुदर पश्चिमा देशको जत्तिकै बराबर थियो । सन् २००४ को पुटिन शासनकालमा आयुदर घटेर ६३ भएको यहाँ उल्लेखनीय छ । अहिले निःशुल्क स्वास्थ्यउपचारको व्यवस्था हटाइएको छ । निजी अस्पतालको सङ्ख्या ह्वात्तै बढेको छ ।
अक्टोबर क्रान्तिको उपलब्धिको चर्चा गर्दा श्रम क्षेत्रमा भएको उपलब्धि बिर्सनु हुन्न । रूसमा हरेक योग्य व्यक्तिलाई स्थायी कामको व्यवस्था गरिएको थियो । कसैलाई पनि हप्तामा ४१ घण्टाभन्दा बढी काम गराइन्नथ्यो । जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरले हप्तामा ३६ घण्टामात्र श्रम गरे पुग्थ्यो । महिला ५५ वर्षमा र पुरुष ६० वर्षमा सेवानिवृत्त हुन्थे । जोखिमपूर्ण श्रम गर्नेमध्ये महिला ४५ वर्षमा र पुरुष ५० वर्षमा सेवानिवृत्त हुन्थे । मजदुरको आरामी र बिदालाई सहुलियतको रूपमा नभई अधिकारको रूपमा लिइन्थ्यो । यस्तो मजदुर अधिकारबारे संविधानमै प्रस्ट लेखिएको थियो । पुँजीवादको पुनःस्थापनापछि सोभियत सङ्घ टुक्रिएर बनेका देशहरूमा बेरोजगारीको समस्या विकराल बन्यो । सोभियत सङ्घ विघटनपछि बनेका देशहरूमा आज मजदुरको ज्याला घट्दो छ । बालश्रम बढेको छ ।
नागरिकको निम्ति पहिलो आरामगृह लेनिनकै निर्देशनमा सन् १९२० मा बनाइएको थियो । सन् १९४० सम्ममा यस्ता आरामगृहको सङ्ख्या ३६ सय पुगेको थियो भने सन् १९८० सम्ममा १४ हजार पुगेको थियो ।
महिला अधिकारको क्षेत्रमा पनि अक्टोबर क्रान्तिले उदाहरणीय योगदान पु¥यायो । वर्गीय र लैङ्गिक विभेदको सिकार भएका महिलाले स्वतन्त्र हुने अधिकार पाए । क्रान्तिपूर्व ८० प्रतिशत महिला अदक्ष वा अन्स्किल्ड थिए । महिलाको कमाइ पुरुषको भन्दा आधा थियो । ८७ प्रतिशत महिला निरक्षर थिए । क्रान्तिको पहिलो घोषणाबाटै महिलालाई राजनीतिक अधिकार दिइएको थियो । बेलायत र फ्रान्समा महिलाको राजनीतिक हकको व्यवस्था सन् १९१८ मा र संरा अमेरिकामा सन् १९२० मा गरिएको यहाँ उल्लेखनीय छ ।
सोभियत सङ्घमा सन् १९२२ देखि १९२८ को ७ वर्षमा महिला जनप्रतिनिधिको सङ्ख्या ९ गुणाले बढ्यो । सन् १९७० मा संरा अमेरिकामा महिला जनप्रतिनिधि ५ प्रतिशत भएको बेलामा सोभियत सङ्घमा भने ३५.६ प्रतिशत पुगेको थियो । महिलालाई ४ महिनासम्मको सुत्केरी बिदा दिने नियम अक्टोबर क्रान्तिकै उपलब्धि हो । आज रसियाली महिलाहरू देशदेशान्तर पुगेर आफ्नो अस्मिता बेच्न विवश छन् ।
सोभियत सङ्घमा समाजवादी बन्दोवस्त रहँदासम्म पानी, बिजुली, यातायात निःशुल्क बराबर नै थियो । मजदुरको निम्ति छुट्टै विश्वविद्यालय खोलिएको थियो । खेलकुदलाई प्राथमिकता दिइएको थियो । खेलकुदलाई बालबालिकाको विकासको खम्बाको रूपमा लिइएको थियो । मनोरञ्जनको निम्ति सङ्गीतका साधन प्रत्येक नागरिकलाई पुग्नेगरी वितरण गरिएको थियो ।
अक्टोबर क्रान्तिको शिक्षा
पहिलो त, अक्टोबर क्रान्तिका नेता लेनिनले क्रान्तिको निम्ति एउटा क्रान्तिकारी पार्टी चाहिन्छ भन्नुभयो । क्रान्तिकारी पार्टी भन्नुको अर्थ सङ्घर्षको आगोमा खारिएर इस्पात बनेको पार्टी हो । पुँजीवादी सत्ताविरुद्ध लड्नसक्ने पार्टी । बोल्सेविक पार्टी नभएको भए तत्कालीन परिस्थितिमा क्रान्ति सफल हुन सम्भव थिएन । क्रान्तिको निम्ति भित्री र बाह्य परिस्थिति तयार हुनुपर्छ । क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय परिस्थितिको साथै देशका जनता तयार हुुनुपर्छ । जनतालाई तयार गर्ने काम क्रान्तिकारी पार्टीको हो । यसले गर्दा क्रान्ति छिटो हुन्छ । माक्र्सले भन्नुभएझैँ क्रान्ति त अवश्यमेव हुन्छ तर त्यो ढिलो वा चाँडोको प्रश्नमात्र हो । कसैले चाहेर वा नचाहेर क्रान्ति रोकिन्न । क्रान्तिलाई छिटो गर्ने काम क्रान्तिकारी पार्टीका क्रान्तिकारी कार्यकर्ताले गर्दछन् ।
दोस्रोमा, विचारधारात्मक सङ्घर्ष । लेनिनले कहिल्यै पनि सिद्धान्तमा सम्झौता गर्नुभएन । संसद्को चुनावमा भाग लिनुभयो, ट्रेड युनियनमा लाग्नुभयो तर सत्ता बलपूर्वकमात्र पल्टाउन सकिन्छ भन्नेमा लेनिन दृढ हुनुहुन्थ्यो । प्रतिक्रियावादीवर्गलाई सम्झाइ, बुझाइ वा बहुमत–अल्पमतको खेलमा रुमल्याई सत्ता हातमा लिन सकिन्छ भन्ने कहिल्यै सोच्नुभएन । यसको निम्ति सदा विचारधारात्मक सङ्घर्ष गरिरहनुभयो ।
तेस्रो, क्रान्ति मुठ्ठीभर समझदार र बहादुर क्रान्तिकारीले गर्ने होइन, बरु व्यापक श्रमजीवी जनताले गर्दछन् भन्ने हो । अराजकतावादी सिद्धान्तले सर्वहारा क्रान्तिको नेतृत्व गर्न सक्दैन । नेकपा माओवादीले जनयुद्धको नाममा अराजकतावादी सिद्धान्त बोकी सशस्त्र युद्ध ग¥यो तर अन्तमा हतियार छोडेर पुँजीवादी संसदीय भासमा पूर्णतः डुब्यो ।
अन्तिम शिक्षा, क्रान्तिपछि पनि वर्गसङ्घर्ष एवम् सर्वहारा अधिनायकत्व कायम राख्नुपर्छ भन्ने हो । लेनिनले अक्टोबर क्रान्तिको निचोड निकाल्नुहुँदै कैयौँपटक स्पष्ट पार्नुभएको छ – वर्गसङ्घषर््ा एवम् सर्वहारा अधिनायकत्व कहिल्यै नभुल्नू ¤ यसलाई भुल्नुको अर्थ हो – पुँजीवादी प्रजातन्त्र र शान्तिपूर्ण सङ्क्रमणको भ्रमजालमा फस्नु र क्रान्तिको बाटो बिर्सनु । महान् अक्टोबर समाजवादी क्रान्ति जिन्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *