यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपालको संविधान – २०७२ ले देशमा सङ्घीय राज्य व्यवस्था लागू ग¥यो । त्यसको फाइदा देश र जनतालाई अहिलेसम्म देखिएको छैन तर मुख्यमन्त्री र मन्त्री बन्ने इच्छा पालेका प्रदेश सांसदहरूको मनको इच्छा पूरा भइरहेको छ । मुख्यमन्त्री र मन्त्री बन्नका लागि कतिपय सांसदहरू पार्टी फुटाउनमा लागे भने कतिपय सांसदहरू मुख्यमन्त्री र मन्त्री बन्न पाउने भएपछि त्यागिसकेको पार्टीमै फर्के । राजनीतिक गठबन्धनको नाममा भागबन्डाको राजनीतिको गाडी दौडाइएको छ । प्रदेशहरूमा केही महिनाकै लागि भए पनि मन्त्री र मुख्यमन्त्री बन्ने क्रम चलेको छ । तर त्यसरी लामो या छोटो अवधिका लागि मुख्यमन्त्री र मन्त्री बनेकाहरूले केही कुनै उल्लेख्य काम गरेर देखाउन सकेका छैनन् । कुनै नीति तथा कार्यक्रमबिनाका सरकार र मन्त्रीहरूले देश र जनताको हितमा काम गरेर देखाउन सक्ने पनि भएन । सर्वसाधारण जनतालाई प्रदेश सरकारको अस्तित्वको आभास अहिलेसम्म भएको छैन । जनताको इच्छा बर्सेनि मुख्यमन्त्री परिवर्तन कदापि होइन । फेरि पनि नयाँ नयाँ मन्त्री बन्ने म्युजिकल चेयरको दौड चली नै रहेको छ । मुख्यमन्त्री र मन्त्री बनेका र बन्न खुट्टा उचालेर बसेका प्रदेश सांसदहरूको अभिव्यक्ति र चालामाला देख्दा गाउँको लिङ्गेपिङ वरपर झुमिरहेका र झगडा गरिरहेका केटाकेटीहरुको स्मरण हुन्छ । सबैजना पिङ खेल्न चाहन्छन्, पिङमा चढिसकेपछि धित नमरूञ्जेल मच्चिरहन चाहन्छन् तर पर्खिरहेका अरूले दिए पो त ।
Leave a Reply