भर्खरै :

चाप्लुसी मन नपराउने स्तालिनबारे झूटको चिरफार गर्ने पुस्तक

(पत्रकार समाज नेपालको आयोजनामा कार्तिक १२ गते शुक्रबार आयोजित ‘स्तालिनसँग’ पुस्तकको अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)
माओले स्तालिन लेनिनको निधनपछि हाम्रो दुनियाँको कम्युनिस्ट आन्दोलनका मुख्य व्यक्ति रहेको बताउनुभएको थियो । स्तालिन सारा संसारका मेहनती जनताको लागि अत्यन्त प्यारो नाम हो । उहाँले लेनिनसँग मिलेर एक शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरी मजबुत बनाउनुभयो । लेनिनसँग मिलेर उहाँले अक्टोबर क्रान्तिको नेतृत्व र सोभियत रुसमा पहिलो समाजवादी व्यवस्था स्थापनासँगै सोको नेतृत्व पनि गर्नुभयो । माओकै शब्दमा सोभियत समाजवादी विजयले मानव जातिलाई दोस्रो विश्व युद्धमा फासिस्टविरुद्ध विजय प्राप्त गर्न शक्ति दियो । सोभियत समाजवादी निर्माणको यस विजयबिना फासिस्ट–विरोधी युद्धको विजय प्राप्त गर्न सम्भव थिएन र यसको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो ।
स्तालिनले फासिस्टविरुद्धको लडाइँपश्चात् भन्नुभएको कुरा यहाँ स्मरण गर्नु उपयुक्त होला ।
सोभियत व्यवस्था देशको आर्थिक र सांस्कृतिक विकासको लागि मात्र सर्वश्रेष्ठ व्यवस्था होइन कि युद्धको समय शत्रुको प्रतिरोध गर्न जनताको शक्ति सञ्चालन गर्नका लागि पनि सर्वश्रेष्ठ व्यवस्था हो ।
उनै स्तालिनका विषयमा करिब २५ वर्षसँगै बिताएका अङ्गरक्षक सेवानिवृत्त मेजर ए.टी. रेबिनले स्तालिनका जीवनका नयाँ र फरक पाटाको विषयमा पाठकसामु उजागर गरेको पुस्तक हो ‘स्तालिनसँग’ ।
लेखकले यस पुस्तकमा स्तालिनसम्बन्धी केही कुरा नलुकाएको र कुनै कुरालाई आफूखुसी रङ नपोतेको र स्तालिनको विषयमा आफूले सत्य कुरा लेख्ने प्रयास गरेको स्वीकारोक्त गरेका छन् । रसियन प्रकाशकले पुस्तक प्रकाशन गर्नुअघि रेविनले भनेका सबै कुरा पुस्ट्याइ गरेको उल्लेख गर्नुले यो पुस्तक स्तालिनलाई लामो समयदेखि नजिकबाट हेरिरहेका व्यक्तिको स्तालिनसम्बन्धी गहिरो र यथार्थपरक दस्तावेज मान्नुपर्छ ।
२५ वर्ष स्तालिनसँगै रहेका रेविनले आफूले देखेका सुनेका, भोगेका र अनुभव गरेका उहाँका व्यवहार, आचरण र जीवनशैलीको मिहीन विश्लेषण यो पुस्तकमा पढ्न पाइन्छ ।
यस पुस्तकमा सच्चा सोभियत कम्युनिस्ट पार्टीका सदस्यको हत्याको प्रयास, आरोप र गलत प्रचारको चर्चा गरेको पाइन्छ । ख्रुश्चेभ, बेरिया, यगोडालगायतका खराब व्यक्तिहरूले स्तालिन र सोभियत व्यवस्थाप्रतिको गद्दारी र उनीहरूको वास्तविक चरित्रको विषयमा पनि पुस्तकले बुझ्न मद्दत गरेको छ ।
यस पुस्तकमा भएका धेरै पक्षको चर्चा यहाँ अहिले सम्भव नहोला । त्यसकारण, मैले यस पुस्तकमा रेबिनले विभिन्न घटनाक्रमको सन्दर्भ जोडेर स्तालिनका विशेषता र गुणहरूको विषयमा लेखेका केही बुँदाको छोटो चर्चा गर्ने जमर्को गरेको छु ।
एमएम ग्रोमोभो नजरमा स्तालिन
क. एक चलाख, सबै कुरा विस्तारमा बुझ्ने र सही विश्लेषण गर्नसक्ने व्यक्ति ।
ख. व्यक्तिको चरित्र बुझ्न सक्षम र उत्कृष्ट क्षमताका मानिसलाई एकै ठाउँमा ल्याएर कुनै ठूलो उपलब्धि हासिल गर्नसक्ने सक्षम व्यक्ति ।
ग. आफ्नो स्वार्थ नहेर्ने र चाप्लुसी गर्न नरुचाउने व्यक्ति ।
त्यसैगरी, आर्लोभ (सन् १९३७ देखि १९५३ सम्म स्तालिनको सेवा गर्ने व्यक्ति) का नजरमा स्तालिनले नरुचाउने व्यक्तिहरू
क. तथ्यपूर्ण तर्कको आधारमा आफ्ना भनाइ नराख्ने मानिसहरू ।
ख. तपाईँ जे भन्नुहुन्छ म त्यसै र त्यही गर्छु भन्ने सोचाइ राख्ने व्यक्ति ।
चाप्लुसी नरुचाउने व्यक्ति
१. स्तालिनकी छोरीलाई खुसी बनाउन भ्लासिक (स्तालिनका अङ्गरक्षक)ले खाली रहेको एउटा सानो कोठा उपलब्ध गराएको र उहाँले थाहा पाउनु भएपछि तुरुन्त त्यो कोठा खाली गर्न दिनु ।
२. सोभियत युवा र भावी पुस्ताका लागि चपेम भन्ने उपयुक्त चलचित्र सिनेमा समितिसँग माग्दा पोलिटब्युरो सदस्यहरूले स्तालिनकोे प्रशंसामा भनिएका चाप्लुसी शब्दप्रति असन्तोष व्यक्त गर्नु ।
३. खोरोशेभो गाउँको बैठकमा वेरियाले स्तालिनलाई रिझाउन उहाँका लागि राम्रो र आरामदायी खाट, झकिझकाउ सिरानीको व्यवस्था गरेको तर उहाँले सबै ओछ्यान फिर्ता गर्दै साधारण सिपाही सुत्ने ठाउँमा नै सुत्नु ।
४. केन्द्रीय समितिले (पञ्चवर्षीय योजना निर्माणमा सक्रियरूपमा सामेल भएकोले) समाजवादी नायकको पदक र पोलिटव्युरोले सोभियत सङ्घ पदक दिने प्रस्ताव राख्दा सोभियत सङ्घ पदक अस्वीकार गर्नु र लडाइँमा नायकत्व देखाउने सिपाहीलाई दिनुपर्ने विचार व्यक्त गर्नु ।
५. १९४५को विजय परेडमा केन्द्रीय समितिले प्रधानसेनापतिको लागि विशेष नयाँ पोशाकको डिजाइन गर्ने निर्णय र तीनथरी पोशाकको नमुनाको प्रस्तावलाई अस्वीकार गरी आफ्नो सामान्य पोशाकमै परेडमा सहभागी बन्नु ।
६. १९४५ जुलाई १६ मा पोस्टड्याम सम्मेलनमा भाग लिन स्तालिन बर्लिनमा जानु हुँदा उहाँलाई बन्दोबस्त भएका सुनका पाताले मोडिएका फर्निचरहरू सबै बाहिर पठाई सामान्य खालका फर्निचर ल्याउन दिनु र चातुकारीताको विरोध गर्नेजस्ता घटनाक्रम चाप्लुसी नरुचाउनुका प्रतिनिधि उदाहरणहरू हुन् ।
जनतासँग, कार्यकर्ता र सेनासँगको सम्बन्ध र सरल जीवनशैली
उहाँ सधैँ सबै कुरा फारो गर्ने वा मितव्यियितामा विशेष जोड दिने र आफूलाई विशेष महत्व दिएको नरुचाउने व्यक्ति हुनुुहन्थ्यो ।
जहाँ जानु भए पनि जनतासँग कुराकानी र भेटघाट गर्न रुचाउने, सबैसँग सजिलो व्यवहार गर्ने, सधैँ देश र जनताको समस्याबारे चिन्तन गरिरहनुहुन्थ्यो । वोल्शोइ थिएटरको अवनति देखेर विरक्तिएर थिएटर छोडेका उत्कृष्ट ओपेरा गायक गोलोभ्सतोभलाई थिएटरमा पुनः फुर्काउन आफू स्वयम् घरमै पुगेर काममा पुनःफर्कन उत्साहित गर्नु, तुकोभ आफ्नी श्रीमती र दुबैकी छोरीसँग एउटै कोठामा कोच्चिएर अप्ठ्यारो अवस्थामा बस्ने गरेको थाहा पाएपछि दुई कोठे घरमा बस्ने बन्दोबस्तका लागि मद्दत गर्नु, घर बाहिरको यात्राका क्रममा कि त खाना पकाउने या भाँडा माझ्ने र आफूले सक्ने काम कहिले पनि अरूलाई नगराउने बानी त्यसका प्रतिनिधि प्रसङ्ग हुन् ।
सोचीको बन्दरगाह निर्माणको अवलोकन गर्न गएका स्तालिन सरकारी अधिकारीहरूसँगै जारले बनाएको एउटा पुरानो भवनमा भूईमा सुकुल ओछ्याएर सुत्नु, सरकारी अधिकारी, सेनासँगै फुर्सदको समयमा माछा मार्न, पकाएर खाँदा त्यहाँ न कोही सोभियत राष्ट्र प्रमुख न कोही सुरक्षाकर्मी सबै एकै परिवारजस्तै भएको अनुभव गराउन सक्नु उहाँको सरलताको परिचय थियो ।
जे काम गर्नुपर्ने हो, त्यो काम सूक्ष्म ढङ्गले गर्नुपर्ने, काम विस्तृतरूपमा भए नभएको पक्का गर्ने बानी सङ्गठनकर्ताको विशिष्ट रूप हो । धेरै उपलब्धि हासिल गर्नुपर्ने भएकोले युद्धअघि र पछि पनि रात दिन निकै कडा मिहिनेत गर्नुहुन्थ्यो र स्तालिन जोसुकैको अघि पनि आफ्नो गल्ती सजिलै स्वीकार्ने व्यक्ति हुनुहुन्थ्यो ।
एकै व्यक्तिमा यति धेरै गुण सायदै विरलैसँगै पाइन्छ होला । त्यसकारण, माओले स्तालिन हाम्रो यस नयाँ युगको महानतम् प्रतिभाशाली व्यक्ति र संसारको कम्युनिस्ट आन्दोलनका महान् शिक्षक भनेका होलान् ।
केही विरोधाभाष र अनुतरित प्रश्नहरू
स्तालिनले आफ्नो वरपर आफ्नो प्रशंसा र चाप्लुसी गर्ने घटनाहरू एकपछि अर्को हुँदै जाँदा पनि कसरी रोक्न सक्नुभएन होला ? केन्द्रीय र पोलिटब्युरोले स्तालिन चातुकारीता मन पराउनु हुन्न भन्ने थाहा पाउँदा पाउँदै किन यस्तो कामलाई बढावा दियो होला ? सायद, रेविनले भनेजस्तै स्तालिन पोलिटब्युरोका केही अवसरवादीहरूको गुटगत घेरामा पो परेर हो कि ?
जनता, कार्यकर्ता सेना र अङ्गरक्षकसँग त्यति नै सामिप्यता बस्न रुचाउने र आत्मीय सम्बन्ध भएका व्यक्तिसँग स–साना कुरामा पनि जनता किन डराउँथे ? उहाँले बोलाउँदा सुरुमै माफी माग्ने र रुने वातावरण कसरी बन्यो होला ? (जस्तैः नाटकमा बन्दुक पड्काउनु पर्ने दृश्यमा बन्दुक नपड्कँदा निर्देशकले माफी माग्नु र लाल पोशाक महिला चालकको गाडी महिला चालकले आफ्नो गाडी स्तालिनको गाडीसँग ठोकिएको थाहा पाएपछि रुन थाल्नु )
केही कार्यहरू जुन स्तालिनको आदेशबिनै स्वविवेक प्रयोग गर्नसकिने कामहरू पनि कार्यकर्ता, सेनाहरूले नगर्नुका कारण के हुनसक्छ ? (जस्तै सुरक्षागार्ड एन्टोनोभ खुल्ला आकासमुनि भीषण वर्षा पनि आफ्नै चौकीमा तैनाथ रहनु र सानो ओत लाउने टहरा नबनाइनु र स्तालिनले भनेपछि दुई घण्टामा नै बन्नु, मायाकोभ्स्कीको प्रतिमा बनाउने ठाउँमा आधारस्तम्भ मात्र बनेको तर प्रतिमा नराखिएको र स्तालिनको निर्देशनको केही समयपछाडि नै प्रतिमा ठडिनु )
अन्तमा, अहिले आफ्नो प्रशंसा र चाप्लुसीमा रमाउने, सरकारी र सार्वजनिक सम्पतिको दुरूपयोग, महँगा महँगा सामग्री प्रतिको मोह, अनावश्यक तडक–भडकता र विलासिताजस्ता विकृत रूप बढ्नथाल्नु, विधि र प्रक्रियागत ढङ्गबाट कार्यकर्ताको मूल्याङ्कन गर्ने र हुर्काउनेभन्दा मनोगत र आफ्नो वरपर घुम्ने व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति मोलाउँदै जानु, नेताहरूको कार्यकर्ता र जनतासँगको दूरी बढ्नु, जनताबीच गएर जनतासँग अन्त्तरक्रिया, भलाकुसारी गरी जनताको समस्या सम्बोधन गर्ने काममा कमी आउनु, सिद्धान्त र व्यवहारबीचको तारतम्यता फरक पर्दै जानु, माओले भन्नुभएजस्तै कम्युनिस्टहरू जनताको साथी बन्नुपर्नेमा हाकिम वा शासक बन्नु र ऊ एक असल शिक्षक बन्नुभन्दा एक नोकरशाही नेता बन्नेतर्फ उन्मुख हुने प्रवृत्तिको फैलावट भइरहेको समयमा स्तालिनको सम्झना गर्नुको छुट्टै महत्व र अर्थ पनि छ ।
(लेखक इन्जिनियर समाज नेपालका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *