नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चीनको समाजवादी प्रजातन्त्र ‘समग्र प्रक्रियामा जनताको प्रजातन्त्र’ हो । ‘समग्र प्रक्रियामा जनताको प्रजातन्त्र’ अलि लामो शब्दावली भएकोले त्यसको सट्टा हामीले नयाँ शब्द प्रयोग गर्न सक्छौँः जनतन्त्र (पिपुल्सक्रेसी) । जनतन्त्रले जनतालाई पहिलो स्थानमा राख्छ । जनता नै चिनियाँ कम्युनिस्ट पार्टीका आधार हुन् । जनता नै शासनको सबभन्दा बलियो शक्ति हुन् । त्यसकारण जनताको समर्थन सर्वाधिक महत्वपूर्ण हुन्छ ।
‘पहिलो स्थानमा जनता’ चीनको इतिहाससँग जोडिएको छ । त्यसमा मानव जातिको गहिरो चासो प्रतिविम्बित गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको लक्ष्य नै जनतालाई खुशी बनाउनु हो । जनतालाई केन्द्रमा राख्नु नै चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त हो । चीनको समाजवादी प्रजातन्त्रको मूल मान्यता पनि त्यही हो ।
चीनको जनतन्त्रको बाटो आधुनिक समयको सुरुवात यता सङ्घर्षका शृङ्खलामा होमिएका चिनियाँ जनताले अभ्यास गरेको इतिहास, सिद्धान्त र व्यवहारको विकासक्रमको तर्कसङ्गत परिणाम हो । पार्टीको मूल चरित्र कायम गर्न र मूल कार्यभार पूरा गर्न यी आवश्यक छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी जनताबाट आएको जनताको लागि बनेको पार्टी हो र जनताकै कारण यो पार्टी सफल भएको हो । त्यही भएर पार्टीले जनताको हितमा काम गर्छ र जनताको हितबाहेक पार्टीको अर्को कुनै बेग्लै स्वार्थ छैन । पार्टीले जे गर्छ, जनताका आधारभूत हित पूरा गर्न, रक्षा गर्न र विकास गर्न काम गर्छ ।
जनता नै इतिहासका रचनाकार र खास नायकहरू हुन् । पार्टीका कार्यकर्ता र नेताहरू भए पनि पार्टीका साधारण सदस्य कामदार जनता नै हुन् र उनीहरूले जनतासँग नजिकको सम्पर्क कायम गरेका हुन्छन् । त्यसको परिणामस्वरूप जनताको दिमागमा प्रजातन्त्रको अर्थ सुदृढ जीवन, परिपक्व नागरिक अधिकार, संरक्षित जनताको शासन र जनताको चाहना पछ्याउनु आदि हो ।
चिकपा र जनता एकआपसमा एकाकार छन् । त्यही भएर हामी चीनको समाजवादी प्रजातन्त्रलाई जनतन्त्र भनिएको हो । जनतन्त्र जनताका आधारभूत हितको रक्षा गर्ने सबभन्दा पवित्र र सबभन्दा प्रभावकारी प्रजातन्त्र हो । विकासशील समाजवादी प्रजातन्त्रको मूल लक्ष्य भनेको जनताको चाहनालाई पूर्ण अभिव्यक्ति दिनु, जनताका अधिकार र हितको रक्षा गर्नु, उनीहरूको सिर्जनशीलताका प्रवद्र्धन गर्नु र देशका मालीको रूपमा जनताको स्थान सुरक्षित गर्न संस्थागत सुनिश्चितता गर्नु हो ।
जनतन्त्र पार्टीका सबै सदस्य र कार्यकर्ताका दैनिक काममा लागु हुन्छ । पार्टी सदस्य र कार्यकर्ताले अझै पार्टी लक्ष्य र प्रतिबद्धता सम्झन्छन् वा सम्झँदैनन् र सम्मान गर्छन् वा गर्दैनन् भन्ने कुराको मूल्याङ्कन जनताले गर्छन् । उनीहरूको प्रतिबद्धताको मूल्याङ्कन व्यवहारबाट परीक्षण हुन्छ । जनतन्त्र जनताको जीवनसँग जोडिएको हुन्छ । सबै हिसाबमा जनताको जीवनमा सुधार गर्न सबै तहका चीनका अधिकारीहरूले सधैँ दिलोज्यानले जनताको सेवा गर्ने भावना हुनुपर्छ । जनताको जीवन र काम शान्तिपूर्ण र सन्तुष्टिका साथ हुने सुनिश्चित गर्न अग्रसर हुनुपर्छ । जनताका प्रतिकूलता र इच्छाप्रति कार्यकर्ताहरूले सदैव ध्यान दिनुपर्छ ।
चिनियाँ सभ्यता र चिकपाको प्रकृतिबाट उदाएको चीनको जनतन्त्र सृदृढ प्रजातन्त्र हो । त्यसले राजनीतिक विकासको क्षमता र राष्ट्रिय शासन क्षमता प्रबद्र्धन गर्छ । हामी पश्चिमा एकलमूल्यवादी प्रजातन्त्रको विपक्षमा छौँ । केही पश्चिमा देशहरू ‘प्रजातन्त्र’ को नाममा संसारलाई एक आपसमा द्वन्द्वमा फसाउन चाहन्छन् । उनीहरू संसारलाई अर्को शीतयुद्धतिर धकेल्न चाहन्छन् ।
चीनको दृष्टिकोणमा संसार सबभन्दा ठुलो शान्तिपूर्ण दबु हो । यो कुनै कुस्ती खेल्ने मैदान होइन । चीनको विकाससम्बन्धी अवधारणा र विश्व दृष्टिकोण अमेरिकी राजनीतिक नेताहरूको भन्दा फरक छ । यो संसार केही देशहरूले हार्ने र केहीले जित्ने कुस्ती मैदान होइन । यो संसार शान्तिपूर्ण र मैत्रीपूर्ण खेल खेलिने खेल मैदान हो ।
चिनियाँ सभ्यताको लागि सद्भाव, असल छिमेकपना र सौहार्दता प्रवद्र्धन गर्नु अन्य देशहरूसँग अन्तरक्रिया गर्ने निर्देशक सिद्धान्त हो । संसारभरका जनताको लागि समृद्धि र सुरक्षा ल्याउनु नै हाम्रो प्रमुख लक्ष्य हो । विश्व राजनीति आपसमा अलग गर्नै नसकिने गरी विविधताले भरिपूर्ण छ । चीनले हाम्रो आफ्नो सभ्यताको आयामलाई अक्षुण्ण राख्नेछ । अरू सभ्यतालाई पनि फल्ने फुल्ने उपयुक्त अवस्था बनाउँछ । संसारका नागरिकहरू मिलेर संसारको सभ्यताको बगैंचालाई अझ रङ्गीन र गतिशील बनाउन सकिन्छ ।
मानव जातिको साझा मूल्य भनेको शान्तिपूर्ण विकास, निष्पक्षता र न्यायका साथै सहयोग, सह–निर्माण र आदानप्रदान गर्नु हो । सहकार्य नै आधार र शान्ति नै भाग्य हो । संसारभरका जनताप्रति पूर्ण राजनीतिक दृष्टिकोणले चिनियाँ जनताको मूल्य पनि प्रतिविम्बित गर्छ ।
चीनको जनतन्त्र स्वतन्त्र रूपले विकास भएको हो । पश्चिमा राजनीतिक दृष्टिकोण र प्रणालीको नक्कल गरेर यो जनतन्त्र बनेको होइन । आधुनिकतातिरका बाटो धेरै छन् । चीनले नयाँ बाटो बनाएको छ । जसले स्वाधीनता, आत्मनिर्भरता, अनुसन्धान र सिर्जनशीलता समावेश गर्छ । जसले देशलाई शक्तिशाली र जनताको जीवन समृद्ध बनाउँछ ।
(लेखक चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत सामाजिक प्रजातन्त्र अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवादः सुशिला
Leave a Reply