भर्खरै :

के चीन संरा अमेरिकाको लागि खतरा हो ?

अक्टोबर महिनाको पहिलो हप्ता अमेरिकी केन्द्रीय गुप्तचर विभाग–सीआईएले आफूहरूले चीनमाथि काम गर्नका लागि उच्च तहको कार्य समूह बनाएको घोषणा ग¥यो । सीआईएका निर्देशक विलियम बर्नस्ले संरा अमेरिकाले नयाँ युगको सबैभन्दा ठुलो शक्ति शत्रुता र सबभन्दा कठिन भूरणनीतिक परीक्षा सामना गरिरहेको बताए । र, सीआईएले बतायो आफूहरूको ध्यान त्यस परीक्षामा केन्द्रित रहेको बतायो । त्यो परीक्षा भनेको के हो ? त्यो परीक्षा भनेको अमेरिकी राष्ट्रपति जो बाइडेनले दावी गरेअनुसार चीनको–आक्रामकता हो ।
चीनको–आक्रामकताको प्रमाण के छ ? पछिल्लो पटक २००१ मा संरा अमेरिका र चीनका सेनाको बचिमा गम्भीर भिडन्त भएको थियो जब अमेरिकी गुप्तचर विमान चीनका लडाकू विमानसित ठोकिएर खसेको थियो । अमेरिकी गुप्तचर विमान चीनको हाइनान प्रान्तमाथि गुप्तचरी गर्न उडिरहेको थियो । त्यसपछिदेखि अमेरिकी र चिनियाँ फौजबीच कुनै प्रत्यक्ष भिडन्त भएको छैन । त्यसो भए तापनि संरा अमेरिकाले प्रशान्त महासागरको पश्चिम भागमा निरन्तर आफ्नो सैन्य क्षमता बढाइरहेको छ र इण्डो प्यासिफिक कमाण्डलाई बलियो बनाइरहेको छ । संरा अमेरिकाले त्यस क्षेत्रमा दुईवटा नयाँ सैन्य र रणनीतिक सङ्गठनहरू क्वाड (संरा अमेरिका, जापान, अष्ट्रेलिया र भारत सम्मिलित) र अउकस (अमेरिका, संयुक्त अधिराज्य र अष्ट्रेलिया सम्मिलित) बनाएको छ । त्यसबाहेक चीनविरुद्धको मानसिकता निर्माण गरिसकेको छ । यसैबीच चीनले भने आफ्नो भौगोलिक अखण्डता जोगाउन र क्षेत्रीय स्वार्थ रक्षा गर्न आफ्नो रक्षा क्षमतामा केही वृद्धि गरेको छ ।
संरा अमेरिकी सेनाले चीनले संरा अमेरिकामागि हमला गर्ने कुनै लक्ष्य राखेको छैन र न त एशियाबाहिरको कुनै अमेरिकी स्वार्थमा खतरा उत्पन्न गरेको छ भनी स्पष्ट हुने मुख्य प्रतिवेदन अमेरिकी सरकारलाई दिएको छ । उक्त प्रतिवेदनको नाम(Pentagon, Military and Security Developments Involving the People’s Republic of China, 2020) रहेको छ । संरा अमेरिकी सेनाले तयार गरेको उक्त दस्तावेजमा संरा अमेरिकाको विपरीत चीनले आणविक अस्त्र पहिले प्रयोग नगर्ने नीति लागू गरिरहेको उल्लेख गरेको छ । उक्त अमेरिकी सैन्य दस्तावेजमा उल्लेख छ– चीनले कुनै पनि अवस्थामा कहिल्यै आणविक अस्त्र पहिले प्रयोग गर्ने नीति छैन र चीनले कुनै पनि शर्तबिना आणविक अस्त्ररहित देशहरूलाई वा आणविक अस्त्रमुक्त क्षेत्रमा आणविक अस्त्र प्रयोग गर्ने वा प्रयोगको धम्की दिने छैन ।
यदि अमेरिकी सेनाको आफ्नै निष्कर्षमा चीन खतरा होइन भने छ भने ह्वाइटहाउसले किन चीन खतरा भन्ने दृष्टिकोणलाई अगाडि बढाइरहेको छ । अप्रिल २०२१ मा अमेरिकी राष्ट्रपतिका रूपमा संसदमा आफ्नो पहिलो सम्बोधनका क्रममा जो बाइडेनले भने– चीन र अरू देशहरू प्रतिस्पर्धामा अमेरिकाकै नजिक आइपुगेका छन् । बाइडेनले कुनै विशेष सैनिक विकासको उल्लेख त गर्न सकेका थिएनन् । जे जस्तोसुकै मिथकहरू विकास गरिए पनि संरा अमेरिका नै यस ग्रहमा सबैभन्दा ठुलो सेना रहेको छ र अरू देशका सैनिकभन्दा बढी अस्त्रशस्त्रले सुसज्जित रहेको छ ।
त्यसैले बाइडेनले भनेको ‘चीन नजिक आउँदैछ’ को अर्थ सैनिक चुनौतीको सन्दर्भमा पक्कै होइन बरू आर्थिक चुनौतीको हिसाबले हो । अहिले यो व्यापकरूपमा स्विकारिएको तथ्य हो कि केही निश्चित क्षेत्र जस्तो कि टेलिकम्युनिकेसन, उच्च गतिको रेल्वे आदिमा चीनको वैज्ञानिक र प्राविधिक उपलब्धि संरा अमेरिकाको भन्दा एक वा दुई पुस्ता अगाडि भएको देखिएको हो । चीनको यो विकास अमेरिकी हाइटेक कम्पनीहरूका लागि गम्भीर चुनौती हो । तिनीहरू अमेरिकी कम्पनी वा फर्महरूले सधैँ सर्वोच्च स्थान वा सबैभन्दा अगाडि रहने मामिलामा दैवी अधिकार रहेको विश्वास वा भ्रम राख्छन् । चिनियाँ कम्पनी र फर्महरूले सिर्जना गरेको यो चुनौतीले उनीहरूलाई स्तब्ध पारेको थियो र अझै अच्चमित पारिरहेको छ । त्यसैले अमेरिकी व्यापारी वर्ग विश्व बजार आफ्नो एकलौटी नियन्त्रणमा चीनका कारण उत्पन्न बाधाका लागि गैरबजार शक्ति प्रयोग गरी पुनः हासिल गर्न चाहन्छ । व्यापार युद्ध र हाइब्रिड युद्ध सञ्चालनको कारण यही हो । चीनको उदीयमान आर्थिक शक्ति वा आर्थिक खतरालाई नै संरा अमेरिकी राजनीतिज्ञहरूले अहिले युद्धकै जस्तो मिथक सिर्जना गर्दै युद्ध भड्काउन खोज्दैछन् र चीनको वरपर सैनिक तैनाथीलाई बलियो बनाउँदैछन् ।
(लेखक विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक र पत्रकार हुन् । उनी ग्लोबट्रोटरका नियमित लेखक तथा मुख्य सम्वाददाता हुन् । उनी लेफरटवर्ड बुक्सका मुख्य सम्पादक र ट्राइकन्टिनेन्टल इन्स्टिच्युट फर सोसियल रिसर्चका निर्देशक हुन् । उनका इतिहास र राजनीति विषयका २० भन्दा बढी पुस्तक प्रकाशित छन् ।)
(People’s Daily Online)
October 29, 2021
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *