भर्खरै :

भक्तपुर औद्योगिक क्षेत्र : राजस्व छली गर्ने धेरै उद्योगहरू छन्

कार्तिक १७ गतेको ‘मजदुर’ दैनिकमा भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालित शिवबाबा टेक्सटायलले राजस्व छली गरेको इति वृत्तान्त प्रकाशित भएको सत्य र सकारात्मक हो । राजस्व छली गर्ने उद्योगी र छली गर्न दुरुत्साहन गर्ने सम्बन्धित सबै पक्षलाई कारबाही हुनु जरुरी छ । सरकारका सम्बन्धित कर्मचारी इमानदार भएमा उद्योगी व्यापारीबाट राजस्व छली सम्भव छैन । भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अधिकारी नै ‘दूधको साक्षी बिरालो’ भएपछि राजस्व उठ्छ कसरी ?
भक्तपुरको परम्परागत सीपमा आधारित घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्न स्थानीय जनताको ७१ रोपनी जग्गा अधिग्रहण गरी २०३६ सालमा भक्तपुर साना औद्योगिक क्षेत्र स्थापना गरिएको हो । स्थापनाको केही वर्षपछि भक्तपुर साना औद्योगिक क्षेत्रमा टेक्सटाइल, डाइङ, प्लास्टिक, रङ्गरोगनलगायत ध्वनि, धुवाँ, रसायन, प्रदूषण फाल्ने उद्योगहरू सञ्चालन गराएर भक्तपुर औद्योगिक क्षेत्रमा रुपान्तरण गरियो । विश्व सम्पदा क्षेत्र भक्तपुर लायकु दरबारसँगै जोडिएको भक्तपुर साना औद्योगिक क्षेत्रमा प्रदूषणमूलक उद्योग सञ्चालन अनुमति दिने सम्बन्धित अधिकारीहरूमाथि पनि कारबाही हुनु जरुरी छ ।
शिवबाबा टेक्सटाइललगायत नेपो, मेमोर्स, अरुणा, इशान, पशुपति, वर्जर, ओम सत्य, साई, वेष्ट, शिवालगायत टेक्सटाइल, डाइङ, प्लास्टिक र रङ्ग उद्योगहरू पनि राजस्व छली गर्नेमा परेको पुरानो चर्चा हो । स्थानीय जनता, भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घसमेतले बीस वर्षअगाडि नै ध्वनिलगायत प्रदुषण फाल्ने उद्योगहरू भक्तपुर औद्योगिक क्षेत्रबाट हटाउन प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा पटक – पटक निर्णय भयो । तर, उद्योग विभाग, घरेलु कार्यालय र नेपाल विद्युत् प्राधिकरणका भ्रष्ट अधिकारीहरूको प्रदूषण फाल्ने उद्योगीहरूसँग मिलेमतो भएको हुँदा जनता ध्वनिलगायत प्रदूषणमा निस्सासिएर बस्न बाध्य छन् ।
भारतीय एकाधिकार पुँजीले अन्य औद्योगिक क्षेत्रझैँ भक्तपुर औद्योगिक क्षेत्र पनि कब्जा गरेको छ । भारतीय एकाधिकार पुँजीका दलाल उद्योगी र सरकारी अधिकारीहरू सरकारी प्रतिबद्धता कार्यान्वयन गर्न नचाहेको समाचार पनि पुरानो हो । सरकारी कर्मचारीको संलग्नताबिना कुनै उद्योगी–व्यवसायीले राजस्व छली गर्नसक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *