भर्खरै :

दमनको सामना गर्दै रूसी कम्युनिस्टहरू, पुरानो सन्तुलन तोडिँदै

बोरिस कागारलित्सकी रूसका एक पुराना कम्युनिस्ट कार्यकर्ता हुन् । उनले लियोनिड ब्रेझ्नेभ र बोरिस यल्त्सीनको शासन कालमा ८० प्रतिशतभन्दा बढी अवधि राजनीतिक बन्दीको रूपमा जेलमा बिताएका थिए । अहिले राष्ट्रपति भ्लादिमिर पुटिन पनि उनलाई खतरा देख्ने ब्रेझ्नेभ र यल्त्सीनकै लाइनमा आएका छन् । उनलाई हालै मात्र १० दिनको कैदपछि मस्को बन्दीगृहबाट रिहा गरिएको थियो । उनले सामाजिक सञ्जालमा गत महिना सम्पन्न संसदीय निर्वाचनमा भएको धाँधलीलाई लिएर कम्युनिस्ट पार्टीले जारी गरेको वक्तव्यमा छोटो टिप्पणी गरेका थिए ।
कागारलित्सकी धेरै लामो अवधिदेखि साइबेरियामा रहेर त्यहाँबाट रूसी संसद्को तल्लो सदन –ड्युमामा निर्वाचित भएका रूसी कम्युनिस्ट पार्टीका संसद् सदस्यका राजनीतिक रणनीतिकारको रूपमा काम गरिरहेका थिए । उनी गत महिनाको निर्वाचनमा मस्को सहरका सबै निर्वाचन क्षेत्रबाट राष्ट्रपति पुटिनको युनाइटेड रसिया पार्टीका उम्मेदवारहरूले जितेको अपत्यारिलो घोषणा सुनेपछि राजधानी आएका थिए । उक्त निर्वाचन परिणाम त्यहाँको लामो समयदेखिको मतदान प्रवृत्ति, निर्वाचनपछिको मत सर्वेक्षण र निर्वाचन केन्द्रहरूमा गरिएको मतगणनाविपरीत रहेको छ । लाखौँ कथित ‘निश्चित गर्न नसकिने’ इलेक्ट्रोनिक्स मतहरू देखिएपछि उक्त परिणाम निर्णायक रूपमा उल्टिएको हो ।
रूसी निर्वाचनहरूमा धाँधलीको खेलमा जीवित इन्साइक्लोपेडियाका रूपमा रहेका कागारलित्सकीले आफ्नो जीवनकालमा रूसमा यो हदसम्मको निर्वाचन धाँधली कहिल्यै नदेखेको बताए । उनले अगाडि भने – “सत्तासीन पार्टीका उम्मेदवारको पक्षमा खसेका मत सबै वैध हुने र विपक्षी उम्मेदवारको पक्षमा खसेका मत ‘निश्चित गर्न नसकिने’ वा ‘अस्पष्ट’ हुने कस्तो इलेक्ट्रोनिक्स भोटिङ मेसिन हो ? मस्कोमा जे भयो सीधा भन्नुपर्दा ठूलो मात्राको मत चोरी हो ।”
त्यसले जनमतदेखि त्रसित भएको सरकारले निर्वाचन प्रणालीमाथि छेडखानी गर्नुका साथै प्रणालीगतरूपमै मिलाइएको इलेक्ट्रोनिक्स भोटिङ मेसिन बनाउन दिएको पुष्टि भएको छ ।
स्वतन्त्र निर्वाचन पर्यवेक्षण संस्था–गोलोसले मस्कोमा नयाँ इलेक्ट्रोनिक्स भोटिङ सिस्टम (मेसिन र सफ्टवेयर) ले कम्तीमा ७८ हजार मत गडबड गरेको र रूसी एकीकृत कम्युनिस्ट पार्टी (केपीआरएफ) का उम्मेदवारहरूको निश्चित जीतलाई हारमा पु¥याएको बतायो । रूसको सरकारले लामो अवधिदेखि प्रतिपक्ष आवाजका रूपमा स्वीकार गर्दै आएको पार्टी –रूसी एकीकृत कम्युनिस्ट पार्टी (केपीआरएफ) विरुद्ध अहिले सरकार आक्रामक भएको स्पष्ट हुन्छ ।
रूसी एकीकृत कम्युनिस्ट पार्टी (केपीआरएफ) का तल्लो तह र सदस्यहरूले त्यसको विरुद्ध आन्दोलनलाई कडाइका साथ अगाडि लान खोजेपछि तिनीहरूको प्रदर्शनमाथि सरकारको निर्णायक दमन देखिएको छ । दमनको यो तरिका र मात्रा सोभियत सङघपछिको रूसको अनुभवसित अतुलनीय छ र दुई दशकसम्मको पुटिनकालीन राजनीतिक स्थिरताको शक्ति सन्तुलनलाई तोड्न खोजिएको रूपमा देख्न सकिन्छ ।
नयाँ किसिमको दमन
कागारलित्सकी पुराना वामपन्थी र प्रख्यात विद्वान भए पनि अहिले कुनै राजनीतिक पार्टीमा आबद्ध छैनन् । उनलाई सेप्टेम्बर ३० का दिन मस्कोको सामाजिक र आर्थिक विज्ञानको उच्च विद्यालय (कलेज) मा आइपुगेपछि पक्राउ गरिएको थियो । त्यहाँ उनले वर्षमा केही दिन कक्षा लिने गर्छन् । उनलाई सामाजिक सञ्जालमा प्रतिबन्धित विषय साझा गरेको अभियोगमा सजाय दिइएको थियो । आफ्नो पक्राउ र सजायको विषयमा स्पष्ट पार्दै कागारलित्सकी भन्छन् – “सामाजिक सञ्जालमा म नियमित राजनीतिक आलोचक रहँदै आएको छु । त्यसै क्रममा मैले निर्वाचनमा भएको धाँधलीलाई लिएर केपीआरएफले गरेको जुलुस प्रदर्शनमा उल्लेख गरेको वक्तव्यलाई निकै छोटो टिप्पणीसहित साझा गरेको थिएँ । निर्वाचन परिणामविरुद्धका ¥यालीहरूमाथि सरकारले प्रतिबन्ध लगाएको मलाई थाहा थिएन । फेरि पक्राउ पर्नु, मुद्दा चलाइनु र केही हुँदै नभएको कसुरका लागि सजाय गरिनु मेरो लागि र कम्तीमा हाम्रो समयमा नयाँ कुरा पनि होइन ।”
त्यसरी सजाय पाउने कागारलित्सकी एक्लै होइनन् । विभिन्न पार्टीहरूमा आबद्ध वामपन्थी कार्यकर्ताहरूलाई सरकारले निशाना बनाएको छ । यस किसिमको राजनीतिक दमन युवा पुस्ताको लागि नयाँ र चिन्ताजनक विषय बनेको छ । पुटिन मातहतको रूसमा आलोचकहरूमाथि दमन बढ्दो छ । विगत केही वर्षमा सरकारले अत्यन्त फराकिलो जाल फैलाइसकेको छ । सबैभन्दा पहिले भ्रष्टाचारविरोधी अभियन्ता र लामो समय पुटिनको प्रतिद्वन्द्वी रहेका अलेक्सेइ नाभाल्नीलाई पक्राउ गरियो । गत वर्ष उनीविरुद्ध विष प्रयोग भयो र त्यसपछि उनका सबै राजनीतिक सङ्गठनहरू बन्द गरियो । कैयौँ नागरिक समाजहरूलाई बिनाप्रमाण ‘विदेशी दलाल’ को बिल्ला भिराइएको छ र केहीलाई जबरजस्ती बन्द गराइएको छ । स्वतन्त्र सञ्चारमाध्यमहरूलाई पनि त्यसरी नै दमन गरिएको छ ।

अहिले दमनको सामना गर्ने पालो आधिकारिक मान्यताप्राप्त विपक्षी पार्टीहरूको देखिएको छ । तिनीहरूको भिन्न दृष्टिकोणले विभिन्न विषयमा विशेष गरी घरेलु नीतिमा वादविवादको शृङ्खला निम्तिएको आरोप लगाइएको छ ।
हालै आएर क्रेमलिन (रूस सरकार) ले ‘व्यवस्थित प्रजातन्त्र’ को प्रणालीको राग गाउन थालेको छ । त्यसको उद्देश्य युनाइटेड रसिया पार्टीलाई सधैँ बहुमतमा र चुनौतीसहित स्थानमा राख्नु एवम् विपक्षी पार्टीहरूलाई त्यसको मातहतमा रहन स्वीकार गर्न लगाउनु हो । पुटिन युगमा अहिले यही तानाशाही अवधारणा लागु हुने र कानुनी हुने छनक देखिन थालेको छ ।
रूसी एकीकृत कम्युनिस्ट पार्टी
(केपीआरएफ) ४० हजार युवासहित १ लाख ५० हजार सङ्गठित सदस्य रहेको रूसको दोस्रो ठूलो राजनीतिक पार्टी हो र स्वाधीन ऐतिहासिक जरा भएका रूसी पार्टीहरूमध्ये मुख्य हो । जबकी कम्युनिस्ट पार्टीहरूबाहेक अरू सबैजसो पार्टीहरू क्रेमलिनले कृत्रिमरूपमा सिर्जना गरेका पार्टीहरू हुन् । केपीआरएफले सेप्टेम्बरमा भएको संसदीय निर्वाचनमा खसेको कुल मतको १९ प्रतिशत मत प्राप्त ग¥यो, जुन २०१६ को संसदीय निर्वाचनमा भन्दा ५ प्रतिशतले वृद्धि हो । सत्तारूढ युनाइटेड रसिया पार्टीले कुल खसेको मतको ३० प्रतिशतमात्र मत पाए पनि ४९ प्रतिशत सीट कब्जा ग¥यो । उक्त पार्टीले २०१६ को तुलनामा ५ प्रतिशत कम मत प्राप्त गरेको हो ।
रूसी एकीकृत कम्युनिस्ट पार्टी (केपीआरएफ) ले कैयौँ निर्वाचन क्षेत्रहरूमा आफ्नो विजयलाई धाँधली गरी खोसेको दाबी गरेको छ । यति ठूलो मात्राको निर्वाचन धाँधली यसअघि भएको थिएन र यसैकारण विरोध प्रदर्शन चर्केको हो । मस्कोमा पार्टीले दुईवटा सार्वजनिक ¥यालीहरू आयोजना ग¥यो तर त्यसमाथि हिंसात्मक दमन र पक्राउ गरेर सरकारले ¥यालीलाई छिन्नभिन्न पारिदियो । सहरको प्राधिकारले दुइटै ¥यालीलाई गैरकानुनी घोषित गरिदिएको थियो ।
जब कम्युनिस्ट पार्टीका ड्युमा सदस्यहरूले मतदाताहरूबीच आमसभा गर्न खोजे, नैसर्गिक अधिकारको रूपमा रहेको त्यस आमसभालाई पनि बिथोलियो । ६ जना निर्वाचित जनप्रतिनिधिहरूसहित करिब १८० जनालाई पक्राउ गरियो । निर्वाचन परिणामलाई अदालतमा कानुनी चुनौती दिन वकिलहरूले मुद्दाको तयारी गरिरहेको भवनलाई दुई दिनसम्म प्रहरीको घेरामा राखियो र मुद्दा हाल्ने समयसीमा घर्किसकेपछि मात्र छाडियो ।
मस्को सहर परिषद्का एक निर्वाचित सदस्य निकोलाई जुब्रिलिनलाई निर्वाचनपछि दुई पटक पक्राउ गरिसकिएको छ । उनी भन्छन् – “दमनले पुटिन सरकारसित रहेको त्रास देखाउँछ र बढीभन्दा बढी रूसी जनतामा सत्तासीन पार्टीको चुनावी जितको वैधतामाथि शङ्का बढ्न थालेको छ । हुन त रूसमा भएका कुनै पनि निर्वाचन स्वच्छ थिएनन् तर मैले यतिसम्मको अधिकार दुरुपयोग र धाँधली कहिल्यै देखेको थिइनँ ।
मस्कोलगायत रूसका आठ वटा प्रदेशमा उपयोग गरिएको र निर्वाचनको छोटो समयअघिमात्र अगाडि ल्याइएको इलेक्ट्रोनिक्स मतदान प्रणाली (मेसिन र सफ्टवेयर) को केपीआरएफलगायत अरू विपक्षी पार्टीहरूले गम्भीर आपत्ति प्रकट गरेका थिए । सरकारी अधिकारीहरूका अनुसार २० लाख मानिसहरूले उक्त नयाँ मतदान प्रणाली उपयोगका लागि नाम दर्ता गराएका थिए तर आलोचकहरू उक्त मेसिनको मतदाता सूची कुनै मतदाता नामावलीसित मेल नखाएको र धेरै थोरै खसेको उक्त इलेक्ट्रोनिक्स मत गडबडीका लागि प्रयोग भएको दाबी गरे ।
“युरोपेली अदालतहरूले त्यस्ताखाले मतदान प्रणालीलाई अपारदर्शी भनेर प्रतिबन्ध लगाइसकेका छन्,” केपीआरएफका नयाँ निर्वाचित ड्युमा सदस्य यारोस्लाभ लिस्टोभले भने । उनले अगाडि भने – “केही प्रक्रियाहरूमा फेरबदल गर्न सकिएपनि आधारभूत रूपमा निर्वाचन विश्वासको कार्य बनिसकेको छ । निर्वाचन अगाडि हामीसित उक्त मतदान प्रणालीलाई रोक्ने अर्को कुनै ठोस विकल्प थिएन ।”
रूसी एकीकृत कम्युनिस्ट पार्टी
(केपीआरएफ) का अनुसार त्यस पार्टीले निर्वाचनका क्रममा भएका अनियमितताहरूलाई लिएर २५० वटा भन्दा बढी मुद्दा हालेको छ । र, विभिन्न विपक्षी पार्टीहरूका हारेका उम्मेदवारहरूको गठबन्धनले भविष्यमा हुने कुनै पनि निर्वाचनमा उक्त इलेक्ट्रोनिक्स मतदान प्रणाली प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेको छ । तर, मस्कोका निर्वाचन अधिकारीहरू भने आफूहरूको अनुसन्धानमा कुनै किसिमको धाँधलीको प्रमाण नभेटिएको र त्यसैअनुसार मत परिणाम घोषणा भइसकेको बताउँछन् ।
मिखाइल लोबानोभ मस्कोको कुन्तसेभो जिल्लाबाट ड्युमा सदस्यका उम्मेदवार थिए र उनलाई केपीआरएफले समर्थन गरेको थियो । निर्वाचनपछिको राति नै जबसम्म कागजी मतको मतगणना भइसकेकोे थियो उनी विपक्षी उम्मेदवारभन्दा १२ हजार मतले अगाडि थिए । त्यसपछि २० हजार मतसहितको इलेक्ट्रोनिक्स मतदान प्रणालीको मत गणना गरियो, मत परिणाम एकाएक युनाइटेड रसिया पार्टीका उम्मेदवारको पक्षमा पल्टियो । लोबानोभलाई युनाइटेड रसिया पार्टीका उम्मेदवार तथा टीभी कार्यक्रम प्रस्तोता येभ्गेनी पोपोभले ८ हजार मतले पराजित गरेको घोषणा गरियो ।
परिवर्तन अत्यावश्यक छ
लोबानोभका अनुसार रूसी एकीकृत कम्युनिस्ट पार्टी (केपीआरएफ) क्रेमलिनको योजनामा फसिसकेको छ र योजनाअनुसार विद्यमान प्रणालीभित्र केपीआरएफलाई पूर्वनिर्धारित स्थानमा सीमित पारिएको छ । जबसम्म केपीआरएफले निर्णायक सडक सङ्घर्षलगायत जनताको विश्वास जित्ने अरू शान्तिपूर्ण उपायहरू गर्दैन, अवस्था फेरिने छैन । एक दशकअघि त्यसरी नै निर्वाचनमा भएको धाँधलीविरुद्ध दसौँलाख रूसी जनताको प्रदर्शनले गर्दा कैयौँ निर्वाचन परिणामहरू उल्टिएका थिए र सरकार तथा निर्वाचन अधिकारीहरू केही हदसम्म सजग भएका थिए ।
वास्तवमा निर्वाचन परिणामलाई लिएर आफ्ना नेता गेन्नाडी ज्युगानोभको अति सुस्त प्रतिक्रियाप्रति केपीआरएफका केन्द्रीय समितिका केही सदस्यहरूले समेत खेद प्रकट गरेका छन् । सरकारसितको सम्बन्धलाई आफ्ना पार्टी पदाधिकारीहरूले ‘नियमित कारोबार’ जसरी लिएकोमा पनि आक्रोशित छन् ।
“यदि पार्टीले वास्तवमै रूसको प्रतिपक्ष शक्तिको रूपमा बाँच्न चाहेको हो भने केपीआरएफले त्यसलाई मतदान गर्ने जनताको विश्वास कायम राख्ने गतिविधि गर्नैपर्छ”, लोबानोभले भने ।
लोबानोभले भनेझैँ केपीआरएफको कार्यशैली अहिले नै फेरिन भने कठिन छ । पार्टी नेतृत्व सरकारसित कदममा कदम मिलाएर हिँड्नमा लालायित छ र उनीहरू आफ्नो कामका लागि मिलिरहेको सुविधामा रमाइरहेका छन् । तर, पार्टीका सामान्य सदस्यहरू र विशेषगरी युवा सदस्यहरू बढी क्रान्तिकारी देखिएका छन् एवम् परिवर्तन आवश्यक छ भनी आवाज उठाइरहेका छन् ।
कागारलित्सकीले भने – “अहिले आएर रूसी सरकार केपीआरएफदेखि पनि तर्सेको छ र त्यसैले दुई दशकसम्म सहेको उक्त पार्टीविरुद्ध पनि दमनलाई तिव्र पारिरहेको छ किनभने वर्तमान रूसी सरकारका अधिकारीहरूलाई रूसको इतिहास र रूसी कम्युनिस्टहरूको इतिहास राम्ररी अवगत छ । माथिदेखि तल्लसम्म पुटिन र पुटिन जस्ता अवसरवादी मानिसहरूले भरिएको कर्मचारीतन्त्रको राज्य छिट्टै भताभुङ्ग हुन बेर लाग्ने छैन, हामीले आशा गरेको भन्दा छिट्टै नै पनि हुनसक्छ । रूसको इतिहासका एक शताब्दीभित्र त्यस्तो घटना दुईपटक भइसकेको छ – पहिलो सन् १९१७ मा रूसी साम्राज्यको पतन र अर्को सन् १९९१ मा सोभियत समाजवादी गणतन्त्र सङ्घको विघटन ।”
“रूसी जनतामाझ वामपन्थप्रति गहिरो झुकाव रहेको छ, त्यसैले समय छिट्टै नै वामपन्थीहरूको पक्षमा हुन सम्भव छ,” कागारलित्सकीले अगाडि भने ।
सोभियत सङ्घको विघटनताका विपक्षी पुँजीवादीहरूसित फाइदा उठाउने निकै राम्रो अवसर थियो तर तिनीहरूले आफ्नो अवसर गुमाइसकेका छन् । अहिले कम्युनिस्टहरू र वामपन्थीहरू नै जनताको आशा र भरोसाको केन्द्र बनिरहेका छन् । अहिले भने नेतृत्व जनलहरअनुसार चल्न नसके पनि केपीआरएफ वामपन्थी विचारधारा र बलियो वाम व्यक्तित्वहरूको मुख्य थलो बनेको छ । त्यसैले पनि वर्तमान रूसी सरकारका अधिकारीहरू यस पार्टीदेखि तर्सिन लागेकोमा कुनै आश्चर्य छैन । जनताको माझमा पार्टीको यो स्थान गत निर्वाचनमा पार्टीले हासिल गरेको उपलब्धि (सीट सङ्ख्या) भन्दा धेरै ठूलो सफलता हो ।
(Communists face rare crackdown in Russia, upending old balance)
–The Christian Science Monitor
(October 26, 2021)
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *