भर्खरै :

भक्तपुर नगरपालिकाको प्रथम नगरसभा

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार बसेको बन्दसत्रले नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४-०७५ को लागि विनियोजित बजेट सर्वसम्मतिले पारित गरेको छ ।
आगामी आवको लागि कूल १ अर्ब ५ करोड ५५ लाख रूपैयाँको अनुमानित आय–व्ययसहितको बजेटमा स्वीकृति प्राप्त २५ सैय्याको ख्वप अस्पतालको भवन निर्माण, महेश्वरी खेल मैदान तथा शहीद स्मृति खेल मैदानको सुधार एवं सुविधासम्पन्न कभर्ड हल निर्माण, ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन निर्माण सम्पन्न, हनुमन्ते खोला एवं घाट सुधार, नगर क्षेत्रमा पर्यटक शौचालय निर्माण, सुविधा सम्पन्न अरनिको सभाभवन निर्माण, भेलुखेलस्थित डम्पिङ साइट रहेको क्षेत्र सुधार एवं आदर्शबाट सिद्धिस्मृति अस्पताल हुँदै आउने पुल पुनःनिर्माण, खानेपानी व्यवस्थापनलगायतका नगरस्तरीय योजनाहरू आगामी आर्थिक वर्षबाट सञ्चालन गर्नको लागि रकम विनियोजन गरिएको छ । बजेटमा वडास्तरीय विकास निर्माण गर्नको लागि प्रत्येक वडा कार्यालयलाई ५० लाख रूपैयाँ बराबरको रकम विनियोजन तथा नगर क्षेत्रमा रहेका पर्ती जग्गा संरक्षण कार्यलाई विशेष जोड दिइएको उल्लेख छ ।
बन्दसत्रमा नगरसभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफदिने क्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूलाई कर तिर्न उत्साहित गर्ने कार्यक्रमहरू अगाडि सारेको प्रस्ट पार्नुभयो । उहाँले नियमित कर सड्ढलनको लागि घरदैलो अभियान सञ्चालन गर्ने, समयमै वार्षिक कर तिर्नेलाई सहुलियतको बन्दोबस्त गर्ने उल्लेख गर्दै नेपाल सरकारबाट निर्णय भई लागू भइरहेको घर–जग्गा मूल्याड्ढन कर निकै महँगो हुँदा जनगुनासो आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनभावनालाई कदर गर्दै भक्तपुर नगरवासीहरूले समयमै घर–जग्गा मूल्यांकन कर तिरेमा नगरपालिकाले ५० प्रतिशतसम्म सहुलियत दिने व्यवस्था गरिएको छ ।’
प्रमुख प्रजापतिले भूकम्प पीडितहरूलाई घर निर्माणको क्रममा सम्बन्धित कित्तामा मात्र नगरपालिकाले दिंदै आएको नक्सा पास दस्तुरमा छुटको व्यवस्थालाई नगरको अन्य ठाउँमा घर बनाउँदा समेत भूकम्प पीडित परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरेको पनि प्रस्ट पार्नुभयो ।
शुक्रबारको बन्दसत्रले भक्तपुर नगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४, भक्तपुर नगर कार्यपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७४, सभा र बैठकमा उपस्थित हुने सदस्यहरूले पालना गर्नुपर्ने आचरण तथा नियमहरू सर्वसम्मतले पारित ग¥यो ।
बन्दसत्रले नगरपालिकाको लागि आवश्यक विधेयक, निर्देशिका, कार्यविधि वा आदेश मस्यौदा तयार गर्न वडाध्यक्ष हरिराम सुवालको संयोजकत्वमा ३ सदस्यीय विधेयक समिति गठनसँगै यसअघि नगरपालिकाले निर्णय गरी गठन गरेको आर्थिक समितिलाई लेखा समितिको समेत जिम्मेवारी दिने निर्णय गरेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *