“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
मध्यपुर, २० कार्तिक । नेपाल संवत् ११४२ को अवसरमा शुक्रबार मध्यपुर थिमि नगरपालिकाको बोडे लाछी टोलमा २३ औँ विविधभाषा साहित्य सम्मेलन सम्पन्न भयो । सम्मेलनको उद्घाटन नीलबाराही गणनाच ताःपुजा रमेश थाले गर्नुभयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रधानन्यायाधीशले पदबाट राजीनामा दिँदा उनले यसअघि जारी गरेका परमादेश र त्यही परमादेशमा बनेको देउवा सरकार पनि गल्ती हुने बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशले प्रधानमन्त्रीले विघटन गरेको संसद पुनःस्थापना गर्ने र देउवालाई नै प्रधानमन्त्री बनाउन राष्ट्रपतिको नाममा दिएको आदेश गलत कदम भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले एमसीसी सम्झौतामार्फत नेपालमा संरा अमेरिकी कानुन लागु गर्न खोजिएको भन्दै चुनावमा लड्दाको ऋण चुक्ता गर्न शासक दलहरूले एमसीसी सम्झौताको समर्थन गरेको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता खारेज गर्न नेपाली जनता अन्तिम दमसम्म लड्नुपर्ने प्रस्ट पार्दै महिला र युवा–विद्यार्थीहरूलाई पनि यो सम्झौताको देशघाती कदमबारे सचेत बनाउनुपर्ने धारणा राख्नुभयो ।
विदेशी पैसाले कुनै पनि देशको विकास नभएको भन्दै अध्यक्ष बिजुक्छेँले संरा अमेरिकाले ऋण र अनुदानको नाममा दिने पैसा नेपालको विकासमा खर्च नहुने बरु अमेरिकामा नै फर्किने स्पष्ट पार्नुभयो ।

“विदेशीले दिएको पैसा सबै नेपालको विकासमा खर्च हुने हो भने नेपालमा अहिलेसम्ममा कोही गरिब नहुने पर्ने हो”, उहाँले भन्नुभयो ।
बिजुक्छेँले एमसीसी सम्झौताबारे अमेरिकीहरूले स्वीकारेका कुरासमेत नेपालका शासकहरूले झूटा प्रचार गरिरहेको बताउनुभयो ।
एमसीसी वाशिङ्टनमा बनाएर नेपालमा अनुमोदन गराउन खोजिएको सम्झौता भन्दै उहाँले एमसीसी सम्झौतामा भारतीय शासक वर्गको हितसमेत जोडिएको धारणा राख्नुभयो ।
“भारतीय शासक वर्गले अमेरिकीहरूलाई अगाडि राखेर नेपालमा आफ्नो स्वार्थ पूरा गर्न खोज्दै छन्”, बिजुक्छेँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले एमसीसी सम्झौताबारे कसैमा पनि दुविधा हुनु जरुरी नभएको र यो हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन भएको बताउनुभयो ।
“संरा अमेरिकाले एसियामा युद्ध गराउने र हतियार व्यापार गर्ने रणनीति बोकेको छ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “साम्राज्यवादीहरू प्रजातन्त्र र मानवअधिकारको नाममा बाँकी संसारका स्वाधीन देशहरूलाई एकापसमा द्वन्द्वमा फसाउने र आफ्ना कठपुतली बनाउने गर्छन् । यसको नेतृत्व अमेरिकी साम्राज्यवादले गर्दै छ ।”
नेपालका उद्योगी–व्यापारीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सले देशघाती एमसीसी सम्झौता पारित गर्न दबाब दिनु देशको हितमा नभएको भन्दै उहाँले अन्य उद्योगी–व्यापारीहरूले देशघाती एमसीसी सम्झौताको विरोध गर्नु आवश्यक भएको बताउनुभयो । “देशलाई खरानी हुनबाट जोगाउने काम प्रत्येक नागरिकको हो”, सुवालले भन्नुभयो ।
“एमसीसी सम्झौताको समर्थन विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्ले, अमेरिकाका लागि पूर्वराजदूत शङ्कर शर्मा, पूर्वअर्थसचिव रामेश्वर खनाल, गोरखापत्रका पूर्वसल्लाहकार सम्पादक गोपाल खनालले पनि गर्दै छन् । एमसीसी सम्झौताको समर्थन गरेकाहरू देशभक्त होइनन्”, उहाँले थप्नुभयो ।
सम्मेलनका सभापति एवम् नेमकिपाका केन्द्रीय सदस्य तथा शिक्षा सेवामा अग्रसर अनुराधा थापामगरले कोभिड–१९ महामारी अझै पूर्णतः रोकथाम नभइसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी भएको चर्चा गर्दै सम्मेलन जनताको निम्ति पाठशालाजस्तै भएको बताउनुभयो ।
विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भागबन्डामा भाग लिन खोज्दा न्यायपालिका अराजक अवस्थामा पुगेको बताउनुभयो ।
प्रधानन्यायाधीशले अरबाँैं कर मिनाहा गर्ने फैसला गर्ने परिस्थिति बनाएर देशलाई हानि पु¥याइरहेको भन्दै उहाँले अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना काम कर्तव्यबाट च्युत भइरहेको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेपको विषयमा बोल्दै चीनको विकास रोक्न संरा अमेरिकाले चारैतिर सैनिक आधार बनाएर घेराबन्दी गर्न खोजेको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले चीनले विश्वको समतामूलक आर्थिक विकासको निम्ति बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अघि सारेर संसारका विकासशील देशहरूलाई आर्थिक र पूर्वाधार विकासमा मद्दत गरिरहेको बताउनुभयो ।
इन्जिनियर समाज नेपालका सुनिल दुवालले चीनको प्रभाव विस्तार रोक्न क्वाड, अउकस जस्ता गठबन्धनहरू बनाएर संसारलाई फेरि पनि अस्थिर अवस्थामा पु¥याउन र एसियामा युद्ध थोपर्न खोजिरहेको बताउनुभयो ।
रसायन इन्जिनियर राजदास श्रेष्ठले आफू विद्यार्थीको रूपमा तत्कालीन सोभियत सङ्घमा हुँदा समाजवादी सरकारले गरेका गतिविधिबारे प्रकाश पार्नुभयो ।
मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले नियमित व्यायाम र स्वस्थ खानपानले मुटु रोगका समस्याबाट जोगिन सक्ने बताउनुभयो ।
सम्मेलनमा चिकित्सक डा. सरोज धिताल, कवयित्री सुलोचना मानन्धर, चिकित्सक सविन साहु, ग्यास्ट्रिक विशेषज्ञ रमिला श्रेष्ठलगायत वक्ताहरूले बोल्नुभएको थियो ।
सम्मेलनमा बोडेका सांस्कृतिक गुरु पञ्चकृष्ण दली र श्यामकृष्ण तुछेंलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा विविध भाषा साहित्य समाजका अध्यक्ष सूर्यराम था श्रेष्ठले मन्तव्य, आयोजक समितिका सुरेन्द्र थाले स्वागत, धन्यवाद ज्ञापन विविध भाषा साहित्य समाजका सल्लाहकार आशाहरि प्रजापति, आयव्ययको जानकारी कोषाध्यक्ष कृष्णभक्त भासिंकले दिनुुभएको थियो ।
सम्मेलनमा आयोजित साहित्य प्रतियोगिताअन्तर्गत कविता विधामा प्रथम दिनानाथ पोखरेल, द्वितीय सुनकृष्ण कर्मी र तृतीय कृष्णप्रसाद सुवाल हुनुभयो । त्यस्तै कथा विधामा विकल प्रजापति र निबन्ध विधामा प्रकाशमान श्रेष्ठलाई विशेष पुरस्कार दिइयो ।
शुक्रबार बिहान विविध भाषा साहित्य समाजको आयोजनामा नयाँ वर्ष ११४२ को अवसरमा प्रभातफेरी सम्पन्न भयो । नगदेशबाट सुरु भएको प्रभातफेरी चपाचो, बालकुमारी हुँदै बोडे लाछी टोलमा सम्पन्न भएको थियो । प्रभातफेरीको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुुनिल प्रजापतिले गर्नुभएको थियो भने धन्यवाद सूर्यराम था श्रेष्ठले दिनुभएको थियो ।
Leave a Reply