अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
शिक्षक तथा कवि हरिहर तिमिल्सिनाले अढाइ दशक शिक्षण पेशामा सक्रिय हुँदाको अनुभव एवम् अनुभूतिलाई एउटा मौलिक उपन्यासको आकार प्रदान गर्नुभयो । आफ्नो पेशामा समर्पित भएर लाग्दा नजिकबाट देखेका घटना, व्यवहार, मनमा परेको छाप, मस्तिष्कमा उब्जेका नयाँ सोच र काम गर्दै जाँदा प्राप्त सन्तुष्टि–असन्तुष्टिलाई उनेर शिक्षक तिमिल्सिनाले उपन्यास नै तयार पार्नुभयो– ‘कखरा’ । शिक्षा क्षेत्रबाट समाज परिवर्तन गर्न खोज्ने एकजना प्रतिबद्ध शिक्षकको ‘मनभित्रको उकुसमुकुस र छटपटी’ को विस्फोट ‘कखरा’ हो भन्नु उपयुक्त होला । यो उपन्यासका पात्रहरू अद्यापि हाम्रै वरपर घुमिरहेका छन् । यसका पात्र हामीमध्ये कोही आफै होला ! हाम्रै परिवेश उपन्यासमा उतारिएको छ । कथा, पात्र, प्रसङ्ग, घटना तथा परिवेश मिल्दोजुल्दो भएको महसुस धेरैले गर्नेे सम्भावना छ । तसर्थ, ‘कखरा’ वर्तमान समयको कथा हो । यो अहिलेको समाजको व्यथा हो । नेपाली शिक्षा प्रणाली र त्यसले जन्माएको सामाजिक परिस्थितिको तस्बिर हो, ‘कखरा’ ।
पछिल्लो तीन दशक अर्थात् विशेषगरी नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापनापश्चात् नेपाली शिक्षा व्यवस्थाले भोगेको दुर्गति र त्यसका कारक तथा कारणबारे छलफल र बहस जारी छ । शिक्षामा नवउदारवादीको नीतिले भित्याएको ध्वंस, विभेद, विकृति तथा विसङ्गतिप्रति सर्वत्र चिन्ता जाहेर हुँदै छ । भुक्तभोगीहरू उपायको खोजीमा छन् । गुहार माग्दै छन् । संवेदनशील समुदाय चिन्तन गर्दै छ । शिक्षामा व्यापारीकरणलाई राज्यले नै बढावा दिँदाको अनिवार्य दुष्परिणाम नेपाली समाजले भोग्दै छ । शिक्षा, स्वास्थ्यजस्ता आधुनिक मानव समाजका आधारभूत आवश्यकता राज्यको अनिवार्य दायित्व बनाउनुको सट्टा ती अति संवेदनशील क्षेत्र माफिया अर्थात् आर्थिक अपराधीहरूको रजाईँ गर्ने थलोमा परिणत गरिनाले शिक्षा तथा ज्ञान क्रय–विक्रयको वस्तु बन्दै छ । विद्यालय, विश्वविद्यालय ज्ञान–विज्ञानको आधुनिक केन्द्रभन्दा पनि कुनै नक्कली सामान उत्पादन गर्ने कारखानाजस्तो, मिसावटयुक्त अखाद्य वस्तु बेच्ने बजारजस्तो र सर्टिफिकेट बेच्ने पसलजस्तो हुन थालेकामा संवेदनशील समुदाय चिन्तित छ । यो आजको तीतो यथार्थ हो । यसकारण, कवि मनका शिक्षक तिमिल्सिना विद्यालयलाई अझै पनि ज्ञानको पवित्र मन्दिर बनाउन सकिने दृढ निश्चय व्यक्त गर्नुहुन्छ । शैक्षिक क्षेत्रमा क्रियाशील भइरहेको नाताले उहाँले आशाको झिल्को यस उपन्यासमार्फत बाल्नुभएको अनुभूत हुन्छ । विद्यालयलाई सुनौलो भविष्य प्रदायक संस्था, सुन्दर समाज निर्माण गर्ने ज्यासलमा परिणत गर्ने एउटा प्रस्ताव उहाँले यस उपन्यासमार्फत राख्नुभएको छ । शिक्षाजस्तो प्रत्येक नागरिकको आधारभूत आवश्यकता महँगो पारेर, सर्वसुलभ नबनाएर समाजमा असमानताको विषवृक्ष रोपिरहेको भनी उपन्यासकार तिमिल्सिना आक्रोश व्यक्त गर्नुहुन्छ । सामाजिक द्वन्द्व तथा समाजको पतनका कारणहरूमध्ये शिक्षामा विभेदको नीति पनि एउटा हो भन्ने ठम्याइ उहाँको छ ।
यो उपन्यास एक किसिमको भद्र जवाफ पनि हो । आजभोलि शिक्षकहरूमाथि आरोप लाग्ने गरेको अस्वीकार गर्न सकिन्न– “पढाउने शिक्षकहरू आफै पढ्दैनन् ।” जनमानसमा व्यापक गुनासो छ– “शिक्षकहरू हिजोका जस्ता भएनन् । अल्छि बने । शिक्षकहरूले पैसामात्र हेरे । ठग प्रवृत्ति बढ्यो !” शिक्षक तिमिल्सिनाले उपन्यासमार्फत यी आरोपको शालीनतापूर्वक खण्डन गर्दै शिक्षकहरू पढ्छन् पनि, लेख्छन् पनि र इमानदार शिक्षक पनि बाँकी छन् भन्ने सन्देश दिन र एउटा जिउँदो प्रमाण पेश गर्न खोज्नुभएको प्रतीत हुन्छ । साथै, जिम्मेवार शिक्षकहरू चिन्तन गर्दै छन् र शिक्षा क्षेत्रमा परिवर्तनको पृष्ठभूमि तयार गर्न प्रतिबद्ध छन् भन्ने बोध गराउनुभएको अनुभव हुन्छ ।
प्रभावकारी शिक्षण, बालमैत्री वातावरण, बालमनोविज्ञान, सिकाइ उपलब्धि, दण्डरहित शिक्षण आदिबारे व्यापक छलफल चलिरहेको बेला नेपाली शिक्षा प्रणाली एवम् पद्धतिका खोटहरू, मूल्याङ्कन प्रणालीका कमीकमजोरी आदि यो उपन्यासले जस्ताको तस्तै सबैसामु प्रस्तुत गरेको छ । हामी कहाँ चुक्दै छौँ, हाम्रो चिन्तनमा कहाँनिर दोष छ, हामीले कहाँ सुधार्न आवश्यक छ आदिबारे यो पुस्तकले बहसलाई तीव्र पार्नेछ । तीन दशक बितिसक्दा पनि यथोचित पाइला अभैm नचाल्ने हो भने शैक्षिक क्षेत्रमात्र होइन नेपाली समाजले नै अकल्पनीय बर्बादी बेहोर्नुपर्नेतर्फ उपन्यासकार तिमिल्सिना सरोकारवालालाई सजग पार्नुहुन्छ ।
प्रयोगात्मक शिक्षा, जीवनसँग जोडिएको शिक्षा, माटो चिनाउने शिक्षा, समाजमा बाँच्न र बचाउन सिकाउने शिक्षा, समाजलाई विघटन, पतन तथा विध्वंशतर्फ डो¥याउने शिक्षा होइन साँच्चैको मानवीय गुणले युक्त समाज निर्माणतर्फ डो¥याउने शिक्षा आजको आवश्यकता हो भन्ने निष्कर्ष यो उपन्यासमा पाइन्छ । हाम्रा बच्चाबच्चीलाई चर्को दबाब, कृत्रिमता तथा आडम्बरमा होइन स्वाभाविक, प्राकृतिक, स्वतन्त्र तथा सामाजिक ढङ्गमा प्रोत्साहन दिँदै हुर्काउन आवश्यक छ भन्ने आह्वान यो उपन्यासले गर्दछ । ‘सीप, संस्कार, प्रविधि, प्रकृति, प्रेम र ज्ञानलाई सँगसँगै लैजानुपर्छ’ भन्ने सार यस उपन्यासमा पाइन्छ ।
सैद्धान्तिकरूपमा भन्ने हो भने उत्पादन श्रमसँग जोडिएको शिक्षा नै आजको आवश्यकता हो । निःशुल्क, अनिवार्य तथा वैज्ञानिक शिक्षाले मात्र मानव जगतको बृहत्त्तर हित सम्भव बनाउनेछ । ‘कखरा’ उपन्यासले यही सन्देश प्रवाह गर्ने प्रयास गरेको छ । त्यसैले उपन्यासकार एक पात्रमार्फत भन्नुहुन्छ, “म एउटा यस्तो स्कूल खोल्छु, अहिलेसम्म नेपालमा कसैले नखोलेको स्कूल । जहाँ विद्यार्थीले पढेबापत शुल्क तिर्नुपर्ने होइन कि बरू केही तलब प्राप्त गर्न सकोस् ।” (पृ.–१८०) । यहाँनिर प्रश्न उठ्नु स्वाभाविक हो । राज्य व्यवस्था नै परिवर्तन नभई या प्रणाली नै सोहीबमोजिमको नभई व्यक्तिगत मनोकाङ्क्षाबाट यस खालको सपना साकार कसरी होला ? त्यसका निम्ति आधारभूमि निर्माणको खाँचोबारे थप छलफल तथा बहसको आवश्यकता छ अस्वीकार गर्न सकिन्न । तथापि, विषयवस्तु या सही विचारको उत्थान आपैmँमा सकारात्मक पक्ष मान्नैपर्छ । परिकल्पना, चिन्तन, मनन तथा बहसबाट नै परिवर्तन, उपलब्धि या सफलतातर्फको यात्रा प्रारम्भ हुने सर्वस्वीकार्य यथार्थ हो । त्यही क्रममा लेखकबाट एउटा नमुना शिक्षालय ‘प्रेम शिविर’ को प्रस्ताव आएको हो भन्नु समीचीन होला । लथालिङ्ग विद्यालय, यातनागृहमा परिणत भएका विद्यालय, भूतघरमा परिणत भइरहेका विद्यालय, द्रव्यमुखी विद्यालयलाई विस्थापित गरी स्वावलम्बी, आत्मनिर्भर, सुसंस्कृत, सचेत तथा क्षमतावान विद्यार्थी तयार पार्ने ‘प्रेम शिविर’ को परिकल्पना चुनौतीपूर्ण छ तर असम्भव होइन । कुरूपताको चित्रणमात्र होइन विकल्पसहित उपस्थिति जनाउनु लेखकको सशक्तता मान्न सकिन्छ । लेखनको यो सुन्दर पक्ष पनि हो । ‘लथालिङ्ग देशको भताभुङ्ग चाला, जो–जसले सक्ला ऊ–उसैले खाला’ को नारकीय स्थितिको अन्त्यको चाहना र समताभावको प्रकटीकरणले लेखकको वैचारिक परिपक्वता दर्शाउँछ । उपन्यासको मुख्य पात्र सफललाई सङ्घर्ष, कठिन परिस्थिति, द्वन्द्व – अन्तरद्वन्द्वबीच पनि अन्तिममा सफलताको शिखरमा पु¥याएर लेखकले पाठकहरूप्रति न्याय गर्नुभएको अनुभूत हुन्छ । कक्षा आठको विद्यार्थी सफललाई उपन्यासकै नायक बनाएर लेखकले ठूलै जोखिम मोलेको भए तापनि बालमनोविज्ञानको सशक्त प्रयोग, घटनाक्रमको सिलसिलेवार जीवन्त प्रस्तुित, भाषिक सरलता, प्रसङ्गहरूको मार्मिकता, समाजको सजीव चित्रण आदिले उपन्यासको नायक पाठकको मनसम्म पुग्न सफल देखिन्छ । साथै, लेखकीय गुणको सफलता पनि सबै पाठकले अनुभूत गर्नेमा शङ्का छैन । हाम्रा टोल–छरछिमेक र विद्यालयहरूमा ‘सफल’ को जीवन बाँचिरहेका बालबालिकाहरू कति छन् होला ? तिनीहरूलाई कतिन्जेल उनको नियति भोग्न बाध्य पारिरहने ? यी प्रश्न पनि तड्कारो खडा छन् । उपन्यासको सफलले अनेक कठिनाइ झेलेर अन्तिममा वास्तविक जीवनोपयोगी शिक्षा हासिल गरेरै छाडे र स्वयम् त्यस खालको शिक्षाका अगुवा या प्रचारक बन्न सफल भए । तर, त्यो उचाइमा नपुग्दै ओइलाएका ‘सफल’ हरू कति होलान् ? तिनलाई कसरी जोगाउने ? कोसँग योजना छ ? कोसँग समाधान छ ? गलत शिक्षण पद्धति, गलत मूल्याङ्कन पद्धति तथा अभिभावकहरूमा व्याप्त गलत समझदारीका कारण कति सफलहरू नराम्ररी असफल भइरहेका छन् भने कति असफलहरू विजयीको तक्मा पाइरहेका छन् । यो स्थितिको अन्त्य कहिले होला ?
लेखकले सोचविचारका साथ सरकारले खोलेको र पछिल्लो समय विदेशी सहयोगसमेत पाइरहेको बरदायिनीजस्ता सामुदायिक स्कूल, व्यापारिक उद्देश्यले खोलिएको ‘शिक्षा शिविर’ र गैरनाफामूलक प्रकृतिको तथा नयाँ नयाँ प्रयोगतर्पm अग्रसर ‘प्रेम शिविर’ पाठकसमक्ष राखेर बहस तथा तुलनात्मक अध्ययन गर्न प्रेरित गर्नुभएको प्रस्ट छ । यी तीन फरक प्रकृतिका शैक्षिक संस्थाका सैद्धान्तिक आधार, व्यवहार तथा उद्देश्य नै फरक छन् । ‘शिक्षा शिविर’ ले ‘अक्षर चिनाउँछ माटो चिनाउँदैन’, ‘हरेकलाई अङ्कमा नापतौल गर्छ’, विद्यार्थीलाई मानिस होइन ‘मेसिन’ बनाउँछ, अभिभावकलाई आडम्बरी बनाउँछ, किताबी ज्ञानमा जोड दिन्छ र जे दिनुपरे पनि पैसासँग तौली–तौलीमात्र दिन्छ । ‘प्रेम शिविर’ प्रयोगात्मकता, सिर्जनात्मकता, सीप तथा क्षमता अभिवृद्धि, संस्कार, सद्व्यवहार तथा श्रमको सम्मान आदिमा जोड दिन्छ । बरदायिनी स्कूल विदेशी दाताहरूको भरमा भौतिकरूपमा सक्षम नै भए पनि शिक्षक– कर्मचारीको कमजोर मनोबल, अल्छिपना तथा गैरजिम्मेवारीका कारण दिन प्रतिदिन खस्कँदो अवस्थामा छ । सरकारको उदासिनता, कमजोर व्यवस्थापन र समुदायको चासो तथा अगुवाइको अभावका कारण आज देशभरका बरदायिनी स्कुलहरू स्कूल नै भन्न नमिल्ने स्थितिमा पुगेका छन् । यी तीन थरीका शिक्षालयले नेपाली समाज तथा शिक्षा प्रणालीको यथार्थ उदाङ्गो पार्दछन् । यी तीन थरीका शिक्षालयको यथार्थपरक विश्लेषणले सचेत नागरिकलाई घोत्लिन बाध्य पार्नेछ । सरकारी विद्यालयमा व्याप्त भ्रष्टाचार तथा सरकारको पक्षपातपूर्ण नीतिका कारण पनि सामुदायिक विद्यालय कमजोर अवस्थामा पुगेको र त्यसका निम्ति शासक नेताहरू तथा कर्मचारीतन्त्र दोषी रहेको बारे केही प्रसङ्ग उल्लेख गरिएको भए अझ यथार्थपरक बन्ने थियो । साथै, धनीमानीका सन्तान पढ्ने स्कूलहरू तथा सहरका ठूला स्कूलहरूले नयाँ पुस्तालाई विदेश जान प्रेरित गरिरहेको र त्यहाँका शिक्षकहरूले विचौलियाको काम गरिरहेको बारे केही घटना जोडिएको भए सुनमा सुगन्ध हुने थियो ।
प्रेम शिविरमा सञ्चालित विद्यालयमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको प्रसङ्गले भने पाठकहरूको मनमा बेग्लै उत्सुकता प्रवाह गर्नेछ । ‘संस्कारयुक्त जीवन’ खण्डमा उपन्यासकार भन्नुुहुन्छ, “मे महिनामा पर्ने अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन पनि विद्यार्थीहरूलाई विभिन्न कार्यक्रममा सहभागी बनाइयो । ………… त्यस दिन कमल सरले श्रम र सीपको महत्वका बारेमा थप प्रवचन पनि दिएका थिए ।” (पृ.–२९५) श्रमप्रति सम्मान गर्न सिकाउने उद्देश्य बोकेको ‘प्रेम शिविर’ को यो उन्नत बौद्धिक अभ्यासले सुन्दर भविष्यको सङ्केत गर्दछ । ‘मातृसम्मान दिवस’ जस्ता गतिविधिले विद्यार्थीहरूलाई सामाजिक मूल्य–मान्यता बोध गराउने र जीवनको सुन्दर पक्ष अनुभूत गराउने निर्विवाद छ । नयाँ पुस्तालाई परिवार तथा समाजसँग जोड्ने, देशसँग जोड्ने आदि प्रयास सार्थक बन्ने निश्चित छ । उपन्यासकी एक प्रमुख पात्र मोनिकाको सङ्कल्पबाट पाठकले थप उज्यालो प्राप्त भएको अनुभव गर्ने पनि पक्का छ । उनी भन्छिन्, “मलाई पनि बुबाले देखाएको बाटो हिँड्ने रहर छ । धेरै पढ्ने रहर छ । अब म पनि धेरै पढेर राजनीतिमा लाग्छु र यो समाज बदल्छु ।” यसप्रकार समाज सेवामा लाग्ने र समाज परिवर्तनमा लाग्ने नयाँ पुस्ताको अठोटले सकारात्मक सन्देश दिनेछ । नभन्दै मोनिका सभासद् र सफल कृषि विशेषज्ञ तथा शिक्षा क्षेत्रका एक अगुवा बनेको र अन्तिममा दुबैको सहकार्य आरम्भ भएको पुनर्मिलनको कथाले पाठकलाई बेग्लै किसिमले आनन्दित तुल्याउनेछ । घोर अन्धकारपछि उज्यालो झुल्किन्छ भन्ने आशा जगाउन सक्नु उपन्यासको विशिष्टता हो भन्नु अन्यथा हुनेछैन ।
उपन्यासमा थुप्रै अङ्ग्रेजी र केही हिन्दी शब्दहरूको प्रयोगको उपादेयता नबुझेर संवेदनशील पाठकहरू रनभुल्लमा पर्ने सम्भावना नकार्न सकिन्न । नेपाली भाषाका चल्तीका शब्द भइकन उपन्यासमा अनावश्यक ठाउँमा थुप्रै अङ्ग्रेजी शब्द प्रयोग गरिनु धेरैका निम्ति आश्चर्यको विषय बन्नेछ । भाषिक सौन्दर्यमा त्यसले केही व्यवधान खडा गरेको सरल पाठकहरूले अनुभव गर्नेछन् । केही शब्दको हिज्जेमा देखिएको गडबडी ठूलो समस्या जरूर नहोला तर बेलैमा सच्याइएको भए उत्तम हुने थियो । नयाँ संस्करणमा यी र यस्ता सच्याउने केही ठाउँ बाँकी नै छन् । चलनचल्तीको नेपाली व्याकरणको प्रयोगभन्दा केही टाढा जाने कोसिसबारे पनि छलफल आवश्यक होला । नेपाली र नेवारी भाषामा बोलिने केही ‘खराब’ या अपशब्दको प्रयोग कति उचित र कति अनुचित भन्नेबारे पुनर्विचार गर्न नसकिने होइन । शिक्षक, अभिभावक, विद्यार्थीहरूका निम्ति पाठ्यसामग्रीतुल्य साहित्य उपलब्ध गराइरहँदा उच्च संवेदनशीलताको अपेक्षा गरिनु अन्यथा होइन । शिक्षक–विद्यार्थीको उपनाम असान्दर्भिकसम्म नहोला तर, एउटा परिधि कायम गरिएको भए सुपाच्य हुने थियो कि ¤ ‘डाँका सर’ भनी झट्ट सुन्दा पाठक सुरूमै झस्किनु स्वाभाविक हो । हेर्दा सामान्य लाग्ने तर बालमस्तिष्कमा पार्ने प्रभावप्रति आँखा चिम्लिन नमिल्नेबारे थप छलफल हुन आवश्यक छ । उपन्यासको भाषिक सरलता एवम् स्पष्टता विशिष्ट पक्ष मान्न सकिन्छ । कथावस्तु पनि त्यति दुरुह खालको नभएकोले भर्खरका पाठकले स्वाद लिई लिई पढ्ने विश्वास व्यक्त गर्न सकिन्छ । शैलीगत सरलता यस उपन्यासको अर्को सौन्दर्य मान्न सकिन्छ । कम पात्रहरूको प्रयोगबाट स्पष्ट कहानी पस्कन सक्नु अर्को उल्लेख्य पक्ष हो ।
उपन्यासले यथार्थवादी धार पकडेको छ । धेरै घटना, परिघटना यथार्थपरक हुँदाहुँदै केही भने पात्रको उमेरगत हिसाबले तालमेल नमिलेको या कहीँकतै अस्वाभाविक लाग्ने, कल्पनालोकमा हराएझैँ पाठकले अनुभूत गर्ने खालका छन् । शिक्षा व्यवस्थामा आमूल परिवर्तनमा व्यक्ति, विद्यालय, समुदायको भूमिकाबारे जति चर्चा उपन्यासमा गरिएको छ राज्यको भूमिका या शिक्षा क्षेत्रका हर्ताकर्ता र अवयवहरूमाथि बहस नहुनु अर्थात् राज्यसत्तासमक्ष प्रश्न नतेस्र्याइनु उपन्यासको एउटा अपूरो पक्ष हो भन्दा अतियुक्ति नहोला । शिक्षाका माफिया, मालिक र उच्च पदस्थहरूलाई उभ्याएर उदाङ्गो पारिएको भए उपन्यासको ओजन र उचाइ अझ बेग्लै हुने थियो । जसरी नेपालको शिक्षा जगत एकाएक भद्रगोल भएको होइन त्यसैगरी तुरुन्तै सुधार्नु कुनै जादुको छडी पनि छैन । तसर्थ, व्यक्तिगत तथा सामूहिक पहल र नीतिगत हेरफेरबिना परिवर्तन सम्भव नहुने यथार्थ हो । अचानक चमत्कारको अपेक्षा मृगतृष्णाबाहेक केही हुनेछैन । त्यसले निराशा जन्माउनेछ । उपन्यासको आकर्षक सुरूआत र सुखद् तर आश्चर्यजनक अन्त्य पाठकलाई लोभ्याउने खालको छ । मार्मिक कथा, समयसान्दर्भिक विषयवस्तु, समयले मागेको शैक्षिक – सामाजिक बहसले उपन्यासलाई छिट्टै नै जीवन्त चलचित्रमा परिणत गर्नुपर्ने माग आए अनौठो हुनेछैन ।
विभिन्न गीत, कविता, लेख–रचनामार्फत आफ्नो छुट्टै परिचय दिइसक्नुभएका स्रष्टा हरिहरजीको दोस्रो कृति तथा पहिलो उपन्यास ‘कखरा’ ले नेपाली साहित्यलाई थप उज्यालो पार्ने विश्वास लिन सकिन्छ । उहाँको लेखन तथा शिक्षण कर्म अकण्टक जारी रहोस् । सर्जक हरिहरजीलाई शुभकामना । शिक्षक, विद्यार्थी तथा अभिभावकले पढ्न छुटाउन नहुने ‘कखरा’ पाठकसमक्ष ल्याउने जिम्मेवारी बहन गर्ने सिकाइ समूहप्रति आभार तथा साधुवाद ! लेखक र प्रकाशकबाट अरू साहित्यिक कोसेलीको अपेक्षा हुनु स्वाभाविक छ ।
Leave a Reply