भर्खरै :

सक्वको म राजदास–१०९ / कृषि र जलश्रोत हाम्रो विकासको मूल आधार

मैले आफ्नो जीवनको २०–२२ वर्ष युवा अवस्था विदेशमा बिताएँ । कहिले पढाइको सिलसिलाइमा त कहिले रोजगारी तथा व्यापार व्यवसायमा बिताएँ । सबभन्दा पछिल्लो ५ वर्ष सन् २००० देखि २००५ सम्म म संयुक्त राज्य अमेरिकामा बसेँ । विगत १५–१६ वर्षदेखि म आफ्नो जन्मथलो शंखरापुर सक्व बस्दै आएको छु ।
विदेश गएर पनि हामीले धेरै कुरा सिक्छौँ । तर, आफ्नो जीवन विदेशमै बिताउने कुरा मलाई कहिल्यै दिमागमा आएन र बस्ने मनस्थिति कहिल्यै बनेन । चाहेको भए म रुस, जर्मन, स्वीजरल्यान्ड र संयुक्त राज्य अमेरिकामा बस्न सक्थेँ । जहिले पनि जहाँ गए पनि मलाई आफ्नै देश फर्किन आतुर हुन्थ्यो । मनमा जहिले पनि आफ्नो देशमा आएर केही औद्योगिक व्यवसाय अथवा कृषि र पशुपालनमा व्यस्त हुने सपना देख्थेँ ।
सन् १९८३ देखि १९८८ सम्म संयुक्त राष्ट्र सङ्घअन्तर्गत राष्ट्र सङ्घको स्वयम्सेवक दुई वर्ष र पछि केही वर्ष चिफ इन्जिनियर भएर काम गर्दा केही कमाएको थिएँ । म आफूसँगै सिमेन्ट ब्लक बनाउने विभिन्न साँचो बोकेर नेपाल फर्केँ । त्यसबेला नेपालमा घर निर्माण गर्न माटोका इँटाहरूमात्र प्रयोग हुन्थ्यो । सिमेन्ट ब्लक र सिमेन्टका इँटाहरू बनाउने प्रचलन थिएन । हरिसिद्धिमा मित्र राष्ट्र–चीनको आर्थिक तथा प्राविधिक सहयोगमा एक आधुनिक चिम्ीन भट्टासहितको ठूलो इँटा–टाइल कारखाना बनेको थियो ।
माटो खन्नेदेखि लिएर माटो मुछ्ने, इँटा पेल्ने र सुकाउने अनि इँटा पोल्ने भट्टाहरू पनि अत्याधुनिक तरिका भएको हुनाले त्यस कारखानाबाट निस्कने इँटा धेरै राम्रो र उच्च गुणस्तरको थियो । आकार र तौलमा एकरूपता हुनुको साथै मेसिनले उच्च दबाब (प्रेसर) प्रयोग गरी माटोभित्र रहेको हावा बाहिर तानेर काँचो इँटा निकाल्ने प्रविधिले गर्दा इँटाको भारवहन क्षमता धेरै राम्रो थियो । अनि इँटा पोल्ने प्रविधि पनि अत्याधुनिक भएकोले उक्त हरिसिद्धि कारखानाबाट निस्कने इँटाहरूको सतह टल्किने खालको थियो । काठमाडौँ उपत्यका र अन्यत्र सबैले उक्त इँटा प्रयोग गर्न थाले । आफ्नो गृह निर्माण र ठूल्ठूला सरकारी भवनहरू पनि बन्न थाले । यस इँटालाई स्थानीय बजारमा चाइनिज इँटा भन्न थालियो । मैले सन् १९९० तिर काठमाडौँ कोटेश्वरमा एक निवास घर र सिमेन्ट चुन उद्योग स्थापना गर्न पनि सोही चाइनिज इँटा प्रयोग गरेको थिएँ । तर, सो इँटा हप्ता दिनसम्म पर्खँदा पनि आफ्नो पालो आउन या इँटा पाउन गा¥हो थियो ।
स्थानीय परम्परागतरूपमा पोलेको इँटाभन्दा अलि महँगो भए पनि निर्माण कार्यमा प्रयोग गर्दा यो इँटा किफायत नै देखिन्छ । किनकि, चाइनिज इँटाको आकार र आयतन एकनासको हुने भएकोले पर्खाल लाउन सजिलो र छिटो हुनेभन्दा पनि इँटा जोड्ने प्रयोग हुने सिमेन्ट बालुवाको मिश्रण (मसला) मा किफायत हुन्छ । यसबाहेक चाइनिज इँटाको सतह एकदम समथर र चिल्लो देखिने भएकोले प्रायः यस इँटाबाट बनेको पर्खालमा सिमेन्ट प्लास्टर गर्नु पर्दैन । यसले गर्दा प्लास्टर पैसा जोगिनुको साथै प्लास्टरमाथि लगाउने रङ्ग रोगनको खर्च पनि जोगिने हुन्छ । यी विभिन्न कारणले गर्दा हरिसिद्धि इँटा–टाइल कारखानाबाट निस्कने इँटाको माग अत्यधिक हुन थाल्यो । उक्त कारखानालाई इँटा उत्पादन गर्न भ्याइनभ्याइ हुन्थ्यो ।
हरिसिद्धि कारखाना आउनुभन्दा पहिले नेपालमा परम्परागतरूपमा हातले माटो मुछेर काठको साँचोमा ढालेर इँटा उत्पादन हुन्थ्यो र यसरी काँचो इँटा बनाउँदा पानीको भाग धेरै हाल्नु परेको हुन्छ । खुला आकाशमुनि घाम पानीमा सुकाउँदा उक्त इँटाको आकार र आयतन एकनासको हुँदैन । परम्परागत ठाडो इँटा भट्टामा पोल्दा कुनै इँटा अत्यधिक पाकेर बाङ्गोटिङ्गो हुने गर्छ । यस प्रकारको इँटाबाट घरको पर्खाल लगाउँदा सिमेन्ट बालुवाको मसला पर्खालको सतहसम्म धेरै राख्नुपर्ने हुन्छ । यसबाहेक इँटाले वर्षायाममा वर्षाको पानी धेरै सोस्ने गर्छ र घर कोठाभित्र सम्म भिजेर आउँछ । यसले गर्दा पर्खालको बाहिरी भित्री भागमा दुवैतिर प्लास्टर गर्नुको साथै पानी नपस्ने वाटर प्रुफ रङ्ग रोगन लगाउनुपर्ने हुन्छ । तर, चाइनिज इँटाको उत्पादन यथेष्ठ मात्रामा नभएको कारण स्थानीयवासी परम्परागत इँटा प्रयोग गर्न बाध्य हुन्थे ।
हरिसिद्धि इँटा कारखानाबाट उत्पादित चाइनिज इँटाबाट उपत्यकामा असङ्ख्य निजी घरहरू, काठमाडौँ सिंहदरबार अगाडिको राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्कजस्ता ठूल्ठूला भवनहरू अनि महाराजगञ्जस्थित शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भवन, चावहिल बौद्धस्थित हायात होटललगायतका सोल्टी होटल, होटेल याक एन्ड यति र बानेश्वरस्थित होटेलहरू पनि बनेका थिए ।
हरिसिद्धि इँटा कारखानाले उच्च गुणस्तरको इँटामात्र होइन छाना छाउने सेरामिक्स टाइल पनि उत्पादन गथ्र्यो ।
सन् १९६९ (२०२६ साल) मा ललितपुरको हरिसिद्धिमा चीनको प्राविधिक सहयोगमा स्थापना भएको इँटा टायल कारखाना नेपालमा सबभन्दा पहिलो यान्त्रिक प्रविधियुक्त आधुनिक कारखाना थियो ।
चिनियाँ सरकारको सहयोगमा निर्मित उक्त कारखाना २२ वर्षपछि विसं २०४९ मा निजीकरण गरिएको थियो ।
२०७२ सालको भूकम्पपछि वार्षिक ३ करोड इँटा उत्पादन गर्ने लक्ष्यसहित पुननिर्माण गरिएको थियो । ३ सय जना कर्मचारी तथा मजदुर रहेको उक्त कारखाना उच्च गुणस्तरको माटोको अभाव र अन्य विभिन्न कारणले गर्दा अहिले दयनीय अवस्थामा रहेको छ । झन्डै ७ सय रोपनी रहेका देशकै गौरवपूर्ण यो कारखाना ०४९ सालको निजीकरणपछि दुरवस्थामा पुगेको छ ।
काठमाडौँ उपत्यकामा उत्पादन हुने इँटाहरू स्थानीय खेतीयोग्य जमिनको माटोबाट बन्ने भएकोले अन्न उत्पादन हुने माटोको ¥हास हुन थालेकोले इँटाको विकल्पको खोजीमा मैले अफ्रिकाबाट सिमेन्ट ब्लक र इँटा बनाउने सोचका साथ केही औजारहरू बोकी ल्याएको थिएँ । सन् १९९० को दशकमा काठमाडौँ कोटेश्वरमा आफ्नै एक निजी कारखाना स्थापना गरी सिमेन्ट र बालुवाको मिश्रणबाट सिमेन्ट ब्लक र इँटा निर्माण गरी बिक्री वितरण गरेको थिएँ ।
इँटा उद्योगले खेतीयोग्य उर्वराभूमिको विनाश हुनेमात्र होइन इँटा पोल्ने प्रविधिको कमी कमजोरीले गर्दा वायुमण्डलमा धुलो र धुँवाको प्रदूषण पनि ज्यादै हुन थालेको थियो । त्यसैकारण माटोको इँटाको विकल्प जरुरी भएको हो ।
आजकल काठमाडौँ उपत्यकामा माटोको इँटाको विकल्पमा थुप्रै सिमेन्ट ब्लक र इँटाहरू निकाल्ने उद्योगधन्दा फस्टाएको छ । तर, माटोबाट इँटा बनाउने उद्योगहरू कम हुँदै गएका छन् । यो एक प्रकारको सकारात्मक पक्ष हो र माटोलाई संरक्षण गर्नुपर्छ । धार्मिक हिसाबले पनि माटो पोल्नु हुँदैन भन्ने छ । किनकि, माटोलाई पोलेपछि त्यसको उर्वरा शक्ति विनाश हुन्छ ।
नेपाल एक कृषिप्रधान देश भएको हुनाले यसको विकासको मूल आधार नै कृषि हो । कृषि उत्पादनको लागि जग्गा जमिनको संरक्षण हुनु अति जरुरी छ । कृषि उत्पादनको साथसाथै कृषि उब्जनीमा आधारित खाद्य उद्योगहरूको विकास हुनु जरुरी छ ।
परम्परागतरूपमा कृषि गर्दा कृषकहरूले आफ्नो उत्पादन राम्ररी गर्न नसक्नु र उत्पादित कृषि पदार्थको सही मूल्य नपाउनुको कारणले पनि आजकल किसानहरूमा आफ्नो पुख्र्यौली जग्गा जमिन बेच्ने प्रवृत्ति बढ्दै आएको छ ।
काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्याले आवासीय घरहरू बनाउने गति तीव्ररूपमा बढ्दै छ । त्यसकारण, नेपाललाई कृषिमा आत्मनिर्भर राख्न कृषि उत्पादनमा आधुनिकीकरण गरी खाद्य उद्योगमा वृद्धि गर्नु अत्यावश्यक छ । यसको लागि कृषि क्षेत्रमा विद्युत् शक्तिको उपयोग गरी सिँचाइ प्रणालीमा सुधार ल्याई कृषि उब्जनी बढाउने प्रयास गर्नुपर्छ । उत्पादित कृषिजन्य पदार्थको प्रशोधन, खाद्य पदार्थ निर्माण तथा उद्योगहरूको प्रवद्र्धन गर्न जलविद्युत् शक्तिको उपयोग गर्ने राष्ट्रिय नीति हुनुपर्दछ । देशमा उत्पादित जलविद्युत् निर्यात गर्नुभन्दा स्वदेशमा प्रयोग गर्नु बढी हितकारी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *