भर्खरै :

ग्लास्गोमा गुञ्जियो नारा– पुँजीवादले पृथ्वीको हत्या गर्दै छ !

ग्लास्गो, ७ नोभेम्बर । स्कटल्यान्डको ग्लास्गो सहरमा संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप–२६) भइरहेको स्थानको नजिकै दसौँ हजार जलवायु अभियन्ताहरूले प्रदर्शन गरेका छन् ।
‘जलवायु न्यायको लागि विश्वव्यापी दिवस’ को क्रममा ग्लास्गोमा आयोजित प्रदर्शनमा एक लाख मानिसभन्दा बढी मानिस सहभागी भएको विरोध प्रदर्शनका आयोजकहरूले दाबी गरेका छन् । त्यस्तै प्रदर्शन संसारभर सिड्नीदेखि सिओल सहरसम्म पनि भएका छन् । संयुक्त राष्ट्र सङ्घीय शिखर सम्मेलन भइरहँदा पनि विश्वव्यापी तापमान वृद्धि समाधानको निम्ति शीघ्र तदारुकताको अभाव भएको भन्दै अभियन्ताहरूले विश्वव्यापी प्रदर्शनहरू आयोजना गरेका हुन् ।
कठ्याङ्ग्रिदो चिसोमा पनि विद्यार्थी, अभियन्ता र जलवायुसँग सम्बन्धित नागरिकहरू हातमा हात जोडेर ग्लास्गोको केल्भिनग्रुभ पार्कबाट मध्य जर्ज चोकसम्म प्रदर्शन गरेका थिए ।
उनीहरूले राता झण्डा बोकेका थिए । उनीहरूले बोकेका व्यानरमा लेखिएको थियो– ‘पुँजीवादले पृथ्वीको हत्या गरिरहेको छ ।’ युवाहरूले जोशिलो स्वरमा जलवायु सङ्कटको निम्ति कम्पनीहरूमाथि दोषारोपण गरेका थिए ।
प्रदर्शन भइरहेको स्थानबाट कोप–२६ सम्मेलन भइरहेको स्थान केही मिनेटको दुरीमा थियो । त्यहाँ अघिल्लो सोमबारदेखि सुरु भएको जलवायु सम्मेलन अर्को सातासम्म चालु रहनेछ । प्रदर्शनका वक्ताहरूले ठुलठुलो स्वरमा विश्वव्यापी तापमान वृद्धिले कृषि भूमिमा क्षति पु¥याउनुका साथै खाद्य सुरक्षालाई जोखिममा पारेको बताइरहेका थिए ।
कोप २६ सम्मेलनमा बोल्ने विभिन्न देशका सरकारका प्रतिनिधिहरूले कोइलाको प्रयोग चरणबद्ध रूपमा कटौती गर्ने, जङ्गल फडानी गर्ने काम रोक्ने र हानिकारक ग्यासको उत्सर्जन घटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, अभियन्ताहरूले भने खुला सभामा सम्मेलनबाट खास कुनै प्रगति नभएको भन्दै आक्रोश पोखिरहेका थिए ।
ग्लास्गो सम्मेलनमा झण्डै २ सय देशका प्रतिनिधिहरू सहभागी छन् । उनीहरू सबै जना पेरिस सम्झाताले तय गरेको तापक्रम वृद्धिलाई कसरी २ डिग्री सेल्सियसभन्दा तल झार्ने विषयमा दिमाग घोटिरहेका थिए । सबैजसो देशहरूले पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अघिल्लो दिन पनि ग्लास्गोमा अर्को प्रदर्शन भएको थियो । द फ्राइडे फर फ्युचर नामको संस्थाले आयोजना गरेको सो प्रदर्शनमा विख्यात जलवायु अभिन्ताहरू भेनिस्सा नाकाते र ग्रेटा थुन्सवर्गहरू सहभागी थिए । उनीहरूले खुला सभामा जलवायु परिवर्तनबारे मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *