भर्खरै :

पहिरोपीडितको पुनःस्थापन र पुनर्निर्माणमा ढिलाइः स्थानीयवासी मर्कामा

  • कार्तिक २२, २०७८
  • – रवीन्द्र काफ्ले
  • समाचार

पाँचथर, २१ कार्तिक । पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँच थरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका स्थानीयवासी समस्यामा परेका छन् ।
लेकगाउँसम्म पुग्ने सडक, विद्युत्, खानेपानीलगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिराले सयौँ स्थानमा सडक अवरुद्ध भएपछि राँके–रवि–भेडेटार सडकको कन्याटार–कम्युटार खण्ड अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यहाँको लेकगाउँ, खोलाखर्क, भाङटारलगायत क्षेत्रका १२६ परिवारका ६६४ जना स्थानीयवासी सडकको पहुँचबाट बाहिर छन् ।
आपतकालीन अवस्था आइलागे झन्डै दुई घण्टा पैदलयात्रा गरेर पहिरोसहितको भिर छिचोल्नुपर्ने उनीहरूको बाध्यता छ । यस्तै पहिराले क्षतविक्षत् बनाएको विद्युत् अझैसम्म सुचारु हुन नसक्दा स्थानीयवासीको दीपावली पनि अन्धकारमा बितेको छ । स्थानीयवासीले दसैँको लागि जोहो गरेको खाद्यान्नले अहिलेसम्म गुजारा चलाइरहेका छन् ।
मिक्लाजुङ–७ भाङटारका राजन बानु राईका अनुसार मिक्लाजुङ–६ कन्याटार क्षेत्रबाट सडक खुलाउने प्रयास भइरहेपनि सफल हुनसकेको छैन् । “सडकमा ठूलठूला पहिरा गएको कारण उल्लेख्य काम हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो ।
पहिरोका कारण यहाँ दुई जनाको ज्यान जानुका साथै एक दर्जन बढी परिवार प्रभावित भएका छन् । तीमध्ये तीन परिवार त छिमेकीको शरणमा बसिरहेका छन् । “सडक नखुलेर हो वा किन हो थाहा भएन । तर अहिलेसम्म यहाँ कोही राहत लिएर आइपुगेका छैनन्”, राईले भन्नुभयो ।
स्थानीय मधुप्रेम राईले भन्नुभयो, “यहाँका स्थानीयवासी बिरामी परे उपचार गर्ने आधारभूत स्वास्थ्य केन्द्र समेत छैनन् । आकस्मिक बिरामी परे अस्पतालसम्म लैजान निकै कठिन छ । हामी त नाकाबन्दीको अवस्थामा परेका छौँ । बाटो चाँडो खुलाउन सके सहज हुन्थ्यो ।”
लामो समयसम्म सडक अवरुद्ध बनिरहे बिरामीलाई उपचारमा लैजान, खाद्यान्नको प्रबन्ध गर्न कठिन पर्ने स्थानीयवासीको चिन्ता छ । सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव खड्किने अवस्था आएको लेकगाउँका स्थानीयवासी समेत रहनुभएका शिक्षक सञ्जय राईले बताउनुभयो ।
मिक्लाजुङ गाउँपालिकाले राकेँ–रवि–भेडेटार सडक आयोजना कार्यालयसँगको समन्वयमा सडक खुलाउने प्रयास थाले पनि सफल हुनसकेका छैनन् । बेमौसमी वर्षापछि यहाँका सबै खोला–खोल्सीमा बाढी आउनुका साथै यत्रतत्र पहिरो झरेपछि पुनःनिर्माणको कुनै पनि कार्य समयमा अगाडि बढ्न सकेका छैनन् ।
मिक्लाजुङ–५ बालुवानीदेखि मिक्लाजुङ–७ कम्फ्युटारका बीचमा सडकमा सयौँ स्थानमा पहिरो झरेको छ । कतिपय स्थानमा सडक पहिराले बगाएको छ । यी स्थानमा सडक निर्माणमा लामो समय लाग्ने अवस्था छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले पहिरोले गाउँपालिका क्षतविक्षत् हुनुका साथै स्थानीयवासीले ठूलो समस्या भोगिरहँदा सरकारी निकायले उचित सहयोग र समन्वय नगरेको गुनासो गर्नुभयो ।
“समयमै सडक सुचारु गराएर सम्भावित कठिनाई रोक्न सहयोग मागिरहेको छु”, अध्यक्ष माखिमले भन्नुभयो ।
कार्तिक १ देखि ३ गतेसम्म परेको वर्षाको कारण बाढीपहिरो जाँदा मिक्लाजुङ क्षतिग्रस्त बनेको हो । पहिरोमा परी यो गाउँपालिकामा २२ जनाको मृत्यु भएको छ भने तीन जना अझैसम्म बेपत्ता छन् । बाढीपहिरोले निर्माणाधीन राँके–रवि–भेडेटार सडकको मिक्लाजुङ गाउँपालिका खण्डमा अत्यधिक क्षति पु¥याएको छ । मिक्लाजुङ गाउँपालिकाभित्रका अन्य सडकसमेत क्षतिग्रस्त छन् ।
बाढीपहिरोले विद्युत्, खानेपानी, सिँचाइलगायतका संरचनामा क्षति पु¥याउँदा स्थानीयवासी समस्या भोग्न बाध्य बनेका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *