भर्खरै :

“अक्टोबर क्रान्तिको महत्व सदा रहनेछ”

भक्तपुर , २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा १०४ औँ महान् अक्टोबर समाजवादी क्रान्ति दिवस आइतबार प्रवचन कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महान् अक्टोबर समाजवादी क्रान्तिका थुप्रै उपलब्धिहरू भएको चर्चा गर्दै त्यस क्रान्तिले माक्र्सवादी सिद्धान्तअनुसार सर्वहारा वर्गले राज्य सत्ता कब्जा गर्नसक्छ र त्यसलाई राम्रोसँग सञ्चालन गर्नसक्छ भन्ने पाठ सिकाएको बताउनुभयो ।
उहाँले अक्टोबर समाजवादी क्रान्तिले राज्य र विद्यालय धर्मबाट अलग गरेको, उत्पादनका साधनहरू राष्ट्रियकरण गरेको र विदेशी पुँजी राष्ट्रियकरण गरेर देशलाई आर्थिक, सामाजिकरूपले आमूल परिवर्तन गरेको बताउनुभयो ।
सन् १९९० मा अक्टोबर समाजवादी क्रान्तिको अस्थायी हार भएपछि सोभियत जनता र अन्य देशका जनताले बढी दुःख पाएबाट समाजवाद नै उत्तम राज्य व्यवस्था हो भन्ने प्रमाणित भयो । प्रतिक्रियावादीहरू समाजवादलाई असफल पार्न चाहन्छन् । कम्युनिस्टहरूले आफ्नो उत्तराधिकारी तयार गर्ने कार्य व्यवस्थितरूपमा गर्न नसक्दा गोर्भाचोभजस्ता प्रतिक्रियावादीहरूको हातमा नेतृत्व पुगेर सोभियत समाजवादले अस्थायी हार व्यहोर्नुप¥यो, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अक्टोबर समाजवादी क्रान्तिको अस्थायी हारपछि सन् १९९२ मा एक पुँजीवादी लेखकले सोभियत रुसको समाजवादी व्यवस्था अन्त्यसँगै ‘इतिहासको एक युग समाप्त’ भएको उल्लेख गर्नुभयो ।
पुँजीपति वर्गले पुँजीवादको जित भयो भनी खुसी मनाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, क्रान्तिकारी पार्टीले मात्र समाजवादलाई निरन्तरता दिनसक्छ । प्रतिक्रियावादीहरू कम्युनिस्टविरुद्ध लागिरहने भएकाले कम्युनिस्टहरू सधैँ चनाखो हुनुपर्छ । राजनीतिक र सैद्धान्तिकरूपले सचेत र सङ्गठित पार्टीले मात्र सफलता पाउँछ । स्तालिनको नाम लिन डराउनेहरू कम्युनिस्ट हुनसक्दैनन् ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले बोल्सेभिक पार्टी सच्चा क्रान्तिकारी र माक्र्सवादी पार्टी भएको र अक्टोबर क्रान्तिको नगराले चीनलगायत संसारका अन्य देशहरूलाई समाजवादी व्यवस्था पुँजीवादी व्यवस्थाभन्दा उत्तम भएको देखाएको बताउनुभयो ।
उहाँले अक्टोबर समाजवादी क्रान्तिलगत्तै चिनियाँ कम्युनिस्ट पार्टी, कोरियाली मजदुर पार्टी, इन्डोनेसियाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीहरूको स्थापनाले संसारमा कम्युनिस्ट विचार फैलिएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणबहादुर दुवालको सभापतित्वमा भएको कार्यक्रममा उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *