भर्खरै :

कालीकोट तिलागुफा नगरका विभिन्न वडामा नेमकिपा सम्मेलन

कालीकोट, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगरपालिका वडा नं. ९, १० र ११ को संयुक्त आयोजनामा वडा सम्मेलन आइतबार सम्पन्न भयो ।
पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले वर्तमान शासक दलहरू देशघाती एमसीसी सम्झौता पारित गर्न एकपछि अर्को लागिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी पारित भए नेपालमा संरा अमेरिकी कानुन लागू हुनेछ । यसले नेपालको सार्वभौमिकता गुम्नेछ ।”
पार्टी सिद्धान्तअनुसार कार्यकर्ताहरू लाग्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य शाहीले सिद्धान्तबाट विचलित हुने कार्यकर्ताको पतन स्वभाविक छ भन्नुभयो ।
“राजनीतिको उद्देश्य देश र जनताको सेवा इमानदारीपूर्वक गर्ने हुनुपर्छ । निःस्वार्थ भावले काम गर्ने कार्यकर्तामा विचलन आउने छैन ।”, उहाँले भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं नेमकिपा कालीकोट १० औँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाले नेमकिपाले नेपाल कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देश गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको उद्देश्य जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादी व्यवस्था स्थापना गर्नु हो । यो लक्ष्य हासिल गर्न पार्टीले बहुसङ्ख्यक कामदार जनतालाई सचेत र सङ्गठित गरिरहेको छ ।”
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त सम्मेलनमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कालीकोट जिल्ला समितिका सदस्य भूमिचन्द्र कोइराला, भक्तिप्रसाद कोइराला, दीपकबहादुर शाही, खड्गराज शाही, धनञ्जय अधिकारी, नरेन्द्र रोकाया, माया जीसीलगायतले बोल्नुभएको थियो ।
सम्मेलनले प्रेमलाल कोइरालाको अध्यक्षतामा २५ सदस्यीय वडा नं. ९ एकाइ समिति, चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ७ सदस्यीय वडा नं. १० एकाइ समिति र चन्द्रबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय वडा नं. ११ एकाइ समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *