भर्खरै :

पुँजीवादी सरकारमा गएका कथित कम्युनिस्टहरूले समाजवादी क्रान्ति गर्दैनन्

सुर्खेत, २२ कार्तिक । सन् १९१७ मा रुसमा भएको अक्टोबर समाजवादी क्रान्तिको १०४ औँ वार्षिकीको अवसरमा सोमबार नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नाममात्रका ‘कम्युनिस्ट पार्टी’ तर पुँजीवादी सरकारमा गएर राज्यको ढुकुटीमा भागबन्डा गर्ने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले नेपालमा अक्टोबर क्रान्तिजस्तो समाजवादी क्रान्ति गर्न नसक्ने बताउनुभयो ।
उहाँले नेमकिपाले २०४६ सालको जनआन्दोलनपछि बहुदलको एक चम्चा पानीले नेपाली जनताको प्यास मेट्न नसक्ने भन्दै श्रमिक जनताको हितको निम्ति समाजवादी क्रान्ति अपरिहार्य भएको प्रस्ट पारेको स्मरण गर्नुभयो ।
“रुसमा सन् १९१७ को फेब्रुअरीमा पुँजीवादी क्रान्तिपछि पुँजीवादी पार्टी मेन्शेविकहरू सरकारमा गएजस्तै तत्कालीन माले र माक्र्सवादी पार्टी २०४६ सालको जनआन्दोलनपछि बनेको पुँजीवादी सरकारमा सामेल भएका थिए”, उहाँले भन्नुभयो ।
गणतन्त्र स्थापनापछि आफूलाई कम्युनिस्ट दाबी गरेको माओवादी पनि पुँजीवादी सरकारमा सामेल भएर पुँजीवादी भासमा पतन भएको भन्दै सचिव सुवालले कम्युनिस्ट नाम गरेका दलहरू पुँजीवादी सत्तामा फस्दा नेपालमा समाजवादी क्रान्ति पछि परेको बताउनुभयो ।
“कामदार वर्गको हितको निम्ति अक्टोबर समाजवादी क्रान्ति अपरिहार्य छ । नेमकिपाले आफ्ना प्रकाशन र गतिविधिमार्फत अक्टोबर समाजवादी क्रान्तिको महत्वबारे नेपाली जनताबीच प्रचार गरिरहेको छ”, उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त क्षेत्रमा सैन्य गठबन्धन, हतियारको व्यापार र एसियामा युद्ध गर्न नेपालमा एमसीसी सम्झौता थोपर्न लागेको बताउनुभयो ।
“एमसीसी सम्झौताको दफा ४.२, ६.८, ७.१, अनुसूची १, ५ (ख) को व्यवस्थाले संरा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको हित हुने र नेपाललाई नवउपनिवेश बनाउने छ । त्यसकारण, एमसीसी सम्झौता खारेज नभएसम्म नेपाली जनताले आन्दोलन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
“नेमकिपाले हाल एमसीसी सम्झौताविरुद्ध देशव्यापी विरोध प्रदर्शन र सभा गरिरहेको छ । भदौ २१ देखि हालसम्म नेमकिपाले देशका विभिन्न जिल्लाका ७० भन्दा बढी स्थानमा एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिसकेको छ ।” उहाँले भन्नुभयो ।
सांसद सुवालले राणाशासन र पञ्चायती व्यवस्थाले हटाउन नसकेको समाजमा व्याप्त बालविवाह, बोक्साबोक्सी, मूर्ति पूजाजस्ता विकृति र अन्धविश्वास बहुदल र गणतन्त्रका शासक दलहरू नेका, एमाले र माओवादीले पनि हटाउन नसकेको भन्दै पार्टी कार्यकर्ताहरूलाई सामाजिक समस्या र विकृतिविरुद्ध सक्रिय हुन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले समाजवादी क्रान्तिको लागि क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी पार्टी आवश्यक भएको भन्दै पार्टीलाई लगातार जनतासम्म पु¥याउन कार्यकर्ताहरूको परिचालन आवश्यक हुने बताउनुभयो ।
नेमकिपाले अवलम्बन गरेको प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि देश र जनताको सेवा गर्ने नीति लेनिनवादी सिद्धान्तको महत्वपूर्ण पक्ष भएको चर्चा गर्दै उहाँले श्रमिक वर्गको महिलाहरूको मुक्ति श्रमिक वर्गको पक्षमा भएको समाजवादी क्रान्तिमा मात्र सम्भव भएको बताउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले सोभियत नेता स्तालिनका अङ्गरक्षक एटी रेबिनको पुस्तक ‘स्तालिनसँग’ बारे चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका संयोजक प्रकाश गुरुङले एमसीसी सम्झौताले नेपालको सार्वभौमिकता कमजोर बनाउने चर्चा गर्दै देशभक्त र क्रान्तिकारी जनता र शक्ति सबै एमसीसी सम्झौताको विरोधमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले साम्राज्यवादी शक्तिलाई चुनौती दिने गरी भएको चीनको उदयलाई रोक्न संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चा विभिन्न राजनीतिक र सैनिक रणनीतिमार्फत चीनलाई कमजोर बनाउन खोजेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले कामदार जनताका छोराछोरी राजनीतिक र सैद्धान्तिकरूपमा सचेत भए राजनीतिमा पुँजीवादी दलहरूले फैलाएका विकृतिविरुद्ध लड्न सकिने बताउनुभयो ।
नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रममा सचिव धनेन्द्र विक, शेरबहादुर शाही र बिजुकला रानाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *