भर्खरै :

बालुवापाटीमा अक्टोबर समाजवादी क्रान्ति दिवस

काभ्रे, २३ कार्तिक । मन्दनदेउपुरस्थित नेमकिपा बालुवापाटी एकाइ समितिको आयोजनामा १०४ औँ महान् अक्टोबर समाजवादी क्रान्ति दिवस मङ्गलबार एक प्रवचन कार्यक्रम गरी मनाइयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्ति सफल हुनुमा लेनिनको कुशल नेतृत्व र बोल्सेभिक पार्टीको महत्वपूर्ण देन रहेको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना अक्टोबर समाजवादी क्रान्तिकै प्रभावबाट भएको र माओको कुशल नेतृत्वमा चीनमा जनवादी क्रान्ति सफल भएको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले सोभियत रुसको समाजवादी क्रान्तिले मजदुर वर्गको हातमा राज्य सत्ता प्राप्त भएको, उत्पादनका साधनहरू राष्ट्रियकरण भएको, व्यक्तित्व विकासमा समान अवसर पाएको र जातीय भेद अन्त्य भएको बताउनुभयो ।
उहाँले सोभियत सङ्घको विघटनपश्चात् रुसी जनता र अन्य देशका जनताले भोग्नुपरेको कठिनाइबाट समाजवादको अपरिहार्यता भएको पुष्टि हुन्छ भन्नुभयो ।
बालुवापाटी पार्टी समितिका अध्यक्ष इन्द्रबहादुर तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा मुना बासुकला र सेमसल तामाङले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *