“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २३ कार्तिक । एकातिर नेपाल सरकारले नेपाल–भारतबीचको सम्बन्ध सुदृढ हुँदै गइरहेको फुक्दै छ भने अर्काेतिर भारतीय पक्षले नेपाली भूमि मिच्दै जाने क्रम रोकेको छैन । जलवायु सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ हुने सञ्चारमाध्यममा फुके ।
नेपाल–भारत सम्बन्ध सुदृढ भएको प्रम देउवाको स्वर सेलाउन नपाउँदै या त्यही सेरोफेरोमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा पसेर नाप जाँच गरिएको समाचार प्रकाशमा आयो । नेपालमा पसेर नेपाली भूमि नाप जाँच गर्दा पनि नेपाल सरकार बेखबर भयो या सुरक्षाकर्मीहरू अनभिज्ञ भए । बिनाअनुमति भारतीय सशस्त्र फौज नेपाल पसेर नेपाली भूमि नापजाँच गर्नु के हस्तक्षेप होइन ?
भारतीय पक्षले गरेको यस्तो हस्तक्षेपको बयान गरेर साध्य छैन । नेपाल–भारतका सीमा स्तम्भहरू उखेलेर भारतीय पक्षले धेरै ठाउँमा भूमि मिचेको छ, मिच्दै छ । भारतीय पक्षबाट भएका यस्ता ज्यादतीहरू बारम्बार दोहोरिरहेको छ, सीमा स्तम्भ सार्ने, उखेल्ने काम भइरहेको छ ।
भारतीय पक्षले आजभन्दा ५ दशकअघि नै सुस्ताको भूमि मिचेको थियो । सुस्ताको भूमि मिचेलगत्तै त्यसबेलै नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि नमिच्न र मिचिएको भूमि छोडाउन भक्तपुरमा जुलुस प्रदर्शन गरेको थियो । नेपाली भूमि जोगाउन गरिएको उक्त जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको थियो । नेपालकै भूमि जोगाउन गरिएको जुलुस प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपले सरकार नेपाली भूमि जोगाउन नचाहेको पुष्टि ग¥यो । कार्तिक २३ गतेको ‘कान्तिपुर’ दैनिकमा ‘सुस्तामा एसएसबीको अनाधिकृत प्रवेश, भारतीय प्रशासनले नेपालको कुरै सुनेन’ भन्ने समाचार छापियो । समाचारमा बिनाअनुमति भारतीय सशस्त्र सीमा बलले नेपाल पसेर जग्गाको नाप जाँचेको र पछि त्यसबारे स्थानीय प्रशासनले ध्यानाकर्षण गर्दा भारतीय पक्षले कुनै चासो नराखेको खबर छापिएको थियो । नेपालमा भारतीय पक्षको हस्तक्षपले सीमा नाघेको छ । देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले केही बोल्न सकेको छैन ।
भारतले जति भूमि मिचे पनि नेपाल–भारत सम्बन्ध बिग्रिएला भनेर नेपाल सरकार टुलुटुलु हेरेर बसेको छ । नेपाल सरकारको यही कमजोरीको फाइदा भारतीय सरकारले लिइरहेको छ र सीमा मिच्ने काम छोडेको छैन । भारतीय पक्षको मिचाइ अति भयो । अब सरकार हात बाँधेर बस्ने बेला होइन ।
Leave a Reply