भर्खरै :

निकारागुआमा क्रान्तिकारी सान्डिनिस्टा मुक्ति मोर्चाको फराकिलो जीत

मानागुआ, ८ नोभेम्बर (प्रेन्सा ल्याटिना÷टेलिसुर) । निकारागुआमा सम्पन्न निर्वाचनमा त्यहाँको क्रान्तिकारी सान्डिनिस्टा मुक्ति मोर्चा (एफएसएलएन) ले फराकिलो जीत हासिल गरेको छ । गत मङ्गलबार निकारागुआमा राष्ट्रपतीय, संसदीय तथा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निकारागुआको सर्वोच्च निर्वाचन परिषद्ले दिएको पछिल्लो जानकारीअनुसार राष्ट्रपतीय निर्वाचनको ९८ प्रतिशत मतगणना सकिसक्दा सान्डिनिस्टा मुक्ति मोर्चाका राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवार ड्यानियल ओर्टेगा र रोसारियो मुरिल्लोको जोडीले ७६ प्रतिशत मत प्राप्त गरी विजय सुनिश्चित गरिसकेको छ । ड्यानियल ओर्टेगा र रोसारियो मुरिल्लो अहिले कार्यरत राष्ट्रपति तथा उपराष्ट्रपति हुनुहुन्छ । निर्वाचनमा विजयपछि उहाँहरू २०२७ सम्म पदमा रहने निश्चित भएको छ ।
निर्वाचनमा कूल मतदाताको ६५.२३ प्रतिशत मतदान भएको थियो । निर्वाचनको राष्ट्रपतीय निर्वाचनमा एफएसएलएनपछि लिवरल संविधानवादी पार्टीले १४.१५ प्रतिशत र क्रिश्चियन मार्ग पार्टीले ३.३० प्रतिशत मत प्राप्त गरेका छन् ।
ओर्टेगालाई बधाईको ओइरो
यसैबीच पुनःनिर्वाचित राष्ट्रपति ड्यानियल ओर्टेगालाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । हाम्रो अमेरिकाका जनताका लागि बोलिभारियाली गठबन्धन –अल्बा टीसीपीले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति ड्यानियल ओर्टेगा र उपराष्ट्रपति रोसारियो मुरिल्लोको पुनःनिर्वाचनको स्वागत गर्दै उहाँहरूप्रति बधाईज्ञापन गरेको छ । साथै निकारागुआली जनताले प्रजातान्त्रिक प्रक्रियामार्फत आफ्नो देशको स्वाधीनता र प्रजातन्त्रको रक्षा गरेको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, क्युवाली राष्ट्रपति मिग्वेल डायज कानल, भेनेजुयाली राष्ट्रपति निकोलस माडुरो, बोलिभियाका राष्ट्रपति लुइस आर्से, पेरुका राष्ट्रपति पेड्रो कास्टियो, मेक्सिकाली राष्ट्रपति आन्ड्रेज म्यानुअल लोपेज ओब्राडरलगायत नेताहरूले पुनःनिर्वाचित राष्ट्रपति ड्यानियल ओर्टेगालाई बधाईज्ञापन गर्दै कार्यकाल सफलताको कामना गर्नुभएको छ । उहाँहरूले राष्ट्रपति ओर्टेगा र सान्डिनिस्टा मुक्ति मोर्चाको नेतृत्वमा निकारागुआले भोकमरीको अन्त्य, अशिक्षाको अन्त्य, शिक्षाकर्मीहरूको तलब वृद्धि, गरिबी निवारण, जनस्वास्थ्य क्षेत्रमा हासिल गरेका अभुतपूर्व उपलब्धि, देशव्यापी विद्युतीकरण, उद्योग–व्यवसाय र पर्यटनको उल्लेख्य विकासका लागि पनि बधाईज्ञापन गर्नुभएको छ ।
सान्डिनिस्टा मुक्ति मोर्चाको एक दशक लामो सशस्त्र सङ्घर्षबाट नै १९७९ मा चार दशकभन्दा लामो संरा अमेरिका समर्थित सोमोजा वंशको सैनिक तानाशाहीबाट निकारागुआली जनताले मुक्ति पाएका थिए । निकारागुआले १९८० देखि संवैधानिक र प्रजातान्त्रिक शासन व्यवस्था अवलम्बन गर्दै आएको छ र त्यहाँका कुलीन वर्ग र प्रतिक्रान्तिकारीहरूले निर्वाचनमा अपवित्र गठबन्धनमार्फत १९९० देखि १९०६ सम्मको शासन आफ्नो नियन्त्रणमा पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *