भर्खरै :

कपिलवस्तुमा अझै नियन्त्रणमा आएन झाडापखाला

कपिलवस्तु, २३ कार्तिक । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा प¥यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्णरूपमा नियन्त्रणमा भने आउन सकेको छैन ।
कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।
अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए ।
अहिले पनि दैनिक १० जनाभन्दा बढी उपचारत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कमा छ ।
शिवराज अस्पतालका डा. मुकेश चौधरीले भन्नुभयो, “केही दिन कम भएको थियो, पछिल्लोसमय फेरि दैनिक ८,१० जना बिरामी आउने गरेका छन् । अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ ।” गाउँमा बान्ता र पखलाका बिरामी अहिले पनि रहेका छन् । शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताउनुभयो ।
यता स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो । साँढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताउनुभयो ।
पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमामात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ । रासस
तस्वीर : क्यापिटल दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *