पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
सोमबारबाट सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारित बैठकलाई चीनका जनताले विशेष प्राथमिकता दिएका छन् । चिनियाँ सञ्चारमाध्यमले पनि यो विस्तारित बैठकको महत्वबारे विशेष प्राथमिकताका साथ प्रचार गरेका छन् । संसारकै सबभन्दा ठूलो सत्तारुढ पार्टी भएरमात्र होइन, उदयीमान चीनमा विगत सात दशकदेखि लगातार सत्ता सञ्चालन गर्दै आएको पार्टी भएकोले पनि चिकपाको यो विस्तारित बैठक संसारकै चासोको विषय बन्नु स्वाभाविक हो ।
चिकपाले यो वर्ष स्थापनाको एक सय वर्ष मनाइरहेको छ । सन् १९२१ मा चिकपाको स्थापना भएको थियो । चिकपाले घोषणा गरेका दुई शताब्दी लक्ष्यअन्तर्गत पहिलो लक्ष्य चीनले यो वर्ष हासिल गर्न सफल भएको छ । चिकपा स्थापनाको एक सय वर्ष पुगेको अवसरमा चीनलाई मध्यम ढङ्गले समृद्ध देश बनाउने लक्ष्यमा ऊ सफल भएको छ । अबको उसको लक्ष्य भनेको जनवादी गणतन्त्र चीन स्थापनाको भएको एक वर्ष पुगेको अवसरमा चीनलाई शक्तिशाली, समाजवादी र आधुनिक देश बनाउने हो । सन् १९४९ मा स्थापना भएको जनवादी गणतन्त्र चीन आगामी सन् २०४९ मा एक सय वर्ष पुग्दै छ ।
सङ्घर्षको लामो इतिहास र अनुभव भएको चिकपालाई लक्ष्य घोषणा गर्नु जति सजिलो हुन्छ, त्योभन्दा कैयौँ गुणा गाह«ो त्यो लक्ष्य हासिल गर्न हुन्छ भन्ने कुरा थाहा नहुने कुरै छैन । पहिलो शताब्दी लक्ष्य हासिल गर्न चीनले जति कठिन सङ्घर्ष गरेको थियो, त्योभन्दा कैयौँ गुणा बढी कठिन यात्रा आगामी दिनमा हुने सङ्केत अहिले दिनानुदिन देखिंँदै छ । तर, सङ्घर्षले खारिएको दल, कार्यकर्ता र जनता यस्ता प्रतिकूलता सामना गर्न सघन तयारीमा लागेका छन् ।
कुनै पनि कम्युनिस्ट पार्टीको निम्ति सिद्धान्त र नेतृत्व अहम् महत्वको विषय हुन्छ । चिकपामा सी चिनफिङको नेतृत्वले अहिलेको युगले तेर्साएका चुनौती सामना गर्न सक्षम बनाएको छ । चीन जति दोस्रो शताब्दी लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्छ, त्यत्ति नै संसारमा आफ्नो एकछत्र राज चल्ने पुरानो विचारका पक्षपातीहरू एकजुट भएर उसको विरोधमा खनिन आतुर छन् । उनीहरूलाई ‘बुढी मरेकोमा भन्दा काल पल्केला कि’ भन्ने बढी चिन्ता छ । चीन शक्तिशाली, आधुनिक र समाजवादी देशको रूपमा स्थापित हुनुको अर्थ संसारबाट पश्चिमा प्रभुत्वको समाप्ति हो । हिजो उपनिवेश र साम्राज्यवादी हस्तक्षेप सहन बाध्य देशहरू सबै ‘आफ्नो भाग्य’ आफै कोर्न अग्रसर हुनेछन् ।
पेइचिङमा चालु विस्तारित बैठकले चिकपाको एक सय वर्षको सङ्घर्षमा हासिल गरेका उपलब्धिको समीक्षा गर्नेछ । त्यसको अर्थ चिकपाले आफ्नो इतिहासमाथिको आधार अझ बलियो बनाउँदै छ । चीनले सन् १९४० दशकमा सामना गरेको अफिम युद्ध यता पश्चिमा र उपनिवेशवादी शक्तिले आजपर्यन्त गरेको दमन र उत्पीडनको इतिहासको समीक्षा गर्नेछ, जसले उसलाई आगामी समाजवादी यात्रामा अझ बलियो बनाउनेछ ।
छैटौँ विस्तारित बैठकको सन्दर्भमा चिनियाँ सञ्चारमाध्यमले ‘समग्र प्रक्रियाको जनताको प्रजातन्त्र’ शब्दावलीलाई प्रचारमा ल्याएको छ । टिप्पणीकारहरूले यसबारे केही लेख पनि लेखेका छन् । विगत फर्केर हेर्दा यस्तै अवसरमा आउने शब्दावलीहरूले चीनको राजनीतिक र आर्थिक गतिमा धेरै ठूलो प्रभाव पार्ने गरेको छ । पश्चिमा देशहरूले प्रजातन्त्रको नाममा चीनलाई एक्ल्याएर कथित प्रजातान्त्रिक देशहरूको मोर्चाबन्दी गर्ने प्रयासको जवाफमा चीनले चिनियाँ परिस्थितिअनुकूलको प्रजातान्त्रिक अभ्यास अघि बढाउन ‘समग्र प्रक्रियाको जनताको प्रजातन्त्र’ अघि सारेको हो । चिकपाको पछिल्लो महाधिवेशनबाट पारित सी चिनफिङ विचारधाराले पनि प्रजातान्त्रिक अभ्यासलाई संस्थागत गर्दै लाने प्रतिबद्धता व्यक्त गरेको छ । सो सिद्धान्तलाई अहिले व्यवहारमा रूपान्तरण गर्न थालिएको छ ।
ऐतिहासिक महत्व बोकेको चिकपाको बिस्तारित बैठकले साम्राज्यवादी शक्ति र युरोकेन्द्रित चिन्तन र अभ्यासलाई थप कमजोर बनाउन महत्वपूर्ण निर्णय हुने अपेक्षा गरौँ ।
Leave a Reply